देशको समुन्नत विकासको लागि जनतामा सही राजनीतिक चेतना हुनुपर्ने
- चैत्र २८, २०८१
भक्तपुर, २५ चैत । चाँगुनारायण नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा वडाव्यापी खुला धिमे बाजा प्रतियोगिता शनिबार सम्पन्न भयो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य पे्रम सुवालले सांस्कृतिक स्तर उच्च बनाउन विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीहरूले देश र जनतालाई ‘ईश्वर’ ठान्नुपर्ने, देश र जनताको सेवा नै ‘धर्म’ सम्झनुपर्नेमा जोड दिँदै सांसद सुवालले भक्तपुर नगरपालिकाले ख्वप शैक्षिक संस्थाहरू सञ्चालन गरी ७७ जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गरिरहेको र ख्वप विश्वविद्यालय सञ्चालन गरी चिकित्सा शिक्षासमेत दिने तयारी भएको बताउनुभयो ।
सांसद सुवालले सिद्धान्तहीन चुनावी र सत्ता गठबन्धनको कारण ३५ वर्षमा सिंहदरबार भ्रष्टाचारको अखडा बनाएको उल्लेख गर्दै सांसद सुवालले वाइडबडी, एनसेल, टेरामक्स, ओम्नीलगायतका भ्रष्टाचारको काण्ड भएको औँल्याउनुभयो ।
देशको सन्तुलित विकासको लागि आ–आफ्नो जिल्लाभित्र मात्र बसाइँसराइ हुने बन्दोबस्त हुनु आवश्यक भएको औँल्याउँदै सांसद सुवालले काठमाडौँ उपत्यकावासी प्रदूषणकै कारण फोक्सो, मुटु, क्यान्सर, मृगौलालगायत रोगको सिकार हुने खतरा बढेको तर्फ सचेत गराउनु भयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाल वायु सेवा निगमले कर्मचारी कल्याण कोष र नागरिक लगानी कोषको ऋण लिई २४ अर्ब रूपियाँमा दुई ओटा वाइडबडी जहाज किनेको बेला सुरूमा ८ अर्ब रूपियाँ भ्रष्टाचार भएको समाचार थियो । संसद्को सार्वजनिक लेखा समितिले साढे चार अर्ब रूपियाँ भ्रष्टाचार भएको ठहर ग¥यो । हालै अख्तियारले पूर्वमन्त्रीसहित ३२ जना नेपाली अधिकारी र ८ जना विदेशी दलालविरूद्ध १ अर्ब ३७ करोड रूपैयाँ भ्रष्टाचार भएको ठहर गरी मुद्दा चलाएको छ । निगमले विदेशीसँग सस्तो ऋण ल्याएर हवाइजहाज खरिद गर्ने तयारी गरेको अर्को आत्मघाती हुनेछ ।”
मेलम्ची खानेपानीको लागि एसियाली विकास बैङ्कबाट ६३ अर्ब ऋण ल्याएको सरकारले मुहानको बाँध पहिरोमा पुरिएको हुँदा नयाँ बाँध बनाउन थप ५ अर्ब त्यसैसँग ऋण ल्याउने तयारी गरेको उल्लेख गर्दै सांसद सुवालले देशको सन्तुलित विकास गरी काठमाडौँ उपत्यकामा बसाइँसराइ रोक लगाउनुपर्ने, १ अर्ब रूपैयाँले यहाँको खानेपानी स्रोत परिचालन हुने बताउनुभयो ।
विदेशीले लेखेको ‘कुकुल्यान्ड’ पुस्तकमा उद्योगी व्यापारी अजय सुमार्गीमार्फत एनसेल भ्रष्टाचारमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत मुछिएको विषय सांसद सुवालले उल्लेख गर्नुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातको सभापतित्वमा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कार्यपालिका सदस्य कमला भारती, वडा सदस्य एवम् प्रतियोगिता संयोजक रवीन बासुकला, निर्णायक समितिका संयोजक प्रकाश तजले, हरिसुन्दर छुकांलगायतले पुर्खाले सिर्जना गरेका कला संस्कृति संरक्षण र जगेर्नामा नयाँ पुस्ता लाग्नुपर्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का ९ धिमे बाजा समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा ताथली धिमे खल प्रथम, खगां दाफा भजन खल द्वितीय, माझी भैरव सांस्कृतिक बाजा खल तृतीय भए । देवी सांस्कृतिक बाजा खल, ब्रह्मायणी धिमे खल, तैकाबु गणेश सांस्कृतिक समूह, बनदेवी बाजा खल, फैढोका धिमे खल र आजु धिमे खल सहभागी भएका थिए । सहभागी सबै धिमे खललाई एक एक ओटा धिमे प्रदान गरिएको थियो ।
Leave a Reply