भर्खरै :

जधारीको ‘विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा’ नामक पुस्तक लोकार्पण

जधारीको ‘विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा’ नामक पुस्तक लोकार्पण

भक्तपुर, २९ चैत । मुक्ति सङ्गीत प्रशिक्षण केन्द्र, लैकोको आयोजनामा मुक्तिसुन्दर जधारीद्वारा लिखित ‘विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा’ नामक पुस्तक लोकार्पण कार्यक्रम बिहीबार एक समारोहबिच सम्पन्न भएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले पुस्तक विमोचन गर्दै भक्तपुरमा जात्रा, पर्व, संस्कृति जीवन्त रहेको उल्लेख गर्दै कामदारवर्गले संस्कृति संरक्षण गर्दै आएको चर्चा गर्नुभयो । उहाँले हाम्रा पुर्खाहरू वैज्ञानिक रहेको र भैलखः निर्माणको कलात्मक प्रविधि विश्वकै लागि अनुपम नमुना रहेको बताउनुभयो । पुस्तक प्रकाशन एक महत्वपूर्ण उपलब्धि भएकोले यसलाई निरन्तरता दिनुपर्ने र पुस्तकको अन्तरक्रिया पनि गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
भक्तपुर जात्राको राजधानी रहेको चर्चा गर्दै इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुरको बिस्का जात्रा संसारभरि प्रसिद्ध रहेकोले पुस्तक विमोचनले बिस्का जात्राको अध्ययन अनुसन्धान गर्ने शोधार्थी तथा अनुसन्धानकर्तालाई मद्दत पुग्ने बताउनुभयो ।
गुठी संस्थान कार्यालय भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले बिस्का जात्रासम्बन्धी पुस्तकबारे आउँदा दिनमा थप खोज तथा अनुसन्धान गर्न अनुरोध गर्नुभयो ।
संस्कृतिप्रेमी अनन्तप्रसाद धौभडेलले पुस्तकले भक्तपुरको गौरव राख्न सफल हुने र पुस्तक अध्ययन गरी कमीकमजोरी औँल्याउनुपर्ने बताउनुभयो ।
संस्कृतिकर्मी तथा अभियन्ता गणेशराम लाछिले सङ्गीत प्रवद्र्धनमा परिवार लागिपर्नु स्वागतयोग्य भएको र नेवार समुदायमा हराएको मुहाली बाजा संरक्षणमा मुक्ति प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । भक्तपुर नाचगान र जात्राको सहरको रूपमा परिचित भएको उहाँले बताउनुभयो ।
नेपाल चेम्बर्स अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले मुक्ति प्रतिष्ठानले भक्तपुरको परम्परागत देवी नाच साथै मौलिक संस्कृतिमा नयाँ पुस्ता तयार गरिँदै आएको सराहनीय काम भएको बताउनुभयो ।
लेखक मुक्ति सुन्दर जधारीले कुनै पनि पुस्तक लेखन सहज नभएको र पुस्तकमा समावेश भएका लेखहरूमा सल्लाह सुझावको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सचिव रशिक जधारीले स्वागत मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *