भर्खरै :

नवदुर्गा देवगणको आज देवाली पूजा (स्वं छा)

नवदुर्गा देवगणको आज देवाली पूजा (स्वं छा)

ऐतिहासिक भक्तपुर नगरको प्रसिद्ध जीवितरूपमा पुजिने नवदुर्गा देवगण जात्राको देवाली पूजा (स्वं छा) अर्थात् देवगणको कुल देवता पूजा परम्पराअनुसार हुँदै आएको हो । यो देवाली पूजा आज बिहीबारको दिन नवदुर्गा मन्दिर गछेँस्थित सम्पूर्ण देवगणहरूका साथ गरिन्छ । विभिन्न फूलको तोलन (स्वं खचा) बनाएर रङ्गीचङ्गी फूलको माला र पूजाका सामग्रीहरू तयार गरी देवाली पूजा हुन्छ । देवालीको दिन परम्पराअनुसार आफ्नो घर परिवारबाट घरमा सफा शुद्ध गरी मूल पूजा तयार गरी प्रत्येक देवगणले बलिको रूपमा भाले चढाउने चलन छ । आफ्नो क्षमताअनुसारको नित्य कर्मको साधना गर्दै पूजा शुभारम्भ हुने गर्छ । यस दिन बिहानदेखि देवताका मकुन्डोहरू चोकमा विराजमान गरिन्छ । मन्दिरभित्र खिं बाजा, तं बाजा, कंस बाजा, भैरव, महाकाली, बाराही, कुमारी, धोम्हा पोमी, दातिम्हा पोमी, झिम्हा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली आदिको मन्दिरका पूजारी नकिंबाट मूल पूजा हुन्छ । यस पूजामा भेडा बलि दिइने चलन छ । पूजा गर्ने क्रममा भैरव, काली र बाराही तीन जना देवगणले सेतो जामा (घाजीनं) पहिरण गरी मन्दिरको चोकमा देवताहरूलाई पूजा गर्छन् । किंवदन्तीअनुसार नवदुर्गाको देवाली पूजाको दिनदेखि मनसुन वर्षा हुने जनविश्वास छ । देवाली पूजा गर्ने परम्परा मातृ समाप्ति कालदेखि सुरु भएको देखिन्छ । सोही दिन देवगणका सम्पूर्ण परिवारले प्रसाद ग्रहण गर्छन् । पूजामा विभिन्न परिकारमध्ये अण्डा, बारा, चतामारी, जाँड, रक्सी, सम्हेबजी, मासुको परिकार, गोजा, अछेता, फूलका माला, फलफूल, सतुङ चढाउनुपर्ने मान्यता छ । आठ दिनपश्चात् यस वर्षको नवदुर्गा देवगणको माछा मार्ने जात्रा दरबार क्षेत्रको इछु टोलमा गरिन्छ । त्यसको आठ दिनपछि तलेजु मूलचोकमा सिं जा नकेगु (अन्तिम भोज) असार ११ गते कालरात्रिको दिन नाच सम्पन्न गरिन्छ । सोही लगत्तै असार १५ गते शनिबार भलभल अष्टमीको दिन भक्तपुर नगर परिक्रमा गरी वडा नं. ९ ब्रह्मायणी पीठमा नाय्खिं बाजाको साथमा मकुन्डो जलाउने (जले बिज्याकेगु) गरी यस वर्षको नवदुर्गाको जात्रा सम्पन्न गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *