यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मेरो भक्तपुर !
कला र संस्कृतिको ढुकुटी,
एउटै भाषा एउटै भेषले
सिँगारिएको मेरो समाज,
यहाँ पाइला पाइलामा ढुङ्गा देउता बन्छ,
हरेक दोबाटोमा भुतको बास हुन्छ,
सधैँ सधैँ आस्था र विश्वास छल्किरहने,
मेरो जन्मभूमि भक्तपुर ।
अष्टमातृकाले घेरिएको मेरो ठाउँ,
यहाँ सबैको आ–आफ्नो पीठ छ,
चाड पर्व एउटै, लोक गीत एउटै,
जिब्रोमै टाँसिएको छ घातु, मालश्री र ब्याँचुली ।
शासकद्वारा विभाजित मेरो भक्तपुर,
पाँचतले मन्दिरबाट पूर्व माथिल्लो भेग,
पाँचतले मन्दिरबाट पश्चिम तल्लो भेग,
सबैमा आ–आफ्नो भेगको माया छ,
यो देशभक्ति भावना रे !
शासकवर्गले सिकाएको ।
माथिल्लो भेग दाजुको ससुराली,
तल्लो भेग दिदीको माइतीघर
नङ र मासुजस्तो गहिरो सम्बन्ध छ
दुवै परिवारको आपसमा ।
हरेक वर्ष, चाड पर्व आउँदा
सडक गुल्जार बन्छ,
माथिल्लो भेगको ज्वाइँ
छोरीको साथमा तल्लो भेगमा आउँछ,
तल्लो भेगको छोरा
बुहारीको साथमा माथिल्लो भेग जान्छ,
पूर्णिमाको जूनजस्तो चहकिला हुन्छन्
सबैका आँखाहरू
दुःखका रेखाहरू, मेटिएका हुन्छन्
सबैका अनुहारहरू ।
बिस्केट जात्राको आगमन हुँदा
भैरव ओर्लन्छ सडकमा,
तानिन्छ भैरवको रथ
दुवै भेगका जात्रालुबाट ।
होसियार ! जात्रामा
मामाले आफ्नो भाञ्जोको
भाञ्जाले आफ्नो मामाको
कठालो समाउन सक्छ,
दुवै जना युद्ध मैदानको
योद्धा बन्न सक्छन्,
आ–आफ्नो भेगको औकात देखाउन,
यो देशभक्ति भावना रे !
शासकवर्गले सिकाएको ।
जात्राको समाप्ति पछि
मामा–भाञ्जाको माझमा
पुनः स्नेह जोड्छ,
पहिलेको भन्दा गहिरो
अझ गहिरो ।
पाटी–पौवा तथा मन्दिरहरूमा
दाफा–भजन गाउँछन्
देउता रिझाउन मेरो भक्तपुरमा,
स्वर्गको बाटो कुर्छन्,
मनलाई शान्त पार्न,
मन शान्त भएपछि
स्वर्ग पुगिहाल्यो नि होइन र ?
पुरानो शासकको ठाउँमा
नयाँ शासकको आगमनपछि
दुःख बास बस्छ भक्तपुरमा,
दबाउने र दबिनेवर्ग देखिन थाल्छ
मेरो समाजमा,
कामको बीउ, ज्यापु ‘किसान’
मेरो देशको मालिक ‘नेवा’
खेत कमाउने जोताहा बन्छ,
खेती नगर्ने तल्सिङ (जग्गा धनी) बन्छ,
खाने र ख्वाउनेवर्गको नयाँ समाज
वर्गीय समाज देखिन थाल्छ ।
कला र संस्कृतिको ढुकुटी भर्ने नेवारहरू
नबिउँझेसम्म
जात्रा चल्दैन यहाँ,
दाफा गाइँदैन मन्दिरको सहरमा
कलाकारितामा निपुण नेवारहरू नउठेसम्म
नाचगान चल्दैनन् टोल–टोलमा,
धिमे बाजा नबजाएसम्म
पाइतलाको चाल चल्दैन भक्तपुरमा ।
शासकवर्ग फेरिँदै जान्छ
एकपछि अर्काे,
विद्या नास गराइन्छ
नयाँ शासकको नेतृत्वबाट,
पढ्न–लेख्न पाइँदैन यहाँ,
जो पढ्न र लेख्न खोज्छ
ऊ बलिवेदीमा उभिन सक्नुपर्छ ।
नर्कसरि थियो
मेरो पुरानो भक्तपुर
पाइला उठाउन सकिँदैनथ्यो
फोहर नकुल्ची ।
पर्यटकहरूको आँखामा
गोब्रे कीरा थियो यहाँको आदिवासी,
शिक्षाविहीन भू–दासहरूको देश मेरो भक्तपुर ।
आज
स्पार्टाकसहरूको विद्रोहबाट
मेरो भक्तपुरलाई बसन्तले चुमेको छ,
हर्षवीर दाइको हातले कुचो समाइदिँदा
स्वर्ग झरेको छ मेरो भक्तपुरमा,
गन्हाएको हातले कलम समातिदिँदा
तक्षशिला बनेको छ,
मेरो भक्तपुर ।
– नेपालभाषाबाट अनुदित
Leave a Reply