भर्खरै :

मुहाली बाजा प्रशिक्षणको समापन सम्पन्न

मुहाली बाजा प्रशिक्षणको समापन सम्पन्न

भक्तपुर, २४ चैत । भैरवनाथ सांस्कृतिक समूहको आयोजनामा सञ्चालन भएको मुहाली बाजा प्रशिक्षण कार्यक्रम शनिबार समापन भएको छ ।
समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संस्कृति र सभ्यता हरेक नागरिकको परिचय भएको कुरा औँल्याउनुभयो । उहाँले भन्नुभयो, “पुर्खाले सिर्जेको कला र संस्कृतिबाट नै हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि उँचो रहेको छ ।” समग्र समाजलाई बुद्धिजीवीकरण गर्ने क्रममा भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र संस्कृतिलाई नयाँपुस्तामा हस्तान्तरण गर्ने कार्य गरिरहेको उल्लेख गर्दै उहाँले स्वदेश वा विदेश जहाँ रहे पनि आफूमा रहेको सीप र दक्षता नै हरेक नागरिकको वास्तविक सम्पत्ति भएको उल्लेख गर्दै हरेक नागरिक एक न एक विषयमा दक्ष हुनुपर्ने विचार राख्नुभयो ।
युवाको विदेश पलायनतर्फ चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “विश्वकै सुन्दर देश भएर पनि देशको शासनसत्ता गलत तत्वको हातमा परेकोले युवाहरूले विदेशमा दुःख पाइरहेका छन् ।” उहाँले बाध्यतामा परेर बिदेसिएकाहरूले त्यहाँबाट सीप र प्रविधि सिकेर त्यसको स्वदेशमा नै सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा भैरवनाथ सांस्कृतिक समूहका सल्लाहकार न्हुछेराम भेलेले परम्परागत संस्कृति र सम्पदाको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण महत्वपूर्ण कार्य रहेको भन्दै निरन्तरताको लागि शुभकामना दिनुभयो ।
पूर्ववडा अध्यक्ष कुमार चवालले हरेक नागरिक आफैमा कलाकार भएको चर्चा गर्दै जतिसुकै ठुलो वा सानो भए पनि अनुशासनविना त्यसको महत्व नहुने बताउनुभयो ।
स्थानीय संस्कृतिकर्मी मुक्तिसुन्दर जधारीले कला र संस्कृति समाजको सौन्दर्य भएको र निरन्तर साधनाबाट यसको उत्कृष्टता कायम हुने बताउनुभयो ।
कार्यक्रममा नौबाजाका गुरु शंखरनाथ सुवाल, पोङा बाजाका गुरु शेरबहादुर न्हिसुतु तथा मुहाली गुरु रामगोपाल कपालीलाई सम्मान गरिनुका साथै प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि सुनिल प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभएको थियो । समूहका अध्यक्ष श्रीभक्त सुवालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष जेनिशा भेलेले स्वागत तथा सदस्य न्हुज किजूले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *