भर्खरै :

सम्पदाहरूको संरक्षण साझा दायित्व

सम्पदाहरूको संरक्षण साझा दायित्व

भक्तपुर, २६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मूर्त तथा अमूर्त सम्पदाहरू देशकै साझा सम्पत्ति भएकोले सबै मिलेर त्यसको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बाराही मन्दिर जीर्णाेद्धार तथा संरक्षण समितिको आयोजनामा बाराही खट निर्माणमा सहयोगीहरूको सम्मान कार्यक्रममा अतिथि प्रजापतिले भक्तपुरका जनताको सीप, परम्परागत प्रविधि तथा स्थानीय स्रोत र साधनहरूको प्रयोग गर्ने उद्देश्यले सबै सम्पदाहरू उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको स्पष्ट गर्नुभयो ।
नयाँ नयाँ भौतिक विकासमात्रै होइन, सयौँ वर्ष पुराना सम्पदाहरूको संरक्षण झन् महत्वपूर्ण कार्य हो, उहाँले भन्नुभयो ।
विदेशीहरूको सहयोगमा निर्मित सम्पदाहरूले हाम्रो इज्जत नरहने स्पष्ट पार्दै भन्नुभयो, “हाम्रो कला र संस्कृतिबारे जानकारी नभएका विदेशीहरूको सहयोगमा सम्पदाहरू निर्माण गरिएमा हाम्रो मौलिकतामाथि अतिक्रमण हुने खतरा हुन्छ । जीवनकालमा राम्रो काम गरेमा पछिसम्म अरुले सम्झने गर्छन् ।”
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले संस्कृति नै हाम्रो पहिचान भएकोले त्यसको संरक्षण आवश्यक रहेको बताउँदै हामीसँग भएको सीप र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न सके संस्कृतिले जीवन्तता पाउने छ भन्नुभयो ।
बाराही मन्दिर जीर्णाेद्धार समितिका सल्लाहकार हृदयचन्द्र वैद्यले जीर्ण भइसकेको बाराहीको खट बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै संस्कृति संरक्षणमा नयाँ पुस्ता अगाडि आएकोमा खुसी व्यक्त गर्नुभयो ।
बाराही मन्दिर जीर्णाेद्धार समितिका अध्यक्ष कृष्णसदन अवालको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक सहयोग गर्नेहरूलाई अतिथि प्रजापतिले प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा समितिका उपाध्यक्ष रामसुन्दर खाताखोले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बाराहीको खट निर्माण गर्न स्थानीय जनताबाट रु. ४३,०६,६४२।– सहयोग सङ्कलन भएको थियो ।
त्यसमध्ये ६,९४,०६७।– बैङ्क मौज्दात बाँकी रहेको तथा अरु सबै खर्च भइसकेको कुरा समितिका कोषाध्यक्ष पवनकुमार बल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *