भर्खरै :

भक्तपुरको चासुः पुनी (चण्डेश्वरी जात्रा) एक परिचय

भक्तपुरको चासुः पुनी (चण्डेश्वरी जात्रा) एक परिचय

(मनरथ हे जननी मनरथ पुरे याना बिव
जय माई चण्डेश्वरी मनरथ पुरे याना बिव)……२

(जव सं जलंधर खव सं शितला पौवा)….२
दथ्वी सं हे जननी जय माँ श्री चण्डेश्वरी
मनरथ हे जननी मनरथ पुरे याना बिव
जय माई चण्डेश्वरी मनरथ पुरे याना बिव

(जव सं शिव नीलकण्ठ खव सं श्री गणस्पती)…..२
दथ्वी सं हे जननी जय माई चण्डेश्वरी

मनरथ हे जननी मनरथ पुरे याना बिव
जय माई चण्डेश्वरी मनरथ पुरे याना बिव

जय माँ चण्डेश्वरी


सांस्कृतिक राजधानी भक्तपुर नगरको मध्तग वडा नं ५ चासुख्यः टिबुक्छेँमा अवस्थित चासुः अजिमा (चण्डेश्वरी माई) को नाममा आजभन्दा करिब ९०० वर्षपहिले राजा आनन्द देवको पालामा बनेपा तथा भक्तपुर चासुख्यः मा एकै साथ निर्माण गरिएको देखिन्छ । चण्डेश्वरी देवगृहको ने.सं ८४८ (वि.सं. १७८५) शिलाभिलेखमा राजा रणजित मल्लको राज्यकालमा, त्रिप्रक्वछेँ (टिबुक्छेँ) टोलका पञ्चसमुच्चय मिलेर चण्डेश्वरी मन्दिरमा सुनको छाना र गजुर हाली देवलछेँ (देवगृह) निर्माण गरेको कुरा आएको छ । (पुरुषोत्तमलोचन श्रेष्ठ, अन्तरङ्गका तरङ्गहरू, संचित बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर, २०८०, पृष्ठ २५०) त्यस्तै ने.सं. ८६५ मा चण्डेश्वरी देवी समीप पाटी बनाएको अर्को एउटा प्रमाण मौजुद छ । (ओम धौभडेल भक्तपुर दैनिक अनलाइन) त्यसपश्चात् विभिन्न कालखण्डमा मर्मत सम्भार गरिरहेको यस मन्दिरको वैशाख पूर्णिमाको एकदिन अगाडिदेखि ३ दिनसम्म जात्रा मनाउँदै आएको छ ।
पौराणिक आख्यानअनुसार चण्डेश्वरीले चाँपको रूखको फेदबाट प्रकट भई देवगणले पनि वध गर्न नसकेका चण्डासुरको वध गरेकी थिइन् । सोहीअनुरूप बनेपा र भक्तपुरका चण्डेश्वरी पीठहरू तथा चण्डेश्वरीका मूर्ति चाँपको काठका छन् । तर, ती काठ मक्किएर जीर्ण भएका छन् । चण्डासुरको वध गरेकीले देवी भगवती चण्डेश्वरी भइन् । त्यसपछि तिनै महामाया चण्डेश्वरीले वध गरेपछि चण्डासुर (खराब चरित्र) को चोला त्याग गरी ज्योतिर्मय देह धारण महरीले अधिपतिदेव हुनपुगेकाले चण्डासुर चण्डेश्वर कहिलिएको कुरा यस विषयका पौराणिक साहित्य एवं आख्यानका आधारमा थाहा पाइन्छ । यसो हुँदा नेपालमण्डलमा जहाँ चण्डेश्वरी पीठ मन्दिर छ त्यहाँ तिनका साथमा तिनका अधिपतिदेव चण्डेश्वर पनि छन् । यताबाट सर्वव्यापी, सर्वरूपिणि चण्डेश्वरी शिवशक्ति स्वरूपमा, परब्रह्म स्वरूपमा मान्यपूज्य रहिआएको विदित हुन्छ । नेपालमा चण्डेश्वरी माताको मूलथलो बनेपा रहिआएको एवं राजा आनन्ददेवको समयदेखि नै यिनको व्यापक प्रचारप्रसार एवं लोकप्रियता बढेर आएको विदित हुन्छ । चण्डेश्वरी माताको लोकप्रिय प्रवाहलाई परवर्ती कालका वंशावलीहरूका आधारमा विवेचना गर्दा यिनको महिमा एवं उपासना स्वेष्टदेवीकै रूपमा आनन्ददेवको समयदेखि विशेष भएर आएको विदित हुन्छ । बनेपा–चण्डेश्वरी मन्दिर यिनैले बनाउन लगाएको र चण्डेश्वरीकै आज्ञा पाएर यिनले बनेपा सात गाउँ (देश) बसालेको कुरा वंशावलीहरूका आधारमा ज्ञात हुन्छ । जहाँ खोला छ, त्यहाँ मसान छ । जहाँ मसान छ त्यहाँ अभिन्न रूपमा चण्डेश्वरका साथ चण्डेश्वरी पीठ छ । बनेपा चण्डेश्वरी, ललितपुर चण्डेश्वरी, टोखा चण्डेश्वरी र भक्तपुर चण्डेश्वरी उदाहरणस्वरूप छन् । निर्माता राजाका रूपमा देखिएका आनन्ददेवले बनेपा चण्डेश्वरीको स्थापना गरेको समयतिरै, भक्तपुरमा राजधानी, राजदरबार बसाल्ने सिलसिलामा, यहाँ पनि चण्डेश्वरीको स्थापना गरेको यद्यपि भक्तपुर चण्डेश्वरीमा पछिल्लो कालका ने.सं. ८४८ (वि.सं. १७८५) र ने.सं. ८६५ (वि.सं.१८०२) गरी दुईवटा शिलाभिलेख मात्र प्राप्त छन् । यताबाट पनि रणजित मल्लको समत्न्दा अघि नै चण्डेश्वरीपीठ स्थापना भइसकेको ज्ञात हुन्छ ।


चाँपको रूखबाट प्रकट भएकी देवी हुँदा नेवाः लोकजीवनले चण्डेश्वरी माईलाई चासुः अजिमा भनी पुकार्दै आएको विदित हुन्छ । ख्यःले चउरलाई बुझाउँछ । यसरी चासुः अजिमा रहेको क्षेत्र हुनाले चासुःख्यः कहलिएको कुरा जानिन्छ । चासुःख्यःकै पूर्व रूप चनिगलस्थान हो । भूमिसम्बन्धी तमसुक ताडपत्रहरूलगायत गोपाल राजवंशावलीमा तत्कालीन त्रिपुर राजदरबार र यसको आसपासका अनेक महत्वपूर्ण घटनाहरू वर्णन गर्ने क्रममा चनिगलस्थानको उल्लेख आएको छ
(पुरुषोत्तमलोचन श्रेष्ठ, २०५८, त्रिपुर र युथुनिमम् राजकुल, भक्तपुर भक्तपुर नगरपालिका, पृ.६–१२) ।
किंवदन्तीअनुसार नेपाल मण्डलका राजा दैनिकरूपमा बनेपास्थित चण्डेश्वरी अजिमाको दर्शन गर्न जाने गर्नुहुन्थ्यो† बिनादर्शन खाना पनि नखाने उहाँको दिनचर्या थियो । तर, एक समय यस्तो आयो कि बनेपा मन्दिर जाने बाटोमा परेको खोला तर्न नसकी अविरल वर्षाले गर्दा राजाले अजिमाको दर्शन गर्नसक्नुभएन र बिनादर्शन खाना पनि नखाने कारण राजा कमजोर हुँदै जानुभयो यो सबै कुराको जानकार अजिमाले सपनामा राजालाई दर्शन दिनुभयो र भन्नुभयो कि यस प्रकारको भक्तिभावबाट म निकै प्रसन्न भएँ । त्यसकारण, म आफै स्वयम् दरबार क्षेत्रभन्दा बाहिर एउटा खः को दीपको एक ढुङ्गामा आउनेछु जुन ढुङ्गामा धेरै झिँगा रहनेछ । त्यही ढुङ्गामा म विराजमान हुनेछु । त्यही ढुङ्गाको दैनिक दर्शन गर्नुहोला र आफ्नो दैनिक राजकाज सञ्चालन गर्नु भने किंवदन्ती रहेको पाइन्छ । जसअनुसार दरवारको छेउमै रहेको खः जुन खःको नाम आज चण्डेश्वरी अजिमाकै नामबाट चासु खः रहन गएको र हाल चासुखेल हुन गएको पाइन्छ । यसबाट भन्ने गरिन्छ कि चासुखेलको चण्डेश्वरी अजिमा बनेपाको अजिमा नै यहाँ विराजमान हुन आउनुभएको हो त्यही कारणले भक्तपुरको जात्राको प्रसाद लगेपछि बनेपामा जात्रा सुरू हुन्छ । जसकारण भक्तपुरको जात्राको एक दिनपश्चात् बनेपामा जात्रा सञ्चालन गरिन्छ ।


अर्को किंवदन्तीअनुसार भक्तपुर चासुखेलकै चासुः अजिमाको दैनिक दर्शनपश्चात् यहाँका राजाले भोजन गर्ने र राजकाज सञ्चालन गर्ने गर्थे । त्यही समयकालमा राजा मन्दिर नै जान नसक्ने गरी बिरामी हुनुभयो र बिरामी हँुदा पनि अजिमाको दर्शन नगरी केही नखाने हुँदा झन् धेरै कमजोर हुँदै जानुभयो । त्यसकारण चासुः अजिमा स्वयम् राजाको सपनामा आउनुभयो र दर्शन दिनुभयो । भन्नुभयो कि अब उपरान्त राजा दर्शनको लागि मन्दिर आउनु पर्दैन म नै वर्षको एकदिन दरबारको छेउमै आउँछु र पूजा गर्नुस् अनि आफ्नो राजकाज सञ्चालन गर्नुस् । यही अनुरूप जात्रा सञ्चालन सुरु भएको र जात्राको सुरुमै दरबार क्षेत्र नै अजिमा विराजमान खट लाने चलन रहिआएको देखिन्छ ।
त्यसै चन्दासुर दैत्यको संहार गर्न माता पार्वतीले माता चण्डेश्वरीको रूप धारण गर्नुभएको थियो भने चण्डेश्वरी माता काठमाडौँको श्वेतकाली (नरदेवी) कि छोरी पनि मानिन्छ । दैत्यको संहारपछि गाजाबाजाका साथ जात्रा गरी देवताहरूले स्वर्ग लगेका थिए । यसै दिनलाई स्मरण गरी चण्डेश्वरी जात्रा गर्ने गरिन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ ।
जात्राको पहिलो दिन टिप्वा जात्रा गरिन्छ । टिप्वा जात्रा गर्नु अगाडि चण्डेश्वरी दाफाले अजिमाको बिहान पूजा गरिने छ । दाफाबाट हाँससहितको दिउँसो पूजा हुन्छ । पतचा पूजा (ध्वजा) मन्दिरको गजुरमा राख्ने पूजा हुन्छ । त्यसपछि वैद्यहरूबाट देउता निकाल्ने पूजा गरिन्छ । दुवै दिन पूजा गरिसकेपछि चण्डेश्वरी अजिमालाई स्नान गराइन्छ र माईका विभिन्न गरगहना एवं आभूषणले श्रृङ्गार गरिन्छ ।


विभिन्न दाफा भजन तथा सांस्कृतिक खलका बाजागाजाले गुञ्जयमान सांस्कृतिक वातावरणमा विशेष प्रकारको बाँस टि (निगालोको मुट्ठा) को मसाल जसलाई टिप्वा भनिन्छ । टिप्वा बालेर अजिमालाई देवगृहबाट दक्षिणतिर रहेको मला लाने गरिन्छ र वरिपरिका घर घरबाट पूजा गर्ने गरिन्छ । त्यसपछि अजिमाको मन्दिरभन्दा पश्चिमतिर रहेको एकान्त कुमारीको देवलछेँतिर लगिन्छ र मन्दिर अगाडि भीषणरूपमा सल्काएको आगोको लप्कामा अजिमालाई आगो ताप्न लगाउने गरिन्छ । यसरी पहिलो दुईपल्ट आगो तापेपछि मन्दिरको बायाँबाट घुमाइ मन्दिर पछाडी आराम गराइन्छ र फेरि एकपटक आगोको लप्कामा चारैतिर घुमाइसकेपछि मन्दिर घुमाएर फेरि आगोको लप्कालाई नै घुमाएर मन्दिरभित्र विराजमान् गराइन्छ । यसपछि राती चण्डेश्वरी दाफा भजनबाट भेडाको बलि दिएर चा पूजा गरिन्छ । राति गरिने पूजा भएको कारणले त्यस पूजालाई चा (राति) पूजा भन्ने गरिएको हुनुपर्दछ । चा पूजापश्चात् दण्डेख्या परिवारले एक महादीप (ठुलो दियो) बालेर पूजा गरिन्छ र बालेको महादीपलाई राति नै हनुमानघाटको त्रिवेणीमा लगेर प्रतिस्थापन गरिन्छ । यस पूजापश्चात् सर्वसाधारणाले पूजा गर्ने कार्य सुरू गरिन्छ ।
भक्तपुरका अन्य शक्तिपीठका तुलनामा चण्डेश्वरीको प्रभाव क्षेत्र वा सांस्कृतिक आधार–इलाका बृहत् रहेको देखिन्छ । उदाहरणका लागि भक्तपुर सहरलाई न्हय्सः त्वाः (सात वटा सः (तैलशाला) भएको टोल) को मान्यताका आधारमा पनि थने (माथिल्लो), दथु (मध्य) र क्वने (तल्लो) गरी तीन भागमा विभक्त गरिएको छ र प्रत्येक भागलाई तीन शक्तिपीठ म्हासुख्खः अजिमा (ब्रह्मायणी माई), चासुःअजिमा (चण्डेश्वरी माई) र याकति अजिमा (बाराही माई) अन्तर्गत राखिएको छ, । जस्तै म्हासुख्खः अजिमा
(ब्रह्मायणी माई) अन्तर्गत थनेया न्हय्सःत्वाः, चासुःअजिमा (चण्डेश्वरीमाई) अन्तर्गत दथुया न्हय्सःत्वाः र याकति अजिमा (बाराहीमाई) अन्तर्गत क्बनेया न्हय्सःत्वाः । न्हय्सःत्वा चाहिँकेगु (सातवटा तैलशाला भएका टोल परिक्रमा गर्ने) भनी आ–आफ्नो प्रभाव क्षेत्रमा प्रत्येक वर्ष ब्रह्मायणी, चण्डेश्वरी र बाराही अजिमाहरूको खटयात्रा गर्ने परम्परा छ । (पुरुषोत्तमलोचन श्रेष्ठ, अन्तरङ्गका तरङ्गहरू, संचित बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरः२०८०, पृष्ठ २५१)
यही परम्पराअन्तर्गत वैशाख पूर्णिमाको बिहानदेखि चण्डेश्वरी मन्दिरमा मेला लाग्छ । उक्त दिन छोरीबुहारीहरूले आ–आफ्नो सीप तथा भाकलअनुसार अत्यन्त मेहनतका साथ बुनेको फरिया चण्डेश्वरी देवीमा चढाउने गर्छन् जुन साँझ खटको गजुरलाई बाँधेर खट सजाउने गरिन्छ । यसबाट हाम्रो घरेलु हस्तकलाको समेत संरक्षण संवद्र्धनमा संस्कृतिलाई माध्यम बनाएको उदाहरण यहाँ देख्न सकिन्छ । वैशाख पूर्णिमाको दिन चण्डेश्वरी माईलाई १२ फिट अग्लो दुईतल्ले खटमा टोलवासीहरूको पूजापश्चात् आचाजु, वैद्य तथा चिकंबन्जारहरूको पूजा गरिसकेपछि चासु अजिमाबिनाको खट मन्दिर घुमाइन्छ र त्यसपछि खटलाई मन्दिर अगाडिको डबलीको बिच भागमा राखिन्छ । चासु अजिमालाई मन्दिरबाट तिव खटमा राखी मन्दिर परिक्रमा गराइन्छ । त्यसपछि खटलाई २४ जनाले काँधमा बोकेर टिबुक्छेँ साकोथा हँुदै लाय्कुली लाँपाँदेग (हरिशङ्करको मन्दिर) अगाडिसम्म लाने र त्यहाँ राज परिवारको पूजासँगै एक बोकाको बलि दिने गरिन्छ जुन आज सरकारी पूजा भनी गुठी संस्थानबाट गरिन्छ ।
त्यहाँ भजनकीर्तनसहित चण्डेश्वरीको पूजा गरी पुनः सोही बाटो फिर्ता भई टिबुक्छेँ टोलको मध्तगमा बिसाई प्रधानाङ्ग परिवारको पूजा थाप्ने गरिन्छ । तत्कालीन समयको त्रिपुर दरबारको सि देवीको पूजा गर्ने परम्पराको रूपमा यसलाई लिन सकिन्छ । साथै प्रधानाङ्ग परिवारको तर्फबाट द्यो कोहबिज्यागु पूजा बजारमा गरिन्छ । सुकुलढोका, गोलमढी, पलिख्यः, इनाचो हुँदै तचपाःभीमसेन मन्दिरको दक्षिणकुनाको चौबाटोसम्म पु¥याई चण्डेश्वरीको पूजा गरिन्छ । त्यहाँ विशेषगरी बनेपालीहरूले बलिपूजा गर्ने चलन थियो । चण्डेश्वरी देवी पहिला पहिला चण्डेश्वरीको खट स्वंगल्वहँसम्म मात्र हुन्थ्यो । एकताका प्रसिद्ध भोट व्यापारी उलकले जात्राको क्रममा चण्डेश्वरीको खटलाई भिमसेन मन्दिरको कुनासम्म ल्याएमा बलि पूजा गर्ने भनी भनेकाले सो नाघी तचपालसम्म लैजाने परम्परा बन्यो । (ओम धौभडेल भक्तपुर दैनिक अनलाइन) जुन आज भोलि हुन छोडेको छ । यसले गर्दा अहिले सर्वसाधारणको पूजा सकेपछि खट फर्काइन्छ । तचपाःबाट चण्डेश्वरीको खटलाई फर्काउने क्रममा लालाछेँमा पाटी सँगैको बाटोमा बिसाउने गरिन्छ । जहाँ वरिपरिका घर घरबाट पूजा गराइसकेपछि पुनः चासुखेल हँुदै च्वस्मामा लगी बिसाइन्छ । त्यहाँबाट इखुमलाको इनारसँगै बिसाइन्छ र त्यहाँबाट कुथिपालीत्वामा ल्याइन्छ । जुन बाटो ५० मिटर जतिको छ त्यस स्थानमा पुगेपछि स्थानीय भाषामा पाय् म्हेत्येकेगु तथा धकु टुकु पनि भन्ने गरिन्छ । पाय् म्हेत्येकेगु भन्नाले खटको ४ वटा खुट्टामा २ वटा लाई उचाल्ने र २ वटालाई भुईमा राखेर तान्ने गरिन्छ जुन ५ पटकसम्म गरिन्छ । यस्तो जात्रा नेपालको कुनै पनि ठाउँमा भएको देखिँदैन । यस समयमा वरिपरिका घर घरको झ्याल झ्यालबाट चटामारी चढाउने गरिन्छ । त्यसपश्चात् पुनः खटलाई काँधमा बोकेर गलसी हँुदै याताको पूर्वको धारा अगाडिसम्म लगेर त्यहाँको पूजा सम्पन्न भएपछि याताटोलको गणेश मन्दिर अगाडि बिसाउने गरिन्छ । त्यहाँ केही समय पूजा भजनकिर्तन गरेपछि गलसी गणेश मन्दिर अगाडि बिसाएर पूजा गरिसकेपछि क्वाछेँ दोबाटोसम्म पु¥याई, त्यहाँबाट फर्काएर ल्याई चण्डेश्वरी मन्दिरको ३ पटक परिक्रमा गराई चण्डेश्वरी मन्दिर अगाडिको डबलीमा खट बिसाइन्छ । त्यहाँबाट खटमा रहेको चासुः अजिमाको मूर्तिलाई निकालेर प्रसाद स्वरूप खटमाथि गजुरमा बाधेर राखेको फूल दिने गरिन्छ । यसपश्चात् चासुः अजिमालाई चासुः अजिमाको द्यो छेँ (देवगृह) मा लसकुस पूजा (स्वागत) गरी खटयात्रा तथा जात्रा समापन गरिन्छ ।
हरेक वर्ष धातुबाट निर्मित चासुः अजिमाको जात्रा यहिअनुरूप मनाइन्छ भने प्रत्येक १२ वर्षमा सापारू (गाईजात्रा) को समयमा चापको काठबाट बनेको चासुः अजिमालाई अर्कै सानो खटमा राखी भक्तपुर नगर परिक्रमा गराउने गरिन्छ । चापको काठबाट बनेको अस्त भुजा भएका चण्डासुरको वध गर्न लागेकी मयूरवाहन अन्य भुजामा विभिन्न हातहतियारबाट सु–सोभित चण्डेश्वरी अजिमाको मूर्तिलाई धुमधामका साथ जात्रा गर्ने चलन रहेको पाइन्छ । यो २०७२ भदौ १४ गते सोमबार गरिएको थियो ।


समस्या
जात्रा सञ्चालनमा प्रमुखरूपमा खट यात्राको क्रममा ठाउँ ठाउँमा विभिन्न विद्युत्को तार तथा फोन, इन्टरनेटको तारले निकै समस्या गर्दछ । कति समयमा त तारहरू पड्किने र तारमा अल्झेर खटको माथिलो भागमा क्षति हुने गरेको पाइन्छ । यसको लागि स्थानीयबासीलगायत स्थानीय तहले जात्राको अगाडि नै जात्रा हुने मार्गमा तार व्यवस्थापन गर्नुपर्ने देखिन्छ भने यातायातका साधनहरूको कारणले पनि खट यात्रामा समस्या देखिएका कारण उक्त एक दिन वैकल्पिक मार्गसम्बन्धी जानकारी प्रकाशन गर्ने, ट्राफिक तथा स्थानीय तहको पहलमा यातायात व्यवस्थापन गरेमा यस जात्रालाई अझ हर्षोल्लासका साथ सञ्चालन गर्न सकिन्छ ।
टिप्वा जात्राको लागि आवश्यक टिँ (निगालो) सहज रूपमा उपलब्ध छैन । यसले गर्दा टिप्वा जात्राको आकर्षणको रूपमा रहेको निगालोको समस्या छ । खट बोक्ने पनि एक कला हो जुन बल सँगसँगै खट बोक्ने ज्ञान एवं अनुभवको आवश्यकता पर्दछ । तर, अहिलेका युवाहरूमा बल छ तर अनुभव एव खट बोक्ने आवश्यक ज्ञानको कमी देखिन्छ । यसकारण, खट बोक्ने जनशक्ति पनि समस्याको रूपमा रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *