समयमा निवेदन दिएर जग्गा फिर्ता लिन आग्रह
- कार्तिक २, २०८३
भक्तपुर, १० जेठ । वागीश्वरी कलेज कमलविनायकको आयोजनामा ‘कार्यक्षेत्रमा तनाव व्यवस्थापनबारे तीनदिने कार्यशाला’ को नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा समुद्घाटन भएको छ । समारोहमा प्रमुख प्रजापतिले तनावबिनाको मान्छे नहुने चर्चा गर्दै तनावलाई व्यवस्थापन गरेर अघि बढेमा नै सफलता मिल्ने चर्चा गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रजापतिले भन्नुभयो, “ठुलो वा सानो, धेरै वा थोरै तनाव नभएको कोही मान्छे हुँदैन† जस्तोसुकै तनावलाई पनि यदि चुनौतीको रूपमा स्वीकारेर त्यसलाई उचित व्यवस्थापन गर्न सके सफलता त्यही मिल्ने हाम्रो अनुभव छ ।”
भक्तपुर क्यान्सर अस्पताल यस्तै तनाव व्यहोरेर आज सरकारी अस्पतालमा परिणत गरेको अनुभव सुनाउँदै उहाँले नयाँ–नयाँ प्रगतिको लागि हामी आफैले सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
सल्लाघारीको ९९ रोपनी जग्गा संरक्षण होस् वा सैनिक क्याम्पभित्रको रानीपोखरी संरक्षण होस् बिनातनाव त्यतिकै सफल भएका होइनन् भन्दै उहाँले समस्या समाधान गर्न तनाव हुन्छ भनेर पन्छिन नहुनेमा जोड दिनुभयो । उहाँले तनाव व्यवस्थापनमा धैर्यको खाँचो औँल्याउँदै जनताको सेवा गर्ने इमानदारी आफूमा भए ढिलो चाँडो सफलता मिल्ने विचार व्यक्त गर्नुभयो ।
पद र पैसाभन्दा जनताको सेवामा समर्पित हुने भावना नै आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले आत्मनिर्भर भएर अघि बढ्न सके धेरै तनाव व्यहोर्न नपर्ने चर्चा गर्नुभयो । दिनहुँ भनेझैँ देश विदेशका पाहुनाहरू भक्तपुरको सफलताबारे पाठ सिक्न आइरहेको चर्चा गर्दै उहाँले पाहुनाहरूबाट हामीले पनि पाठ सिक्ने अवसर पाएको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष रवीन्द्र ज्याख्वले तनाव आफैमा नकरात्मक नभएको हुँदा तनाव व्यहोरेरै प्रगति गर्ने हो भन्नुभयो । तनाव व्यवस्थापन गर्ने प्रगतिको आधार हो भन्दै उहाँले जिम्मेवार व्यक्तिको तनावबाट सेवाग्राहीमा नकारात्मक प्रभाव पर्न नहुनेमा जोड दिनुभयो । कतिपय अभिभावक र विद्यार्थीहरूका लागि शिक्षक कर्मचारीहरू आदर्श पात्र पनि हुने हुँदा तनावलाई नहड्बडाइकन समस्या सुल्झ्याउनुपर्ने उहाँले जोड दिनुभयो । तनाव व्यवस्थापन गर्न नसके त्यसले रोगसमेत निम्तिन सक्ने चर्चा गर्दै उहाँले समाजमा बस्दा आलोचना आत्मालोचनाको संस्कार बसाल्न सके तनाव व्यवस्थापन गर्न सकिने अनुभव सुनाउनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेज अफ म्यानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले पनि बोल्नुभएको थियो । कार्यक्रममा कलेजका अविना श्रेष्ठ र विकल प्रजापतिले पनि कार्यशालाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यशालामा डा. ऋषिराज बाराकोटी र उत्तम आचार्यले तनाव व्यवस्थापनबारे आवश्यक सहजीकरण गर्नुभएको थियो ।
Leave a Reply