सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
काठमाडौँ, ६ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे निर्धारित थियो । अपराह्न १२ः३० बजेको बैठक अपराह्न २ बजे सारिएको सूचना प्रकाशित भयो । अपराह्न ४ बजेको बैठक अपरान्ह ४ः३० बजेको लागि सारियो । बैठक ६ः२४ सुरू गरियो ।
सभामुखले बैठक सुरू गर्नासाथ नेकाका सांसदहरू आ–आफ्नो स्थानमा उभिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएको हुँदा उभिएका नेका सांसदहरू आफ्नै स्थानमा बसे ।
गृहमन्त्री लामिछानेले सहकारी संस्थाहरूको रकम आफूले ठगी नगरेको उल्लेख गर्दै नेकाले आफ्नोविरूद्ध सहकारी ठगीको आरोप लगाई संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय उठाएको पत्रिकामा छापिएका आधारहीन समाचार बताउनुभयो ।
गृहमन्त्री लामिछानेले नेकाका महामन्त्री गगन थापाले बाख्रा पालन र मासु बिक्री पसलको लागि रु. १५ करोड कृषि अनुदान लिएको, २०५५ सालमा त्रिचन्द्र कलेजको स्ववियु सभापति हुँदा ३० लाख हिनामिना गरेको, स्वास्थ्यमन्त्री हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा १४ करोड कमिसन लिएको विषय पत्रिकामा समाचार प्रकाशित भएको हुँदा यसबारे पनि संसदीय छानबिन समिति गठन गर्नुपर्ने होइन र भनी प्रश्न उठाउनुभयो ।
गृहमन्त्री लामिछानेले देशको सूचना विदेशीलाई दिने, नागरिकता एउटै बोक्ने विदेशी एजेन्ट त्यो देशको मन्त्री वा पार्टीको महामन्त्री भए पनि संसद्बाट बाहिर पठाउनुपर्ने उल्लेख गर्दै गृहमन्त्री हुन योग्य नभएको आफूलाई नेकाले प्रमको प्रस्ताव किन गरेको भनी प्रश्न उठाउनुभयो ।
नेका सांसद गगन थापाले सहकारीको ऋण मागेको प्रमाण भएको आफूसँग भएको दाबी गरे तर त्यो प्रमाण उपलब्ध भए आफूले राजनीति त्याग्ने र प्रमाण नभए सांसद गगन थापाले राजनीति त्याग्नुपर्ने चुनौती गृहमन्त्री लामिछानेले दिनुभयो ।
पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट आफू संलग्न ग्यालेक्सी टीभीमा आफ्नो नामबाट लगानी नभएको र जीबी राईको फोहर आफूले सोहर्न नपर्ने बताउँदै गृहमन्त्री लामिछानेले पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा सारिएको प्रतिवेदनमा आफ्नो नाम शङ्कास्पद ऋणीमा संलग्न भएको उल्लेख गर्ने दीपकप्रसाद आचार्य नेकाको वडाध्यक्ष उम्मेदवार भएको जानकारी गराउनुभयो ।
गृहमन्त्री लामिछानेले नेकाका सांसदहरू यौन दुव्र्यवहारमा परेका आफ्नै भाइका छोरालाई आफ्नो रातो पासपोर्टमा तस्बिर टाँसेर जापान पठाएको, तत्कालीन प्रधानसेनापति छत्रमान गुरूङको छोराको १४ लाखको घडी चोरेको, भृकुटी मण्डपको सरकारी जग्गा बहालमा नेकाका टेकबहादुर गुरूङ भ्रष्टाचारमा परेको, टीकापुरको सरकारी जग्गा ३० बिघा व्यक्तिको नाममा दर्ता गर्नेमा नेकाका सांसदहरू भएको, नक्कली भुटानी शरणार्थी बनाउनेमा पनि नेकाका मन्त्रीहरू नै संलग्न भएको बताउनुभयो ।
गृहमन्त्री लामिछानेले वाइडबडी, नक्कली भुटानी शरणार्थी, टेरामक्स, बालमन्दिरको सरकारी जग्गा, टीकापुरको सरकारी जग्गा करछली आदिमा नेकाका सांसदहरू संलग्न भएको उल्लेख गर्नुभयो ।
आफ्नो मन्तव्यको उत्तराद्र्धमा गृहमन्त्री लामिछानेले नेकालाई समाधानको बाटोमा जान आग्रह गर्नुभयो र सदनमा बलमिचाइ नचल्ने चेतावनी दिनुभयो ।
गृहमन्त्रीले भ्रष्टाचारको सूची सदनमा सार्वजनिक गर्ने होइन एक एक गरी छानबिन गरी दोषीउपर फौजदारी मुद्दा दर्ता गराउने हो । गृहमन्त्री लामिछानेले आफैले संसद्मा राखेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सूची सार्वजनिक गर्ने तर फौजदारी मुद्दा दर्ता नगर्ने हो भने तातो श्वास खर्च गरी सदनमा लामो चुनौती दिनुको औचित्य हुनेछैन । बलमिचाइ संसद्मा गृहमन्त्रीले नै गरेको र भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने गृहमन्त्रीमा लामिछानेको नाम दर्ज हुनेछ ।
गृहमन्त्रीको मन्तव्यपछि सभामुखले बाँकी कार्यसूची हटाएको जानकारी गराउनुभयो । तत्पश्चात् नेकाका सांसदहरू आ–आफ्नो स्थानमा उठे तर, सभामुखले प्रतिपक्ष दलहरूलाई बोल्न समय दिनुभएन । नेपाल मजदुर किसान पार्टीले हरेक दिनको बैठकमा बोल्न समय माग गर्दै आएको छ । तर, उपलब्ध गराएन । संसद् प्राज्ञिक बहसको थलो हुनुपर्नेमा सत्तापक्ष र प्रमुख प्रतिपक्षको भागबन्डाको थलोमात्र बनाइएको खेदको विषय हो । संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दललाई बोल्न नदिनु कार्य व्यवस्था समितिको कमजोरी हो ।
गृहमन्त्री लामिछानेले आम सञ्चारमा आएका विषयलाई संसद्मा उठाउनु उपयुक्त नभएको पटक पटक उठाए तर, गृहमन्त्री लामिछाने आफू प्रतिपक्षको स्थानमा हुँदा आम सञ्चारका समाचारलाई पढेर सदनमा २–४ पटक बोलेको भिडियो सङ्ग्रह साक्षी छ । यसकारण, गृहमन्त्री लामिछानेको भाषण सन्तुलित नभएको स्पष्ट हुन्छ ।
Leave a Reply