भर्खरै :

साम्राज्यवाद र पुँजीवादविरुद्ध सङ्घर्ष गर्न आवश्यक

साम्राज्यवाद र पुँजीवादविरुद्ध सङ्घर्ष गर्न आवश्यक

ललितपुर, २६ चैत । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा शनिबार ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक पत्रिका र अन्य प्रकाशनहरूबारे एक अन्तरक्रिया कार्यक्रम ललितपुरको त्यागलमा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूहरूले समाजवादी वा कम्युनिस्ट विचारधाराअनुसार अगाडि जान खोज्ने देश र नेताहरूमाथि गएको दुई सय वर्षको अवधिमा ५०० भन्दा बढी देशमा आक्रमण, हस्तक्षेप, नेताहरूको ज्यान लिने षड्यन्त्र गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “आफूले भनेजस्तो नबस्ने देशमा साम्राज्यवादी देशहरूले आक्रमण गर्ने, नाकाबन्दी गर्ने, नवउदारवादी नीतिअनुसार त्यस देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने, देश टुक्रा गर्ने र त्यस देशलाई परनिर्भरतातर्फ ढकेल्ने काम गरे । रुसविरुद्ध युक्रेनको अमेरिकी छद्मयुद्ध गरी रुसलाई पुनः टुक्रा गर्ने प्रयास गरिरहेको छ । नेपालका पुँजीवादी नेताहरू बफादार दलालको रूपमा प्रस्तुत भइरहेको हुँदा नेपाली युवाहरू सचेत भएर साम्राज्यवाद र पुँजीवादविरुद्ध जाग्नुपर्ने अवस्था छ ।”
उहाँले संरा अमेरिकाले युगोस्लाभियाका देशभक्त राष्ट्रपति स्लोभदान मिलोसेभिचलाई हेगमा मुद्दा चलाई मृत्यु दण्ड दियो† त्यस देशलाई ६ टुक्रामा विभाजन गर्यो; इराकका राष्ट्रपति सद्दाम हुसेन, लिवियाका राष्ट्रपति कर्णेल गद्दाफीमाथि युद्ध अपराधीको आरोप लगाई हत्या गर्यो र यो संसारमा युद्धको आयातकर्ता नै अमेरिकी साम्राज्यवाद हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एन.बी. श्रेष्ठले भारतीय एकाधिकार पुँजीको विरोध गर्र्र्दै भन्नुभयो, “भारतीय दूतावासले नेपालमा २० करोड रुपैँयासम्मको योजना बनाई सिधै खर्च गर्ने र नेपालको दस हजार मेगावाट बिजुली भारतलाई दिने पुस १९ गतेको सम्झौता देशघाती भएकोले खारेज गर्नुपर्छ । नेपालीभूमि डुबानमा पर्ने गरी सिमानामा अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले एकतर्फी बनाएका बाँधहरू भत्काउनुपर्छ, नेपालको हितविपरीतका कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, मुगु, कर्णाली, अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो, पश्चिम सेती, सेती नदी १, फुकोट कर्णाली, पञ्चेश्वरलगायतका सन्धि सम्झौता खारेज गर्नुपर्छ ।
उहाँले नेपाली भूमि कालापानीमा बसेका भारतीय सेनालाई तत्काल हटाउनुपर्ने, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नुपर्ने, नेपाल–भारतबिचको खुला सीमा बन्द गरी नियमन गर्नुपर्नेबारे सांस्कृतिक तथा साहित्यिक गतिविधि निरन्तर गरी नयाँ पुस्तालाई सचेत र सङ्गठित गर्नु आवश्यक छ ।”
नेमकिपा ललितपुरका सचिव नरेश महर्जनले कुनै राष्ट्रलाई विध्वंश गर्न आणविक बम या दूरमारक क्षेप्यास्त्रहरूको प्रयोग गर्नु आवश्यक छैन, खालि शिक्षाको गुणस्तरलाई तल झार्ने र विद्यार्थीहरूलाई परीक्षामा नक्कल गर्न दिए पुग्छ भन्ने भनाइ सान्दर्भिक हो भन्नुभयो । उहाँले शासकवर्गले गलत शिक्षा नीति लिएको कारण आज नेपालका गाउँहरू युवाविहीन हुँदै गएको हो भन्नुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिका सदस्य महन्त महर्जनले नेपालको राजनीतिमा भारतको गुप्तचर संस्था ‘रअ’ र अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) ले हस्तक्षेप गरिरहेको र नेपालका शासक नेताहरूलाई ‘उठ–बस’ गराउने कार्य गरिरहेको छ उल्लेख गर्दै नेपाली जनता सचेत भएर उठ्नुपर्ने बेला आएको छ, भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य सुवर्ण शाक्यले चीनले विश्वकै ३५ प्रतिशत तयारी सामग्री उत्पादन गर्ने गरेको छ भने संरा अमेरिकाले मात्र १२ प्रतिशत मात्र उत्पादन गरेको बताउनुभयो । उहाँले संरा अमेरिकालाई पहिलो उत्पादक देश बन्न करिब सय वर्ष लागेको थियो भने चीन पहिलो उत्पादक देश बन्न १५–२० वर्षमात्र लागेको देखियो भन्नुभयो ।
नेपालभाषा साहित्य सम्मेलनको उपादेयताबारे पनि छलफल भएको सो कार्यक्रममा विष्णुभक्त महर्जन र रीमा महर्जनलगायतले जनतालाई राजनैतिकरूपमा सचेत गर्न आवश्यक भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *