प्यालेस्टिनी महिलाले इजरायली जेलमा भोगेको दुव्र्यवहार र अपमानजनक अवस्थाबारे बयान
- आश्विन २९, २०८३
भक्तपुर नगरपालिका क्षेत्रफलको हिसाबले नेपालकै सानो र पुरानो नगरपालिकामध्ये एक हो । २००६ सालमा स्थापना भएको यस नगरपालिका सङ्घीय राजधानी काठमाडौँबाट १३ कि.मि. पूर्वमा अवस्थित ६.८८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सांस्कृतिक नगर हो । काठमाडौँ उपत्यकाका आदिवासी जनजाति नेवारहरूको मुख्य बसोबास रहेको काठमाडौँ, ललितपुर र भक्तपुर सहरहरूमध्ये भक्तपुर सबैभन्दा पुरानो नगर पनि हो । १२ औँदेखि १५ औँ शताब्दीसम्म नेपालमण्डलको राजधानी सहर रहेको भक्तपुर १८ औँ शताब्दीसम्म एउटा छुट्टै राज्य थियो । मध्यकालीन वास्तु र सम्पदाको लागि अत्यन्त महत्वपूर्ण भक्तपुर मौलिक नेवारी जात्रा पर्व जीवन शैलीको लागि पनि एक महत्वपूर्ण नगर हो । नाचगानको राजधानीको रूपमा प्रख्यात भक्तपुर नगरपालिका मूर्तमात्र होइन अमूर्त सम्पदाहरूका लागि पनि प्रसिद्ध छ ।
१५ वर्षसम्म जनप्रतिनिधिविहीन अवस्थापछि २०७४ सालको स्थानीय तहको निर्वाचनबाट सबै स्थानीय तह जनप्रतिनिधिको नेतृत्वमा पुनः सञ्चालनमा आयो । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका शतप्रतिशत जनप्रतिनिधिहरू निर्वाचित हुनुभयो । निर्वाचनको दौरानमा जारी गरेका घोषणापत्र र प्रतिबद्धताअनुसार स्थानीय तहलाई क्रियाशील बनाइयो । जनप्रतिनिधिहरूले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनःनिर्माणलाई प्राथमिकतामा राख्नुभयो । उहाँहरूले जनताका आधारभूत आवश्यकताहरू शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माण, सम्पदा संरक्षण र सामाजिक विकासका विभिन्न गतिविधिमा विभिन्न कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्दै जानुभयो । नेपालको संविधानले प्रदान गरेका अधिकारलाई प्रयोग गर्दै स्थानीय तहले सम्पादन गर्नुपर्ने विभिन्न क्षेत्रका लागि आवश्यक ऐन, नियम, निर्देशिका र कार्यविधिहरू तयार गर्दै नगरपालिकाको कामलाई अगाडि बढाउँदै लगियो । मितव्ययिता, आर्थिक अनुशासन र पारदर्शितालाई विशेष प्राथमिकतामा राख्दै विभिन्न प्रकाशन र प्रसारणलाई अगाडि बढाइयो । भक्तपुर नगरपालिकाले नेपालको संविधान जारी भएपछि स्थानीय तहमा निर्वाचनपश्चात् नेपालको संविधान (२०७२) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको कानुनी अधिकारहरूको सदुपयोग गर्दै विगत ६ वर्षमा सम्पन्न गरेका केही महत्वपूर्ण कामहरूलाई निम्नानुसार बुँदागतरूपमा यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।
शिक्षा
भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ अभियानलाई पूर्णता दिने उद्देश्यका साथ २०५६ मा ख्वप उमावि स्थापना गरी शैक्षिक अभियान सुरु गरेको थियो । हाल दुई वटा इन्जिनियरिङ कलेजसहित उच्च शिक्षा प्रदान गर्ने आठ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा छन् ।
भक्तपुर नगरपालिकाले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । गरिब र जेहेनदार विद्यार्थीहरूका लागि वार्षिक चार करोडभन्दा बढी रकम बराबरको छात्रवृत्तिको व्यवस्था र गरिब विद्यार्थीहरूलाई ६.५ लाखसम्मको शैक्षिक ऋण प्रदान गर्दै आएको छ । गरिबीको कारण कुनै पनि नगरवासी उच्च शिक्षा पाउनबाट वञ्चित हुनपर्ने अवस्था भक्तपुरमा छैन । हाल करिब पाँच सय विद्यार्थीहरू नगरपालिकाको शैक्षिक ऋणमा उच्च शिक्षा हासिल गरिरहेका छन् । इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा, अर्थशास्त्र, दर्शन शास्त्रलगायतका विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि स्नातक तहदेखि विद्यावारिधि तहसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
भक्तपुर नगरपालिकाले नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूबिच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धाको नीति लिएको छ । सामुदायिक विद्यालयहरू विगतको तुलनामा गुणस्तरमा निकै सुधार आएको छ । नगरपालिकाले छुट्टै परीक्षा समिति गठन गरी कक्षा ५, ८ र १० (पूर्व एसईई) को नगरस्तरीय परीक्षाको व्यवस्था गर्दै आएको छ । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई लागु गरिएको छ । समय समयमा अन्तरविद्यालय खेलकुद, चित्रकला, वक्तृत्वकला प्रतियोगिताजस्ता शैक्षिक क्रियाकलाप पनि गर्दै आएको छ । पठन संस्कृतिको विकासको लागि नगरस्तरीय जनज्योति पुस्तकालयको व्यवस्था गरिएको छ । त्यसको स्तरोन्नत्ति गर्दै ई–पुस्तकालयको व्यवस्था गरिएको छ । साथै नगरभित्र रहेका सबै सामुदायिक पुस्तकालयहरूको भौतिक सुधारको लागि आर्थिक सहयोग र वडा वडामा पुस्तकालयहरूको नियमित सञ्चालन गरी पठन संस्कृतिको विकासको नीति अवलम्बन गर्दै आएको छ ।
स्वास्थ्य
नेपालको संविधानमा व्यवस्था भएबमोजिम देशलाई समाजवादउन्मुख दिशामा अगाडि बढाउन भक्तपुर नगरपालिकाले स्वास्थ्यमा सर्वसाधारण जनताको सहज पहुँच पु¥याउन पहिलेदेखि यसमा लगानी गर्दै आएको छ । यसै क्रममा भक्तपुर नगरपालिकाले सय शøयाको ख्वप अस्पताल सञ्चालनमा ल्याएको छ । नगर अस्पतालले हाडजोर्नी, स्त्रीरोग, बालरोग, दन्तरोग, नाक, कान घाँटी, छालालगायतका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ भने अल्ट्रासाउन्ड, एक्स रे, प्रयोगशालालगायतका सुविधाहरू न्यून शुल्कमा प्रदान गर्दै आएको छ । दैनिक आठ सत्न्दा बढी बिरामीलाई सेवा दिँदै आएको ख्वप अस्पतालले आ.व. २०७९÷८० मा ७० जिल्लाका २ लाख २० हजारभन्दा बढी बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ रोग रोकथाम, नियन्त्रण र उपचारको लागि भक्तपुर नगरपालिकाले आवश्यक खोपको व्यवस्था, प्रचारप्रसार र सङ्क्रमितहरूको उपचारको लागि ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरी कोभिड–१९ बाट सङ्क्रमित ४५५ जना बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्यो । यसका साथै भक्तपुर नगरपालिकाले नगरवासीहरूको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरी सम्पूर्ण नगरवासीहरूलाई निःशुल्क अक्सिजन र निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । वडा वडामा चिकित्सकसहितको स्वास्थ्य केन्द्र स्थापना गरी सम्पूर्ण नगरवासीहरूलाई २० मिनेटभित्र स्वास्थ्य उपचारको सुविधामा पहुँच पुग्ने सुनिश्चितता प्रदान गर्दै आएको छ ।
नेपालमै पहिलोपटक भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा सुरु गर्यो र जनताको घरघरमा पुगी आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउँदै आएको छ । यस नगरपालिकाबाट दम खोकीका बिरामीहरूका लागि श्वासप्रश्वास पुनस्र्थापन केन्द्रमार्फत सेवा प्रदान गर्दै आउनुका साथै नगरपालिकाकै व्यवस्थापनमा ख्वप तिलगङ्गा आँखा अस्पतालबाट आँखाका बिरामीहरूलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । नगरस्तरीय नागरिक आरोग्य केन्द्रको लागि आवश्यक औषधिको व्यवस्था गरी आयुर्वेदिक उपचार सेवा पनि प्रदान गर्दै आएको छ ।
कडा रोग लागेका नगरवासी बिरामीहरूको लागि प्रतिव्यक्ति रु. १५,०००।– का दरले आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यसका साथै प्रत्येक वर्ष यस नगरपालिकाका १० ओटै वडाहरूमा नियमित स्वास्थ्य शिविरहरू (पाठेघर र स्तन क्यान्सर, दन्त रोग, हाडजोर्नी, आँखा) सञ्चालन गरी स्वास्थ्य सुविधा प्रदान गर्दै आएको छ ।
सम्पदा तथा कला संस्कृति संरक्षण
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने भक्तपुर नगरपालिकाको नारालाई सार्थक बनाउने क्रममा २०७२ को भूकम्पले क्षति पु¥याइएका थुप्रै सम्पदाहरूको स्थानीय जनताको सहभागिता र सहयोगमा पुनर्निर्माण र जीर्णोद्वार सम्पन्न गरियो । २०७२ सालको भूकम्पपछि हालसम्ममा १३४ ओटाभन्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार गर्ने कार्य सम्पन्न गरिसकेको छ भने दर्जनौँ सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य चालु छ । जसमध्ये वत्सला मन्दिर, ङातापोल मन्दिर, भैरवनाथ मन्दिर, बेताल मन्दिर, न्हुपुखु (रानी पोखरी) आदि जीर्णोद्धार सम्पन्न मुख्य सम्पदाहरू हुन् । नगरका अमूर्त सम्पदाहरू संरक्षणका लागि भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष एउटा सांस्कृतिक विधाको प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष गुन्हीपुन्ही सापारुमा प्रस्तुत गरिने परम्परागत र आधुनिक सांस्कृतिक विधाहरू र घिन्ताङघिसी प्रतियोगिता गरी विजयी सांस्कृतिक समूहहरूलाई पुरस्कृत गर्दै आएको छ । नगर क्षेत्रमा रहेका सांस्कृतिक समूहहरूलाई विभिन्न अवसरहरूमा आर्थिक र भौतिक सहयोग प्रदान गर्दै सांस्कृतिक समूहहरूको संरक्षण, संवद्र्धन र प्रवर्धन गर्दै आएको छ । अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न महत्वपूर्ण योगदान गर्ने सांस्कृतिक गुरुहरूलाई कार्यक्रमको आयोजना गरी सम्मान गर्दै आएको छ । पुरानो नगर क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने घर धनीहरूलाई मोहडामा प्रयोग हुने काठ, इँटा र झिङ्गटीमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रोत्साहनस्वरूप प्रदान गर्दै आएको छ । यसले नगरको पुरानो स्वरूपलाई कायम गर्न विशेष मद्दत पुगेको छ ।
खेलकुद
भक्तपुर नगरपालिकाले स्थानीय तहको निर्वाचनपश्चात् हरेक वर्ष एउटा खेलको अन्तरनगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । भलिबल, कराँते, एथलेटिक्स, बुद्धिचाल र खोखो खेलको अन्तरनगर खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको छ । नगरवासी युवा विद्यार्थीहरूका लागि नियमितरूपमा भलिबल, फूटबल, कराँते बक्सिङ, टेबलटेनिस र जिम्नास्टिकको प्रशिक्षण प्रदान गर्दै आएको छ । खेलाडीहरूको प्रोत्साहनको लागि हरेक वर्ष खेलाडी सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ । शारीरिक व्यायाममा प्रत्येक नागरिकको सहज पहुँच पु¥याउन नगरका विभिन्न २३ स्थानहरूमा खुला व्यायामशालाको व्यवस्था गरिएको छ ।
सामाजिक विकास
भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई स्वरोजगार प्रदान गर्न विभिन्न किसिमका रोजगारमूलक तालिम र भाषा प्रशिक्षण प्रदान गर्दै आएको छ । पाक शिक्षा, आधारभूत तथा एडभान्स सिलाइ, बुटिक, हेयर कटिङ, काष्ठकला, सिलाइ मेसिन मर्मत, फोटोग्राफी, रेडियो प्रस्तोतालगायतका सीपमूलक तालिम र पर्यटन उद्योगसँग सम्बन्धित पथ प्रदर्शक, जापानी, चिनियाँलगायतका भाषाको तालिम प्रदान गर्दै आएको छ । यसका साथै कृषिसम्बन्धी कृषि प्राविधिक तालिम, बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम र कौसी खेती तालिमलगायतका तालिमहरू पनि सञ्चालन गर्दै आएको छ । भक्तपुर नगरपालिकाले नगरका वडा वडामा शिशु स्याहार सञ्चालन गरिरहेको छ भने ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन सञ्चालनको क्रममा रहेको छ ।
सुशासन तथा पारदर्शिता
सुशासनको लागि नगरपालिकाले आवश्यक कानुनहरू निर्माण गर्दै कार्य सम्पादन गर्दै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पहिलो कार्यकालमा ११ वटा र दोस्रो कार्यकालमा तीन वटा गरी भक्तपुर नपाले १४ वटा नगरसभाहरू सम्पन्न गर्यो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको आवश्यकताअनुसार नगर सभा र कार्यपालिकाबाट २५ वटा ऐन, तीन वटा नियमावली, ६ वटा विनियम, १३ वटा कार्यविधि, नौ वटा निर्देशिका र एक वटा नीति गरी हालसम्म ५७ वटा कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले मितव्ययिता, आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्ना विकास निर्माण सम्पदा संरक्षणलगायत अन्य विभिन्न कार्यक्रम र योजनाहरू सञ्चालन गर्दै आएको छ । यसको लागि भक्तपुर नगरपालिकाले नियमितरूपमा मासिक भक्तपुर पत्रिका, पाक्षिक ख्वप पौ, अनलाइन पत्रिका भक्तपुर खबर डटकम, फेसबुक भक्तपुर म्युनिसिपालिटीमार्फत नगरपालिकाका सबै गतिविधिहरू सार्वजनिक गर्दै आएको छ । साथै महत्वपूर्ण सम्पदाहरू जीर्णोद्वार सम्पन्न गरेपछि सोको सम्पूर्ण आयव्यय र निर्णयहरू पारदर्शी गर्न सम्पदासँग सम्बन्धित पुस्तकहरू पनि प्रकाशन गर्दै आएको छ । भैरवनाथ मन्दिर जीर्णोद्वार २०७६, सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार २०७७, ङातापोल्ह जीर्णोद्धार २०७७, नृत्य वत्सला मन्दिर जीर्णोद्धार २०७८, न्हु पुखु (रानीपोखरी) २०७८ आदि मुख्य प्रकाशनहरू हुन् । यसका साथै भक्तपुर नगरपालिकाले ख्वप एफ.एम. सञ्चालन गरी रेडियोमार्फत पनि नगरपालिकाका गतिविधिहरू सार्वजनिक गर्दै आएको छ भने ख्वप टेलिभिजन सञ्चालनको लागि गृहकार्य भइरहेको छ ।
पर्यटन
भक्तपुर नगरपालिकाको आन्तरिक आयको प्रमुख स्रोत पर्यटन हो । आर्थिक वर्ष २०७९÷८० मा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरे । ती पर्यटकहरूबाट रु. १८ करोड ४० लाखभन्दा बढी राजस्व सङ्कलन गरियो । यसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाखभन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु. ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ । भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न भक्तपुर नगरपालिकाले पर्यटन प्रवर्धन, पूर्वाधार निर्माण, पर्यटक सेवा र सूचनामा विशेष जोड दिँदै विभिन्न क्रियाकलापहरू गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरका सम्पदाहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको छ । भक्तपुर नगरपालिकाले पर्यटकहरूलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिकरूपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित पर्यटक विश्रामस्थलको सुविधाको व्यवस्था गर्दै आएको छ । स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय पर्यटक पथप्रदर्शकहरूलाई आवश्यक तालिम दिई व्यवस्थापन गर्दै आइरहेको छ ।
भक्तपुर नगरपालिकाका समय–समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालीन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरूलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरूसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको छ । विश्व पर्यटन दिवस, विश्व सम्पदा दिवस, पर्यटक पथप्रदर्शक दिवसजस्ता अवसरहरूमा नियमित कार्यक्रमहरू सञ्चालन गर्नुका साथै भक्तपुरको कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण गर्ने समूहहरूलाई आर्थिक सहयोग र सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमसमेत गर्दै आएको छ । यस नगरपालिकाको सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गर्ने तयारी गरिरहेको छ । पर्यटन प्रवर्धनका लागि योम्हारी प्रदर्शनी, प्रगतिशील भजन प्रतियोगिता, घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू सञ्चालन गर्दै चालु आर्थिक वर्षमा त्यसलाई निरन्तरता दिने नगरपालिकाको योजना छ ।
सरसफाइ
सरसफाइ भक्तपुर नगरपालिकाको अर्को महत्वपूर्ण कार्य हो । भक्तपुर नगरलाई नियमितरूपमा सफा राख्न घरघरबाटै कुहिने र नकुहिने फोहोर अलग अलग सङ्कलन गर्दै आएको छ । दैनिक करिब ३० टनको फोहोर उत्पादन हुने अनुमान गरिएकोमा कुहिने फोहोरबाट सी.एन.बी.एम. प्रविधिबाट कम्पोस्ट मल उत्पादन गरी सहुलियत दरमा कृषकहरूलाई मल वितरण गर्दै आएको छ । नकुहिने फोहोर र पुनः प्रयोग गर्न मिल्ने प्लास्टिकजन्य र धातुलगायतका विभिन्न सामाग्रीहरू छुट्याई बाँकी फोहोरलाई सुरक्षित ढङ्गले विसर्जन गर्ने गरिएको छ । एक विद्यालय एक सम्पदा सरसफाइ, एक सहकारी एक क्षेत्र सरसफाइको नीति कार्यान्वयनको साथै जनप्रतिनिधि, कर्मचारी, विद्यालय, टीम, क्लवहरूको सहभागितामा सरसफाइ कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
निष्कर्ष
भक्तपुर नगरपालिकामा वैज्ञानिक समाजवादका पक्षधर नेपाल मजदुर किसान पार्टीका जन प्रतिनिधिहरू कार्यरत हुनुहुन्छ । उहाँहरूले स्थानीय तहको निर्वाचनको बेला घोषणापत्रमार्फत जनतालाई दिएको वचनअनुसार काम गर्दै आउनुभएको छ । समाजवादी व्यवस्थामा जन्मदेखि मृत्युसम्म नागरिकहरूको जिम्मेवारी राज्यले लिएको हुन्छ । नेपालको संविधान र कानुनको परिधिभित्र रही ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन, वडा वडामा शिशु स्याहार केन्द्रहरूको व्यवस्था र नपाअन्तर्गत सबै विद्यालयहरू सञ्चालन तथा जनताका छोराछोरीहरूलाई सस्तो र गुणस्तरीय उच्च शिक्षा अध्ययनको लागि कलेजहरूसमेत सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको बन्दोबस्त र अन्तिम संस्कारको लागि नगरपालिकाले सुधारिएको शवदाह गृहहरू निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यसरी भक्तपुर नगरपालिका समाजवादी विचारअनुसार जन्मदेखि मृत्यु हुँदासम्मको आवश्यक कार्य गर्दै संविधानको भावनाअनुसार समाजवादउन्मुख राज्य विकासको लागि स्थानीय तहमा कार्य गर्दै आएको छ ।
साभार : नेपाल द्वैमासिक, असोज–कार्तिक २०८०
Leave a Reply