भर्खरै :

विश्व अशान्त हुनुको मुख्य कारण संरा अमेरिका

विश्व अशान्त हुनुको मुख्य कारण संरा अमेरिका

भक्तपुर, ३० असोज । “संसारमा धेरै वर्षअगाडि मान्छेले मान्छेको मासु खान्थे । आज युग निकै अगाडि बढिसकेको छ तर संसारमा रगतको खोलो बग्न बन्द भएको छैन । विश्व अभैm अशान्त छ । त्यसको मुख्य कारण अमेरिकी साम्राज्यवाद हो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बाल विकास सेकेन्डरी स्कूलद्वारा आयोजित दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा शुक्रबार बताउनुभएको हो ।
अमेरिकाले इरान, गाजामा युद्ध थोपरेर मानवताविरुद्ध अपराध चालू राखेको उल्लेख गर्दै उहाँले साम्राज्यवादी अमेरिकाले विभिन्न बहानामा युद्ध थोपरेर संसार अशान्त बनाइरहेको प्रस्ट पार्नुभयो ।
समाज परिवर्तन गर्न समय लाग्ने भएकोले निरन्तर समर्पित भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले नयाँ पुस्तालाई सत्य र न्यायको पक्ष लिन सिकाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशको पक्षमा उभिने युवा कति तयार पा¥यौँ भन्नेबारे आत्मसमीक्षा आवश्यक भएको चर्चा गर्नुभयो । व्यक्तिगत स्वार्थमा नलाग्ने र गलत नगर्ने मानिसले जीवनमा कहिल्यै पश्चाताप गर्नु नपर्ने कुरा बताउँदै उहाँले शिक्षकहरूलाई बाटो नबिराउन र दोहोरो चरित्रको नबन्न सल्लाह दिनुभयो ।
मित्र र शत्रु चिन्न नसक्दा जीवनमा दुःख पाइने भन्दै उहाँले समयमै आफ्ना र पराइ चिन्न सक्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “विद्यालय जीवनमा शिक्षकहरूले उपलब्ध गर्नुभएका प्रेरणादायी पुस्तकहरू अध्ययन गरेर समाज परिवर्तनको निम्ति सङ्घर्षमा होमिएँ । अग्रज शिक्षकहरूले साह्रै कठिन जीवन रोज्दा पछुतो भयो कि भनी चासो देखाउनुभयो । जीवनमा ठुला सौख, स्वार्थ नराखी सरल जीवनशैली रोजेको हुनाले कहिल्यै पछुतोभाव पलाएन ।”
उक्त अवसरमा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले विद्यार्थी जीवनदेखि समाजसेवा, मानवसेवा तथा देशप्रेमको भावना सिकाउन नसक्दा जो सत्तामा पुगे पनि देशहितमा काम नगरेको बरु विदेशीकै पिछलग्गू बनेको बताउँदै विद्यार्थीहरूलाई सानो उमेरदेखि सामूहिक तथा सामाजिक भावना दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ पुस्तालाई आशावादी बन्न सिकाउनुपर्नेमा पनि जोड दिनुभयो ।
उहाँले शिक्षकहरू समाज परिवर्तनका संवाहक भएकाले अध्ययनशील बन्न र सिर्जनात्मक कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो । चाडबाडलाई रचनात्मक क्रियाकलाप गर्ने र अध्ययन अनुसन्धान गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिक्षकहरूलाई यस्ता कार्यमा लाग्न सल्लाह दिनुभयो । उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले लेख्नुभएको पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ ले सार्थकता पाउँदै गएकोमा खुसी व्यक्त गर्दै नयाँ पुस्ताले अझ मेहनत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले ख्वप विश्वविद्यालय स्वीकृति दिन तयार नभएकाहरू जनताका शत्रु भएको चर्चा गर्नुभयो ।
बौद्धिक समाज भक्तपुरका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले शिक्षक संवेदनशील हुनुपर्ने भन्दै विद्यार्थीलाई आफ्नो क्षमता चिन्न, आफूलाई नियन्त्रण गर्न, अरूको अस्तित्व स्वीकार गर्न तथा समाजमा घुलमिल हुन सिकाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षकमा राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयको गहिरो ज्ञान हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । दसैँ परम्परा मात्र नभई मानव जातिले सिर्जना गरेर संस्कृति र प्रकृतिको सुन्दर सङ्गम भएको धारणा व्यक्त गर्दै यसलाई रचनात्मक ढङ्गले भव्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संस्कृति भनेको नाचगान गर्ने, बाजा बजाउने, जात्रापर्व मनाउने मात्र नभई मानिसको सोच्ने, व्यवहार गर्ने र जीवन जिउने कला पनि भएकाले यसतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
ख्वप अस्पतालका निर्देशक मजेशप्रताप मल्लले शिक्षा क्षेत्रमा विकृति फैलिरहेको अवस्थामा बाल विकास स्कूलले आशा जगाएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई विध्वंश, विकृति तथा विसङ्गतिबाट टाढा राख्दै देशलाई माया गर्न र अग्रजलाई सम्मान गर्न सिकाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सीता प्रजापतिले स्वागत गर्नुभएको थियो । शिक्षकहरू शङ्कर आचार्य, सुलोचना छ्वाजु, सृष्टि प्रधान र चिनियाँ भाषा शिक्षिका राजमती र आसमतीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो भने सङ्गीत शिक्षक पुरुषोत्तम सुवाल, सुमन गैँडा, रियाज बासुकलालगायतले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयले स्टुडियो रेकर्ड गरी तयार पारेको नेपालभाषाको गीत ‘सिंहदरबारय् छाय् मी तया ?’ (सिंहदरबारमा किन आगो झोस्यौ ?) सार्वजनिकीकरण गरिएको थियो । गीतका सङ्गीतकार सुमन गैडा हुनुहुन्छ भने चन्द्रबहादुर श्रेष्ठ, रियाज बासुकला, दीपिका कुसीले स्वर दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *