भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा शैक्षिक अनुभव विमोचन

नगर प्रमुख प्रजापतिद्वारा शैक्षिक अनुभव विमोचन

भक्तपुर, २९ चैत । सेवा निवृत्त शिक्षक समाज भक्तपुरको ४५ औँ शिक्षक दिवसको अवसरमा सेवा निवृत्त शिक्षक सम्मान, १४ औँ शैक्षिक अनुभव विमोचन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भयो ।
शैक्षिक अनुभव पुस्तक विमोचन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षकहरूको जीवनका भोगाइ र अनुभव आफैँमा नयाँ पुस्ताका लागि अमूल्य सम्पत्ति भएको हुँदा ती अनुभवलाई लिपिबद्ध गर्नुपर्ने बताउनुभयो ।
उहाँले सङ्कटलाई अवसरको रूपमा सदुपयोग गर्न सके सफलता मिल्ने बताउँदै भक्तपुर नगरपालिकाले धेरै चुनौतीहरू पार गर्दै देशकै नमुना र उदाहरणीय बन्न सफल भएको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको उद्देश्य रहेको प्रस्ट पार्दै उहाँले शैक्षिकरूपमा अगाडि बढेको देशको विकास र समृद्धि पनि छिटो हुने बताउनुभयो ।
न्यायालयप्रति जनताको विश्वास घट्दै जानुमा शासक दलहरू दोषी रहेको बताउँदै उहाँले सचेत नागरिकहरूले जहिल्यै देशबारे चिन्तन गर्छन् भन्नुभयो । उहाँले आत्मनिर्भर हुने शिक्षा आजको आवश्यकता भएको औँल्याउँदै सेवा निवृत्त शिक्षकहरूको सक्रियताले समाजलाई सही दिशामा लान मद्दत पुग्ने बताउनुभयो ।
शैक्षिक अनुभव पुस्तकका सम्पादक ज्ञानसागर प्रजापतिले सेवा निवृत्त शिक्षक समाजको नियमित पत्रिका शैक्षिक अनुभव पुस्तकको समीक्षा गर्दै पुस्तकमा सेवानिवृत्त शिक्षकहरूको शैक्षिक अनुभव, शिक्षकहरूको पेन्सनबारे उठाइएका आवाजहरू, जीवनी, जीवन सङ्घर्ष, शिक्षा विधेयकबारे नेमकिपाको धारणा, यात्रा संस्करण, कवितालगायत सन्देशमूलक र प्रेरणादायी लेखहरू समाविष्ट रहेको बताउनुभयो ।
समाजका सदस्य भोजराज बस्नेतले आफ्नो शैक्षिक अनुभव सुनाउँदै राजनीतिका विकृत रूपहरूबारे प्रकाश पार्नुभयो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां, तुल्सीराम ग्वाछाले सेवा निवृत्त शिक्षक समाज स्थापनाबाट शिक्षकहरूको हकहित सुनिश्चित गर्न शिक्षकहरूलाई सङ्गठित र सचेत पार्ने अवसर मिलेको बताउँदै सेवा निवृत्त शिक्षकहरू अझ सबल र सक्षम ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *