भर्खरै :

बजेट तर्जुमाका लागि महिला प्रतिनिधिहरूसँग रायसुझाव सङ्कलन

बजेट तर्जुमाका लागि महिला प्रतिनिधिहरूसँग रायसुझाव सङ्कलन

भक्तपुर, २३ जेठ । भक्तपुर नपाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि बुधबार भक्तपुरका महिला प्रतिनिधिहरूसँग रायसुझाव सङ्कलन कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरका सबै वडाहरूबाट १०/१० जना महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भेलाबाट प्राप्त सुझावले सिङ्गो नगरको सन्तुलित विकासमा टेवा पुग्ने बताउँदै महिलाहरूको विषयमा नवीनत्तम कार्यक्रमहरू अगाडि ल्याउने उद्देश्यले नपाले काम गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा अन्य स्थानीय तहको तुलनामा पृथक शैलीले अगाडि बढिरहेको नगरपालिका भएको बताउँदै उहाँले नगरवासी युवाहरूको लागि युवा उद्यमशीलता ऋण प्रदान गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनुभयो ।
भक्तपुरले शिक्षा क्षेत्रमा भएका नवीनत्तम प्रयासबाट भक्तपुरका महिलाहरूले साक्षर र शिक्षित हुने अवसर पाएको बताउँदै उहाँले नगरबासीहरूको रचनात्मक सल्लाहसुझावले भक्तपुर नगर देशकै अनुकरणीय नगर बन्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले जनमुखी कार्यक्रमलाई अगाडि सार्दै आएको बताउँदै भक्तपुरलाई शिक्षाको केन्द्र बनाई समाजलाई सामाजिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रबाट अगाडि बढाउने लक्ष्यमा काम गरिरहेको बताउनुभयो ।
महिला, बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले समितिले युवा तथा महिलाहरूलाई आवश्यक जीवनउपयोगी तालिम सञ्चालन गर्दै नगरवासीहरूको जीवनस्तर उकास्न मद्दत पु¥याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित महिला प्रतिनिधिहरूले भक्तपुर नपाले सञ्चालन गरिरहेको सीपमूलक तालिमको प्रभावकारिता अनुगमन गरी रोजगारीका अवसरहरू उपलब्ध गराउनुपर्ने, महिलाहरूलाई मानसिक स्वास्थ्यबारे परामर्श आवश्यक भएको, महिला उद्यमशीलताबारे तालिमहरू सञ्चालन गर्नुपर्ने, पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पी.भी. खोपको लागि पहल गर्नुपर्ने, ग्यास चुलो र वासिङ मेसिन मर्मतको तालिम सञ्चालन गर्नुपर्ने, खानेपानीको सन्तुलित वितरण प्रणाली बनाइनुपर्ने, सबै वडाहरूमा आदर निकेतन दिवा सेवा सञ्चालन हुनु उपयुक्त हुने, आवश्यकताको आधारमा उद्यमशीलता ऋण प्रवाह गर्नुपर्ने, वडा वडामा रहेका शारीरिक व्यायामसँगै थेरापी मेसिनको व्यवस्था गर्न सकिने आदि सुझावहरू राखेका थिए ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *