भर्खरै :

वाम गठबन्धनको विजयले देशमा आमूल परिवर्तनको आशा गर्नु गलत

भक्तपुर, २ पुस । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नपा वडा नं ६ नगरकोटको आयोजनामा आइतबार प्रतिनिधि सभाको लागि भक्तपुर क्षेत्र नं १ बाट निर्वाचित सांसद नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाललाई बधाई ज्ञापन तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुवालले मादल चिन्हमा मतदान गरेकोमा मतदाताहरुलाई धन्यवाद व्यक्त गर्दै जनताका समस्या संसदमा प्रस्तुत गर्दै समाधानका लागि सरकारलाई घच्घचाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले कथित वाम गठबन्धनको विजयले देशमा आमूल परिवर्तनको आशा गर्नु गलत हुने धारणा राख्दै जनताले आफ्नो न्यायपूर्ण मुद्दामा सङ्घर्ष जारी राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सुवालले संसदमा जनताका मुद्दा सम्बोधन नहुने अवस्थामा जनताले सडक आन्दोलनमार्फत पनि दबाब दिने परिस्थिति आउन सक्नेप्रति सजग पार्दै भन्नुभयो,‘आचार संहिता उल्लंघन, झुठ्ठा आश्वासन र पैसाको भरमा चुनाव जितेका वाम तथा लोकतान्त्रिक गठबन्धनका कारण देशको प्रजातन्त्र कमजोर बनेको छ ।’
उहाँले क्रान्तिकारी भूमिसुधार, निःशुल्क र अनिवार्य शिक्षा, सर्वसुलभ स्वास्थ्य, युवाहरुलाई स्वदेशमै रोजगारी जस्ता जनताका मुद्दा कार्यान्वयनका लागि सदनभित्र निरन्तर सङ्घर्ष गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
सुवालले अब बन्ने सरकारले युवाहरुलाई विदेशमा श्रम गर्न पठाउन बन्द गरी स्वदेशमै रोजगारी नभए बेरोजगारी भत्ताको
बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार नीरज लवजूले नेमकिपाले कानुनी र गैरकानुनी तरिकामार्फत समाजमा आमुल परिवर्तनको लागि सङ्घर्ष जारी राख्ने नीतिअनुसार व्यापक कामदार जनताको हितमा आन्दोलन जारी रहने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाको विषयमा विपक्षी राजनीतिक पार्टीले अनेकन भ्रम र गलत प्रचारबाजी गर्ने गरेको तर व्यापक कामदार जनताको हितमा पार्टीले ती सबै भ्रमहरु चिर्दै आफ्नो गतिविधिलाई निरन्तरता दिइरहने धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष शङ्खबहादुर थिङको सभापतित्वमा भएको कार्यक्रममा एस थिङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *