भर्खरै :

बझाङ कालुखेतीमा नेमकिपाको निर्वाचन प्रचार

बझाङ कालुखेतीमा नेमकिपाको निर्वाचन प्रचार

बझाङ, २ वैशाख । खप्तड छान्ना गापा वडा नं ५ कालुखेतीमा स्थानीय जनताको भेला गरी नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बझाङ जिल्लाको प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र नम्बर ‘क’ का उम्मेदवार खगेन्द्रबहादुर शाहीले नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारालाई मार्गनिर्देशन सिद्धान्त मानी काम गरिरहेको चर्चा गर्दै निर्वाचनबाट समाजवाद नआउने भएकोले कामदार जनता राजनैतिकरूपमा सचेत र सङ्गठित भई अगाडि बढ्नुपर्छ भन्नुभयो ।
हामीले निर्वाचनलाई हारजितभन्दा पनि जनताको चेतना स्तर नाप्ने ब्यारोमिटरको रूपमा लिने स्पष्ट पार्दै उहाँले वास्तवमा निर्वाचन घोषणापत्रको लडाइँ हुनुपर्ने हो तर शासक दलले जनतालाई खरिद बिक्रीको वस्तु बनाएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले निर्वाचनबाट निर्वाचित शासक दलका प्रतिनिधिहरूले देशघाती सन्धि सम्झौता, कोसी, गण्डक, महाकाली, अपर कर्णाली अरुण, नागरिकता विधेयक, एसपीपी र एमसीसी सम्झौता गरी विदेशीको उठबसमा चल्ने पार्टीलाई होइन, देशभक्त पार्टी नेपाल मजदुर किसान पार्टीको मादल चिह्नमा भोट हाल्न अनुरोध गर्नुभयो । पुँजीवादी व्यवस्थाको ठाउँमा समाजवादी व्यवस्था ल्याउन सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कामदारवर्गको हितमा संविधान बनाउन राजनीति गरेको हो भन्नुभयो । नेमकिपा कञ्चनपुर सदस्य मिनु गिरीले अरु पार्टी र नेमकिपामा फरक रहेको प्रस्ट पार्नुभयो ।
भेलाले धर्म गिरीको अध्यक्षतामा ५ सदस्यीय नेपाल क्रान्तिकारी युवा सङ्घ खप्तड छान्ना गापा वडा नं ५ कालुखेती सम्पर्क समिति गठन गरेको छ ।
चैत २८ गते जयपृथ्वी नगरपालिका वडा नं ४ गोलाइ, भिरमुनि पानकोटमा र २९ गते वडा नं १० चैनपुर बजारमा चुनावी प्रचारप्रसार गर्न उम्मेदवार खगेन्द्रबहादुर शाहीले नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादलमा छाप हाल्न आग्रह गर्नुभयो । कैलाली अध्यक्ष रमेशकुमार रावल र कञ्चनपुर सदस्य मिनु गिरीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *