भर्खरै :

सही विचारद्वारा निर्देशित सङ्गठित शक्तिले मात्र समाजमा परिवर्तन ल्याउने

सही विचारद्वारा निर्देशित सङ्गठित शक्तिले मात्र समाजमा परिवर्तन ल्याउने

भक्तपुर, १० जेठ । ख्वप कलेज अफ ल को आयोजनामा ‘क्यापासिटी डेभलपमेन्ट ट्रेनिङ अन इन्टरपर्सनल रिलेसनसिप एन्ड इन्गेजिङ टीम’ विषयक तीनदिने तालिम बिहीबारबाट सुरू भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा भएको उक्त तालिमको उद्घाटन सत्रमा उहाँले तालिमको सफलताको कामना गर्दै संस्थाको विकासको लागि शिक्षक तथा कर्मचारीहरूलाई निरन्तर तालिम दिनुपर्ने र तालिमबाट परिष्कृत शिक्षक/कर्मचारीहरूले नै संस्थाको विकासमा यथोचित योगदान दिन सक्षम हुने बताउनुभयो ।
विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिनुका साथै कार्यरत शिक्षक तथा कर्मचारीहरूको व्यक्तित्व विकास गराउनेतर्फ कलेज व्यवस्थापन पक्षले निरन्तर चिन्तन गरिरहनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
जीवनमा जति कमाइको महत्व छ, त्योभन्दा बढी सिकाइ महत्वपूर्ण हुने र समयअनुसार आफूलाई ‘अपडेट’ गर्नु आवश्यक भएको धारणा राख्दै प्रदेश सांसद गोसाईले पेसागत दक्षता अभिवृद्धि गरी समयअनुसार आफूलाई गतिशील र समाजलाई योगदान गर्न सक्नेले मात्र आत्मसन्तोष पाउने धारणा व्यक्त गर्नुुभयो ।
बुद्ध जयन्तीको सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो, “गौतम बुद्ध संसारलाई देखाउन लायक नेपाली दार्शनिक हुनुहुन्थ्यो; जुन नेपालको लागि गौरवको विषय हो । बुद्ध एक भौतिकवादी दार्शनिक तथा चिन्तक हुनुहुन्थ्यो ।”
संस्था, समाज र देशलाई अगाडि बढाउन असल र सही दृष्टिकोण भएको नेतृत्व चाहिन्छ, तर, अहिलेसम्म सिंहदरबारमा पुगेको नेतृत्वले त्यस्तो क्षमता देखाउन सकेन, उहाँले बताउनुभयो ।
सही विचारद्वारा निर्देशित सङ्गठित शक्तिले मात्र समाजमा परिवर्तन ल्याउने धारणा राख्दै प्रदेश सांसद गोसाईले भन्नुभयो, “व्यक्ति कुनै हालतमा विचारबाट अलग्ग हुने गर्दैन । यदि कसैले आफूलाई स्वतन्त्र ठान्छ भने त्यो सत्य हुनेछैन । मानिस सामाजिक प्राणी भएकैले ऊ कुनै एक विचारधाराबाट प्रभावित या निर्देशित हुने गर्छ ।”
स–साना प्रयासबाट राम्रो गर्न सकिने धारणा राख्दै उहाँले ‘ख्वप कलेज अफ ल’ लाई एक आदर्श सिकाइ केन्द्रको रूपमा विकास गर्न सुझाव दिनुभयो ।
वाग्मती प्रदेशसभाले देश विकासको लागि उपलब्धिमूलक कुनै काम गर्न नसकेको चर्चा गर्दै उहाँले प्रदेशसभाको मुख्य काम समय सुहाउँदो कानुन निर्माण गर्नुपर्ने हो तर, त्यो गर्न सकेको छैन भन्नुभयो ।
प्रदेश सरकारको नेतृत्व गर्ने व्यक्तिहरूमा देश र जनताको हितमा काम गर्नेभन्दा जस्तोसुकै कर्म गरेर भए पनि एक पटक मन्त्री बन्ने स्वार्थ रहेको र तिनीहरूमा निराशा बढी देखिएको उहाँले बताउनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “गल्तीबाट सिकेर अगाडि बढ्नु आवश्यक छ । सिद्धान्त, विचार र व्यवहारबाट जनतालाई सुसंस्कृत बनाई सङ्गठित गर्नु अहिलेको आवश्यकता भएकोले यसतर्फ शिक्षक कर्मचारीहरूले आ–आफ्नो तर्फबाट योगदान गर्नु आवश्यक छ ।”
तालिमका प्रशिक्षक विनोदकुमार विष्टले व्यवसायिक जीवन र व्यक्तिगत जीवनमा सामञ्जस्यता ल्याउन सक्नुपर्ने बताउनुभयो ।
आफूसँग भएको क्षमतालाई पहिचान गरी आफ्नो कमजोरीलाई सच्याई अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।
खराब सङ्गतले नकारात्मक धारणा बढाउने भएकोले सकारात्मक क्षमतालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले सहयोगीहरूलाई उत्प्रेरणा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उद्घाटन सत्रका सभापति एवं कलेजका प्राचार्य अनिता जधारीले तालिमले कार्यरत शिक्षक तथा कर्मचारीमा पुनर्ताजगी दिने र पारिवारिक वातावरण दिने अपेक्षा गर्नुभयो ।
तालिम सञ्चालनमा सहयोग गर्ने विश्वविद्यालय अनुदान आयोगलाई धन्यवाद दिँदै उहाँले ख्वप कलेज अफ लको स्थापना र उद्देश्यप्रति कार्यरत सबै शिक्षक तथा कर्मचारीले कलेजले लिएको उद्देश्य पूरा गर्न आ–आफ्नो तर्फबाट योगदान गर्नेछ भन्नुभयो ।
प्रशिक्षार्थीको तर्फबाट प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले तालिम अत्यन्तै फलदायी र ऊर्जाशील र ज्ञानबद्र्धक भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षक शिखा डंगोलले पनि बोल्नुभएको थियो । तालिम शुक्रबार र शनिबार पनि सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *