भर्खरै :

शिक्षक दिवसमा नेक्राशिसङ्घद्वारा प्रवचन कार्यक्रम

शिक्षक दिवसमा नेक्राशिसङ्घद्वारा प्रवचन कार्यक्रम

भक्तपुर, २९ चैत । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बिहीबार प्रवचन कार्यक्रम गरी शिक्षक दिवस मनाइयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरूले जस्तोसुकै दुर्दशा भोगे पनि अन्ततः पदकै निम्ति तिनीहरूबिच हानठाप भइरहेको बताउनुभयो ।
अपराधलाई राजनीतीकरण र राजनीतिलाई अपराधीकरण गरिरहेका शासक दलहरूले भ्रष्टाचार र आर्थिक अनियमिततालाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ ।
सांसद गोसाईले भन्नुभयो, “इज्जत, प्रतिष्ठा, नैतिकता, सिद्धान्त र विचारको सङ्कट भएकै कारण शासक दलहरूबाट देशमा आर्थिक मन्दी थपिएको हो । समुदायले बुझ्ने गरी, समाजले अनुभव गर्ने गरी शिक्षकहरूले सहभागितामूलक र अन्तरक्रियात्मक छलफल कार्यक्रमहरू ल्याउनुपर्छ ।”
विद्यार्थीहरूमा कक्षा १२ पछि विदेश जाने लहर चल्नुमा शासक दल, अभिभावक र शिक्षकहरूको पनि कमजोरी रहेको औँल्याउँदै उहाँले अङ्कको जोड घटाउतिर लागे जोसुकैले दुःख पाउने भएकोले शिक्षकहरू सभ्य र उत्कृष्ट समाज निर्माणको लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सहसचिव जगन्नाथ सुजखुले शिक्षक सङ्घले मावि तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्न जोड दिए पनि हालसम्म सरकारले वास्ता नगरेको बताउनुभयो ।
उहाँले अग्रजहरूबाट भएको शिक्षक सङ्घर्ष र आन्दोलनबाट हासिल गरेको उपलब्धिलाई कदर गर्दै शिक्षा क्षेत्रमा असल र सक्षम शिक्षकको आवश्यकता रहेको चर्चा गर्नुभयो ।
बासु मा.वि.का प्रअ अम्बिका न्याइच्याईले वि.सं २०२८ सालको शिक्षा ऐनलाई टेकेर काम गरिरहेका शिक्षकहरूलाई शिक्षा विधेयक २०८० ले अप्ठ्यारो पारेको धारणा राख्दै निःस्वार्थ र प्रविधिमैत्री शिक्षाका लागि अध्ययनको परम्परालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाले शिक्षक सङ्घर्षमा अग्रजहरूको योगदानलाई कदर गर्दै उहाँले शिक्षकको सीप र साधनलाई देश र जनताको हितमा सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
राजन लाखा, घनश्याम खड्कालगायतले बोल्नुभएको कार्यक्रममा जोरपाटी माविका प्रधानाध्यापक हरिप्रसाद ढकालले कविता वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *