यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
शासक र ठुला राजनीतिक दलहरूको कमजोरी राजनीतिक संस्कार र पद्धतिलाई स्थापित गर्न नसक्नु पनि हो । सरकारको नेतृत्व र सरकारमा सहभागी हुन पाएपछि महान् विजय भएको सम्झने ठुला र शासक दलका नेताहरू सत्तासीन हुन पाएपछि सिद्धान्त र विचारको कुनै ख्याल गर्दैनन् । जहिल्यै सत्ताको वरिपरि रहेर, सत्तामा जान पाएपछि पार्टी फुटाउन पनि पछि नपर्ने नेताहरूको राजनीतिक उचाइ झरेको मात्र होइन गिरेको छ । सत्ताको निम्ति सिद्धान्त र विचार बन्धक राखेर ऐøयासी जीवन बिताउने शासक र ठुला दलका नेताहरूको अस्थिर र विचारहीन राजनीतिले देश जसोतसो चलिरहेको छ । देशको अवस्था नाजुक छ । उद्योगहरू सञ्चालन हुन सकेका छैनन् । उत्पादन खासै भएको देखिँदैन । बेरोजगारी समस्या बढेको बढ्यै छ । विदेश पलायन हुने युवाहरूको सङ्ख्या बढेको छ । देशमा ठुलो व्यापारघाटा छ । देशको बजेट विदेशी ऋण र सहयोगमा बनाइन्छ । निर्यातभन्दा आयात बढेको छ । देशको आम्दानी घटेको छ या राजस्वमा कमी आएको छ । अनि देश कसरी चल्छ ?
राज्य सञ्चालकहरू जिम्मेवार भएनन् । उनीहरू दिशाहीन भए; अस्थिर सरकार र अस्थिर राजनीतिका पात्र बने । शासकहरूले तल्लोभन्दा तल्लो स्तरमा रहेर गाली गर्न थाले । उनीहरूले कहिले वर्ग शत्रु त कहिले वर्ग मित्र सम्झन थाले । त्यही दललाई कहिले मित्र र कहिले शत्रु ठान्ने राजनीतिक दलहरूको दिशाहीन र विचारहीन राजनीतिले देशमा कसरी सही दिशानिर्देश गर्नसक्छ ? सरकारमा पुगेका कम्युनिस्टहरूको यस्तै चाल या गतिविधिले कति राजनीतिक विश्लेषक र लेखकहरू देशमा कम्युनिस्ट पार्टी नै छैन भनी फुक्न थालेका छन् । कम्युनिस्ट पार्टी पनि नेकाजस्तै पुँजीवादी राजनीतिमा लाग्यो; पुँजीवादी पार्टीले गर्ने सबै काम गर्न थाल्यो । कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले गर्नुपर्ने काम कुनै गरेन । उनीहरूले एकपछि अर्को समाजवादी धारणा छोड्न थाले; समाजवादी ऐन, कानुनको त कुनै पनि वास्ता गरेनन् । समाजवादी अर्थतन्त्रको कुरा त सुन्न पनि पाइँदैन† लागु हुने कुरा त परकै विषय हो ।
पुँजीवाद र पुँजीवादी प्रजातन्त्रबारे जनतामा रहेको भ्रम चिर्नुपर्छ† त्यो भ्रम चिरेरै जनतामा समाजवादी विचारको जग बस्छ । समाजवादी विचार जनताको घर आँगनमा नपुगिकन† समाजवादबारे जनतालाई सुसूचित नपारिकन समाजवादी आन्दोलन अघि बढ्दैन । हो, देशमा समाजवादी आन्दोलनले निश्चित आकार लिइसकेको छैन । समाजवादी अवधारणाबारे जनताले बिस्तारै बुझ्दै छन्; पुँजीवादी विचारको विरोध गर्दै छन् र कम्युनिस्ट भएर कम्युनिस्टको सिद्धान्त र विचार बन्धक राखेर पुँजीवादी राजनीति गर्ने दललाई चिन्दै छन् । आफूलाई कम्युनिस्ट पार्टी भन्ने दलका कति नेताहरू माक्र्सवाद र लेनिनवादबारे बहस नै गर्दैनन्; त्यसबारे जनतालाई सुसूचित पार्दैनन् । यस अर्थमा नेपालको कम्युनिस्ट आन्दोलनमा माक्र्सवादबारे अन्योल छ । कति कम्युनिस्ट भनिने पार्टीले माओ विचारधारालाई नै मान्दैन । जनताको विश्वास जित्न या भोट लिनमात्र कम्युनिस्ट भनिएका ती दल र दलका नेताहरूको चरित्र भने पुँजीवादी नै देखिन्छ ।
कति पुँजीवादी नेता, लेखक र राजनीतिक विश्लेषकहरू पुँजीवादी देशमा मात्र प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार हुन्छन् भनी फुक्छन्† समाजवादी देशमा प्रजातन्त्र र स्वतन्त्रता हुँदैन भनी प्रचार गर्छन् । पुँजीवादी नेताहरूको त्यो भनाइ सही होइन । कम्युनिस्ट देशमा आलोचना गर्न पाइँदैन भन्ने कुरा पनि सही होइन । कम्युनिस्ट पार्टीभित्र आलोचना प्रत्यालोचना हुन्छ । कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको मात्र प्रचार गर्दैन; पुँजीवादको विरोध गर्छ; सामन्तवादको विरोध गर्छ; विस्तारवाद र साम्राज्यवादको विरोध गर्छ । अवसरवाद र संशोधनवादको पनि कम्युनिस्ट पार्टीले विरोध गर्छ; विदेशी हस्तक्षेप, आक्रमणको पनि विरोध गर्छ । कम्युनिस्ट पार्टीले वर्गसङ्घको बाटो रोज्छ या वर्गसङ्घर्षले मात्रै आमूल परिवर्तन गर्नसक्छ भन्ने मान्यता राख्छ । पुँजीवादी संसदीय निर्वाचनबाट समाजवाद स्थापना गर्छ भन्ने कुरामा कम्युनिस्ट पार्टी विश्वास गर्दैन । सामन्तवादी र पुँजीवादी सरकारमा कम्युनिस्ट पार्टी सरिक हुँदैन भन्ने अर्काे मान्यता हो । तर, नेपालमा जुन हुन नपर्ने हो त्यही भइरहेको छ । यो कम्युनिस्टविरोधी कदम हो ।
Leave a Reply