भर्खरै :

सिद्धि गणेश सहकारीद्वारा संस्थापकहरूको भेला

सिद्धि गणेश सहकारीद्वारा संस्थापकहरूको भेला
भक्तपुर, ३० असोज । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको आयोजनामा संस्थापकहरूको राय–सुझाव सङ्कलन गर्न खँचास्थित सिद्धि गणेश तालिम हलमा भेला सम्पन्न भयो ।
भेलामा संस्थाका अध्यक्ष विष्णुराम दुमरूले क्यान्सरलगायत गम्भीर रोगबाट पीडित तथा सहयोग आवश्यक पर्ने बिरामीलाई घरदैलो वा अस्पतालमै पुगेर सेवा र सहयोग उपलब्ध गराउने निर्णय कार्यान्वयन भइसकेको जानकारी दिनुभयो ।
उहाँले संस्थापक तथा सदस्यहरूलाई सूचना सम्प्रेषणका प्रभावकारी विधि अपनाउने र संस्थाको सुधारका लागि व्यक्तिगत रूपमा समेत सुझाव दिन आग्रह गर्दै सल्लाहकार समिति गठनका लागि थप छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।
उपाध्यक्ष ईश्वरमान दुमरूले संस्थापकहरूको योगदानको प्रशंसा गर्दै संस्थाका कमी–कमजोरी सुधार्न र सहकारी क्षेत्रमा देखिएका चुनौती सामना गर्न आपसी एकता तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सचिव रमेश दुमरूले संस्थाले नीति–नियम पालना गर्दै आएको उल्लेख गर्दै नियमनकारी निकायको ऋण लगानीमा सेवा शुल्क लिन नपाइने निर्देशन चुनौतीका रूपमा रहेको बताउनुभयो ।
कोषाध्यक्ष रामप्रसाद लाखाजुले संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिँदै आन्तरिक नियन्त्रण, कार्यविधि तथा नीतिहरूलाई प्रभावकारी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी विभागबाट प्राप्त सुधारसम्बन्धी सुझावबारे पनि चर्चा गर्नुभयो ।
भेलामा संस्थापक तथा पूर्वअध्यक्षहरू कृष्णगोविन्द लाखाजु र राजन लाखाजु, निवर्तमान अध्यक्ष रूद्रनारायण लाखा, निवर्तमान सचिव विष्णुप्रसाद दुमरूलगायत संस्थापकहरूले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *