भर्खरै :

भाजपाप्रति जनताको विश्वास घटेको आकलन

भाजपाप्रति जनताको विश्वास घटेको आकलन

भारतीय जनता पार्टीले गएको लोकसभाको निर्वाचनमा अत्यधिक बहुमत पाउने आकलन गरेको थियो । चुनावमा जनतालाई त्यही विश्वास बाँडेको थियो । तर, निर्वाचनको परिणामले त्यो आशालाई निरर्थक बनायो । भारतीय जनता पार्टीले निर्वाचनमा बहुमत नपाएपछि राजनीतिक विश्लेषकहरूले अनेक टिप्पणी गरे । निर्वाचनको यस परिणामलाई नरेन्द्र मोदीको प्रधानमन्त्रीरूपी अधिनायकत्वको अस्वीकृत भएको बताइयो । भाजपाले पैसा फालेर, शक्तिको दुरूपयोग गरेर मतदाताको विश्वास जित्ने प्रयास गरे पनि जनताले मोदीलाई विश्वास नगरेको आकलन गरियो । सन् २०१४ र २०१९ मा बहुमत ल्याएको भाजपाले यो निर्वाचनमा ल्याउन सकेन । २०१४ को निर्वाचनमा २७८, २०१९ को निर्वाचनमा ३०३ सीट जितेको भाजपाले २०२४ को निर्वाचनमा २४० सीट मात्र जित्यो । यसले भाजपाप्रति जनताको विश्वास घटेको देखाउँछ ।
भारतीय जनता पार्टीका अध्यक्ष नरेन्द्र मोदीले जातीय राजनीति गरे । अल्पसङ्ख्यक मुसलमानलाई उनले अपमान गरे; हेयको दृष्टिले हेरे । भारतीय जनता पार्टीको सरकारले युवाहरूलाई रोजगार दिन सकेनन् । कानुन र राज्यको संयत्र दुरूपयोग गरी राजनीतिक लाभ उठाउने, जनताको मत लिने काममा भारतीय जनता पार्टी अघि स¥यो । परिणामतः भारतीय जनताले मोदीको अधिनायकत्व अस्वीकार गरे । यस अर्थमा आम निर्वाचनको नतिजा भारतीय जनता पार्टीको लागि निराशाजनक रह्यो । यो भाजपा र मोदीको ओरालोतर्फको यात्रा सुरु भएको सङ्केत हो । यो भारतीय जनता पार्टीको लागि सेडब्याक हो । यो मोदीको लोकप्रियता घटेको दृष्टान्त हो । भाजपाको आफ्नै बल या एक्लैले देश चलाउने चाहनामा ठेस पुगेको छ । यो भारतीय प्रम मोदीको फासीवादी चरित्रले निम्त्याएको परिणाम हो । अन्य विपक्षी दलहरू मौन रहे प्रम मोदीको हैकम कायम रहिरहनेछ । यसकारण, भारतका विपक्षी राजनीतिक दलहरू मोदी सरकारको हैकमवादी नीति, दमन गर्ने नीति र फासीवादी चरित्रको विरोध गर्नुपर्छ; गरिरहनुपर्छ ।
भारतमा पुँजीवादी व्यवस्थाको सरकार छ । भारतीय जनता पार्टी या काङ्ग्रेस जुन दल जिते पनि त्यो दलको सरकारले पुँजीपतिवर्गकै हित गर्छ । पुँजीपतिवर्गको सरकार भइरहेसम्म श्रमजीवी जनताले सुख र शान्ति पाइरहने छैनन् । भारतका शोषितपीडित तथा किसान सचेत र सङ्गठित भएर नलडेसम्म, लडेर नफ्याकेसम्म भारतीय जनताले दुःख पाइरहने छन् । भारत अरु देशमाथि थिचोमिचो गर्ने र अतिक्रमण गर्ने देश हो । भारतको परामर्शबिना नेपालले अरु देशसँग सामान र हतियार लिन नपाउनु के भारतको हस्तक्षेप होइन ? कुनै स्वतन्त्र देश आफ्नो कब्जामा लिनु या नियन्त्रणमा राख्नु राम्रो होइन । यसकारण, भारतीय जनताले विस्तारवादी र दमनकारी भारतको विरोध गर्नुपर्छ ।
भारतको पुँजीवादी व्यवस्था फाल्न भारतीय जनता सचेत र सङ्गठित हुनु आवश्यक छ । भारतमा पनि अधिकांश जनता गरिब छन्, शोषित पीडित छन् । बहुमत श्रमजीवी जनताको हितको निम्ति भारतमा पनि समाजवादी गणतन्त्र आवश्यक छ । समाजवादी गणतन्त्र स्थापना गर्न भारतका कम्युनिस्ट पार्टी या वामपथी शक्ति अगाडि नबढिकन सम्भव छैन । भारतमा कम्युनिस्टको सरकार स्थापना भएपछि नेपालमा पनि कम्युनिस्टको सरकार स्थापना गर्न टेवा पुग्छ । नेपालमा पनि पुँजीवादी व्यवस्था छ । यो व्यवस्था फाल्न कम्युनिस्ट पार्टी बलियो हुनु आवश्यक छ । नेपालका कम्युनिस्टहरू आन्दोलित हुनुपर्छ; कम्युनिस्टहरू सङ्घर्षमा उत्रनुपर्छ । जनतालाई सङ्गठित र सचेत गर्नुपर्छ । यसकारण, भारत र नेपालमा समाजवादी प्रचार अभियान अघि बढाउनुपर्छ । यो कम्युनिस्ट पार्टीहरूको काम हो । कम्युनिस्टहरूले आ—आफ्नो स्थान या क्षेत्रबाट कानुनी र गैरकानुनी सङ्घर्ष गर्नुपर्छ । सङ्घर्षविना समाजवाद सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *