भर्खरै :

सञ्चालक क्षमता अभिवृद्धि तालिममा भक्तपुर बचत

सञ्चालक क्षमता अभिवृद्धि तालिममा भक्तपुर बचत

भक्तपुर, ११ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूबिच दुईदिने सञ्चालक क्षमता अभिवृद्धि तालिम शुक्रबार सुरु भएको छ ।
तालिमको औपचारिक कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष रत्नप्रसाद प्रजापतिले देशैभर सहकारीहरूमा सङ्कट आइरहँदा भक्तपुर बचतले आफ्नो स्थापनाकालदेखि नै इमानदारिता, पारदर्शिता कार्यान्वयन गरेको कारण सदस्यहरूले विश्वास गरेको बताउनुभयो ।
प्रशिक्षक एवं नेपाल राष्ट्र बैङ्कका पूर्वनिर्देशक श्यामकृष्ण दाहालले संस्थालाई सक्षम र अब्बल बनाउन विभिन्न तालिमहरूको आवश्यकता रहेको बताउनुभयो । उहाँले अन्य सहकारीहरूले नाफालाई मात्र ध्यान दिएका कारण नीति र विधिको कार्यान्वयनमा समस्या आएको औँल्याउनुभयो ।
सभापति एवं संस्थाका अध्यक्ष निर्मल प्रजापतिले तालिमबाट संस्थाको बचत सङ्कलन, ऋण प्रवाह र व्यवस्थापनमा परिवर्तन आउने बताउनुभयो । दुई दशकदेखि नै संस्थाले नीति बनाएर अघि बढेको स्मरण गर्दै उहाँले हाल त्यहीँ नीति तथा कार्यविधिबाटै संस्था सञ्चालन भएको औँल्याउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव जगनाथ प्रजापतिलगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन प्रशिक्षक दाहालले ‘सहकारीमा सम्पत्ति शुद्धीकरण : निवारणको आवश्यकता र प्रभावकारिता’ विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक प्रेम वाग्लेले सहकारी सिद्धान्त र असल अभ्यास र कार्ययोजना, बजेट निर्माण तथा समीक्षा विषयमा, सीए विदुर लुइँटेलले एनएफआरएसको परिचय, आवश्यकता र औचित्य तथा प्रभावकारिता विषयमा र दुर्गाप्रसाद ढकालले आन्तरिक नियन्त्रण/जोखिम व्यवस्थापन/ऋण व्यवस्थापन विषयमा शनिबार प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *