भर्खरै :

नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रममा १९५ जना लाभान्वित

नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रममा १९५ जना लाभान्वित

भक्तपुर, ४ जेठ । जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा शुक्रबार नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुर औद्योगिक क्षेत्रका विभिन्न सङ्घ संस्था, उद्योग, कलकारखानामा कार्यरत कर्मचारी तथा मजदुरहरूलाई लक्षित गरी सङ्घको सभाहलमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार सञ्चालन भएको नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रममा ९८ जना महिला र ९७ जना पुरुष गरी १९५ जनाले सेवा प्राप्त गरेका थिए । परीक्षण कार्यक्रममा उच्च रक्तचाप, पिसाब, रगत परीक्षण गरी चिकित्सकबाट परामर्श सेवा दिइएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षण कार्यक्रममा सेवा लिएका मध्ये १२० जनाको सामान्त्न्दा बढी तौल देखिएको, सामान्त्न्दा बढी रक्तचाप भएका २४ जना, रगतमा चिनीको मात्रा सामान्त्न्दा बढी भएका २० जना, तीनजनाको पिसाबमा चिनीको मात्रा बढी र सात जनाको पिसाबमा प्रोटिनको मात्रा बढी देखिएको थियो । ३० जनालाई अस्पतालमा पुगेर थप जाँच तथा उपचारको लागि चिकित्सकले सल्लाह सुझाव दिएको उहाँले बताउनुभयो ।
सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले सबै उमेरका मानिसमा नसर्ने रोग लाग्न सक्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजना तथा सङ्घको सहकार्यमा नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रोगले थलिएपछि बल्ल उपचारको लागि जाने बानी समाजमा रहेको अवस्थामा यो कार्यक्रमले बेलैमा रोगको पहिचान र निदान गर्न मद्दत पुग्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *