भर्खरै :

कमलविनायक चोक व्यवस्थित गर्नु आवश्यक

कमलविनायक चोक व्यवस्थित गर्नु आवश्यक

मलाई कमलविनायक चोक धेरै नै व्यस्त र कोलाहलपूर्ण लाग्छ । हुन त भक्तपुरमा व्यस्त ठाउँ धेरै छन् । तर, मलाई कमलविनायक चोक अलि बढी व्यस्त र कोलाहल भएको ठाउँजस्तो लाग्छ । म बिहान ९ बजे विद्यालय जाने र साँझ ४ बजे विद्यालयबाट घर फर्कने बाटो त्यही पर्छ । दिउँसोको समय के कस्तो छ, थाहा भएन । बिहान ९ बजे र साँझ ४ बजे अफिस टाइम हो । सडक–चोकहरू व्यस्त हुन्छन् । तर, त्यो चोकका सडकमा बाटो काट्न र आवतजावत गर्न निकै कठिनाइ महसुस गर्छु । व्यस्त चोक त्यसमाथि झन् बटुवा हिँड्ने बाटोमा पसलका सामानहरू राखिएको हुन्छ । बाटोमा बाइक/गाडी पार्किङ गर्ने गर्दा बाटो निकै साँघुरो भई हिँड्नका लागि असहज र कठिनाइ भएको महसुस गर्छु । सायद म जस्तै अन्य विद्यार्थी र बटुवाहरू जो यही बाटो हुँदै आफ्नो गन्तव्य पुग्नुहुन्छ, उहाँहरूले पनि यस्तै महसुस गर्नुहुन्छ ।
भक्तपुरका कतिपय ठाउँहरू जस्तैः टौमढी क्षेत्र, क्यान्सर अस्पताल, भक्तपुर अस्पताल आदि क्षेत्रका सडकहरू नगर प्रहरीहरू खटेर उक्त ठाउँलाई अलि व्यवस्थित गरेको देखिन्छ । तर, कमलविनायक चोकनेर भक्तपुर नपा वडा नं. १० कार्यालय र ट्राफिक वित्त अगाडि भए तापनि सडक व्यवस्थापन भइरहेको छैन । अव्यवस्थित समस्या समाधानको लागि भक्तपुर नगरपालिका र ट्राफिक प्रहरीले समन्वय गरी सडक व्यवस्थापन गरे सम्पूर्ण बटुवाहरूले हिँड्डुल र आवतजावत गर्न सहज महसुस गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *