अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ३ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप ई. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बिस्का जात्रा तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम कलेजको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले ख्वप विश्वविद्यालय स्वीकृतिको लागि पहल भइरहेको बताउँदै चुनौती सँगसँगै नयाँ नयाँ अवसर पनि आउने भएको हुँदा चुनौतीबाट नभागी त्यसको सामना गरी निरन्तर अगाडि बढे सफलतामा पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले निरन्तर जनताको सेवा गरिरहेको चर्चा गर्दै उहाँले अस्पतालमा नेपाल सरकारले बीमाबापतको भुक्तानी धेरै रहेको कारण उपचारमा समस्या आउन सक्ने सम्भावना रहेको जानकारी गराउनुभयो । गएको वर्ष भुटानी शरणार्थी, सुन काण्ड, ललिता निवासलगायतमा उच्चपदस्थहरूसमेत जेलमा परेको स्मरण गर्दै उहाँले त्यसबाट शिक्षा लिँदै हरेक काम कानुनी प्रक्रियाअनुसार अघि बढाउन आग्रह गर्नुभयो ।
देशको राजनीतिलाई राम्रो बनाउन जनता राजनीतिकरूपमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेतृत्वमा बस्ने व्यक्तिले पदको लोभ होइन नयाँ नयाँ सोचले देशलाई अगाडि बढाउनुपर्छ भन्नुभयो ।
अतिथि प्रजापतिले विदेशी लगानी भित्याउने नाममा नेपाल सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न लागिरहेको लगानी सम्मेलनसँगै देशको अर्थतन्त्र पाइला पाइला गरी विदेशी कम्पनीहरूको नियन्त्रणमा जाने खतराबारे पनि सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
जलविद्युत् आयोजनामा भारतको एकलौटी अधिकार जमाइरहेको हुँदा देश प्रत्यक्ष परोक्ष भारतीय विस्तारवादको चङ्गुलमा फस्दै गएको उहाँले स्पष्ट पार्नुभयो ।
उपप्रमुख रजनी जोशीले ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यलाई साकार पार्न निरन्तर लागिरहेको जानकारी दिँदै अहिले ख्वप सर्कलबाट उत्पादन भएका जनशक्तिको माग दिनानुदिन बढ्दै गइरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा मनाइने बिस्का जात्रा इन्जिनियरिङसँग सम्बन्धित रहेको जानकारी दिँदै भक्तपुरले चुनौतीलाई अवसरको रूपमा रूपान्तरण गर्दै आजको सफलता प्राप्त भएको जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप ई. कलेजका प्रचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, ख्वप ई. कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापति, विभागीय प्रमुखहरू योगेश बज्राचार्य र दिनेश गोठे, लेखा शाखा प्रमुख काजीबहादुर पञ्च, प्रशासन प्रमुख सञ्जय मानन्धर र राजन लाखाले २०८० सालको कार्यउपलब्धि र वार्षिक प्रगतिबारे जानकारी दिनुभयो ।
Leave a Reply