भर्खरै :

जनताको मत र विश्वास सही पार्टीप्रति हुनुपर्छ

सिद्धान्त, विचार र बोलीवचनमा ठेगान नभएका शासक दलका नेताहरू जस्तोसुकै युद्ध र आन्दोलनबाट आए पनि उनीहरू कुनै विदेशी दलाल बने; कुनै विदेशी शक्ति राष्ट्रका पिछलग्गू भए । एक समय बन्दुक पड्काएर सरकारलाई थर्काउने माओवादीहरू कहिले एमालेको पछि लागेर त कहिले नेकाको पछि लागेर सरकारको नेतृत्व गरिरहे । सिद्धान्त र विचारमा अडान नभएकै कारण देशको सरकार अस्थिर बनिरहेको हो । विगतको कमी कमजोरी औँल्याएर देश र जनताको पक्षमा सही राजनीति नगर्दा, राजनीतिक जीवन पद्धतिको संस्कार नबसाल्दा जनता वाक्कदिक्क भइसकेका छन् । शासकहरूको अदूरदर्शिता, गैरजिम्मेवारपन, दलगत र व्यक्तिगत स्वार्थ, भागबन्डा र सिद्धान्तहीन गठबन्धनको सरकारले गर्दा देशमा भ्रष्टाचार, अनियमितता र अराजकता बढ्यो । तर, पनि देशका कति बुद्धिजीवी, लेखक र राजनीतिक विश्लेषकहरू तमासे भएर बसे या केही बोलेनन् ।
सत्तामा जान पाए, सरकारको नेतृत्व गर्न पाए दलको सिद्धान्त र विचारको धज्जी उडाउने, दल फुटाउन र अन्य पार्टीमा प्रवेश गर्न पछि नपर्ने देशका शासक र दलका नेताहरूको भरमा देशमा सुशासन सम्भव छैन । सत्तासीन पार्टीले देशघाती सन्धि तथा सम्झौता, सिद्धान्तहीन गठबन्धन सरकार गठन र सिद्धान्तहीन चुनावी गठबन्धन गरे पनि, पार्टीका नेताहरू भ्रष्टाचार र अनियमिततामा फसे पनि ती शासक र नेताहरू किन बोल्दैनन् ? के ती शासक दल र ठुला दलभित्र सिद्धान्त र विचारको सही राजनीति गर्ने दलका नेताहरू कोही छैनन् ? शासक दलका नेता, मन्त्री र सांसदहरूले जस्तो गलत काम गरे पनि थुक निलेर बस्नुपर्ने बाध्यता तिनीहरूलाई कसरी भयो ? बेथितिविरुद्ध के सङ्घर्ष गर्नुपर्दैन ? राजनीतिमा भाँडभैलो मच्चाउने, दल फुटाउन पाएपछि र आफ्नो दलमा नेता, कार्यकर्ता प्रवेश गराउन पाएपछि खुसी हुने दलका नेताहरूले समाज परिवर्तन गर्नुपर्ने कुरा भुले ।
देश परनिर्भर हुँदै छ । मुलुकको आर्थिक स्थिति बिग्रँदो छ या दयनीय छ । कर्मकाण्डको बजेट ल्याउने सरकार जिम्मेवारीपूर्ण ढङ्गले अघि बढिरहेको छैन । कृषिमा सुधार र उन्नतिको कार्यक्रम ल्याइएन । खेतीपाती गर्ने युवाहरूको विदेश पलायन रोकिएको छैन । युवाहरूलाई स्वदेशमै काममामको व्यवस्था गर्न सकिएको छैन । उच्च शिक्षा हासिल गरेका योग्य, सक्षम नागरिकहरूलाई काम दिन सकिएको छैन । योग्यताअनुसार काम र कामअनुसारको ज्याला दिन सकिएको छैन । शासकहरू इमानदार भएनन्; उनीहरू जिम्मेवार भएनन् भन्ने जनताको गुनासो सेलाएको छैन । सत्ता पक्षधरहरू मुलुकको ढुकुटी स्वाहा पार्न, विकासको रकममा दाइँ गर्न लाग्दा शासकहरूप्रति जनताको विश्वास गुम्दै गएको हो† देशमा थिति बसाल्न नसकेको हो ।
पार्टी ठुलो भए पनि सही बाटो र सही नीति लिएन भने, सर्वहारावादी दृष्टिकोण या बहुमत जनताको पक्ष लिएन भने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवादको उद्देश्य पूरा हुनेछैन । यसकारण, सबै कम्युनिस्टहरू सच्चा माक्र्सवादी–लेनिनवादी हुनुपर्छ । माक्र्सवाद र लेनिनवादको साइनबोर्ड झुन्ड्याएर ख्रुश्चेभको जस्तो संशोधनवादी बाटो आत्मसात गर्नुहुँदैन । उनीहरू जनताको सेवा गर्ने क्रान्तिकारी हुनुपर्छ । ख्रुश्चेभजस्ता महत्वाकाङ्क्षी र षड्यन्त्रकारीहरूप्रति पार्टीका नेताहरू सचेत हुनुपर्छ । नेता तथा कार्यकर्ताहरू नम्र र विवेकी हुनुपर्छ । उनीहरूमा गल्ती सच्याउने आँट हुनुपर्छ, स्वआलोचनाको भावना हुनुपर्छ । हरेक नेता तथा कार्यकर्ता सङ्गठनको उद्देश्य, सिद्धान्त र विचार देशभरि पु¥याउन लागिरहनुपर्छ । राजनीतिकरूपले दूरदर्शी, त्यागको गहिरो भावना भएका कुशल नेता तथा कार्यकर्ताले सही दिशा निर्देश गर्छ । शासक या नेताहरू स्वार्थी, व्यक्तिवादी, आडम्बर, आलस्यबाट वञ्चित हुनुपर्छ । पार्टी अनुशासन पालना गर्ने हुनुपर्छ । उनीहरू सक्रिय, मेहनती र निःस्वार्थी हुनुपर्छ ।
पार्टी ठुलो र सानोको होइन† त्यो पार्टीले कुन वर्गको सेवा गरेको छ, त्यो महत्वपूर्ण हुन्छ । देशमा कहिले नेका, कहिले एमाले त कहिले माओवादी ठुलो पार्टी बनेकै हो । तर, कुनै पनि ठुलो पार्टीले देश र जनताको पक्षमा राम्रो काम गरेनन् । सरकारको नेतृत्व गर्न या सत्ता चलाउनमात्र ठुलो भएर के गर्ने ? अतः दल ठुलो र सानोभन्दा त्यो दलको सिद्धान्त र विचार महत्वपूर्ण हो । सिद्धान्त र विचारमा खोट भयो भने देश र जनतालाई दूरगामी असर पर्ने खालको काम गर्दैन भन्न सकिँदैन । ठुलो दलको नेतृत्वमा बनेको सरकारले नै देशघाती सन्धि सम्झौता गरेको हो । यसकारण, नेपाली जनताको मत र विश्वास सही पार्टीप्रति हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *