भर्खरै :

व्यक्तिगत स्वार्थभन्दा देश र समाजको बारेमा चिन्तन गर्नुपर्नेमा जोड

व्यक्तिगत स्वार्थभन्दा देश र समाजको बारेमा चिन्तन गर्नुपर्नेमा जोड

भक्तपुर, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपा भनपा वडा नं. ७ को प्रथम वडा सम्मेलनको उद्घाटन शनिबार एक कार्यक्रमबिच गर्नुभयो ।
सम्मेलनमा अध्यक्ष बिजुक्छेँले पार्टी कार्यकर्ताहरू पद लिने, धेरै पैसा कमाउने प्रवृत्तिमा लाग्न नहुने, पार्टी प्रकाशनहरूका साथै ‘मजदुर’, ‘श्रमिक’ पत्रिका नियमित अध्ययन गरी अन्तरक्रिया गर्नुपर्ने, व्यक्तिगत स्वार्थभन्दा देश र समाजको बारेमा चिन्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीभित्र गलत प्रवृत्ति र गलत कुराको आलोचना गर्नुपर्ने, पार्टी कार्यकर्तामा आलोचना र आत्मआलोचनाको बानी बसाल्नुपर्नेमा जोड दिँदै उहाँले गलत मानिसहरू पार्टीमा घुस्न सक्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पार्टी कार्यकर्ताहरूले झूटो बोल्नुहुँदैन । नामले कम्युनिस्ट तर व्यवहारले पैसामुखी प्रवृत्ति राख्नेप्रति सचेत हुनु आवश्यक छ ।”
पार्टीमा इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अन्तर्राष्ट्रिय क्रान्तिकारी नेताहरूको जीवनी अध्ययन गर्नुपर्ने, शिक्षकहरूले विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनहरूबारे प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हरेक पार्टी समितिलाई स–सानो विद्यालयको रूपमा विकास गर्नु आवश्यक छ । पार्टीले प्यालेस्टिनीहरूको जातीय नरसंहारविरुद्ध आवाज उठाइरहेको छ ।”
देशको विकास नहुनुमा भ्रष्ट कर्मचारी संयन्त्र ठेकेदारहरू पनि जिम्मेवार रहेको स्पष्ट पार्दै उहाँले विगतमा सहकारी बचत ठगी गर्नेहरूलाई उल्टो टोपी लगाएर घुमाएजस्तै आज पनि सरकारी ठगीहरूको विरुद्ध सङ्घर्ष गरिराख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ताको दुःख, सङ्घर्ष खेर नगएको, भक्तपुर शिक्षा–स्वास्थ्य–कला संस्कृति संरक्षणमा नमुना नगरको रूपमा चिरपरिचित हुँदै छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पार्टीको लक्ष्य निःस्वार्थ र इमानदारीपूर्वक जनताको सेवा गर्ने नागरिक तयार गर्ने, एक न एक विषयमा विशेषज्ञ कार्यकर्ता बनाउने, बुद्धिजीवी बनाउने र आफूले सिकेको शिक्षा र सीप समाजको लागि उपयोग गर्ने नागरिक तयार गर्ने रहेको बताउनुभयो ।
उहाँले २०४६ सालको जनआन्दोलनबाट बहुदल आएपछि शासक दलहरू देशद्रोही साबित भएको, व्यापारघाटा २० खर्ब पुगेको, बेरोजगारी, गरिबीको रेखामुनिको सङ्ख्या वृद्धि भएको, ऋण २४ खर्ब पुगेको, आर्थिक र नैतिकरूपले देशलाई जर्जर बनाएको कुरा राख्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी शासक दलहरू एमाले, काङ्ग्रेस, माओवादीहरूले राज्यको ढुकुटी ब्रह्मलुट गरिरहेका छन् । पुँजीवादी गणतन्त्रले जनताको काम मामको उचित व्यवस्था नगर्ने हुँदा पार्टीले जनताको प्रजातन्त्र कार्यक्रम लिएर सङ्घर्ष गरिरहेको छ ।”
पार्टी कार्यकर्ताहरूले पार्टी विधान, सिद्धान्त र अनुशासनलाई जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले पञ्चायतको विरुद्धमा गरेको सङ्घर्ष, विसं २०४६, २०६२/६३ को जनआन्दोलनमा नेमकिपाको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
उहाँले राजनीतिक आन्दोलनले लामो समय लिने, पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिहरूले दुःख, कष्ट, जेलनेल खेपेर सङ्घर्षलाई अगाडि बढाइराखेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले पार्टीको सङ्घर्षबाट प्राप्त मोहियानी हकले गर्दा आर्थिक स्तर वृद्धि भएको, पार्टी कार्यकर्ताले नयाँ पुस्तालाई पनि प्रशिक्षित गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा भनपा ७ वडा समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा बलराम गोसाई, धर्मलक्ष्मी दुवाल, रत्नवीर किसीलगायतले बोल्नुभएको थियो ।
उक्त उद्घाटन सत्रपछि भएको बन्द सत्रमा नेमकिपाका सचिव प्रेम सुवालले शासक दलहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्र सरकारले उद्योगको लागि पूर्वाधार बनाइदिने र त्यसमा विदेशी पुँजी र तिनका सहयोगीहरूलाई रजाइँ गर्न नदिने हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले उठाएको जनताको प्रजातन्त्रमा विदेशी पुँजीलाई ठाउँ हुनेछैन । देशभक्त पुँजीलाई ठाउँ हुन्छ । मजदुर किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र देशभक्त उद्योगी व्यापारीहरूको सरकार हुन्छ ।”
“जनताको प्रजातन्त्र समाजवादको आधारभूमि हो । समाजवादमा मानिसको गर्भदेखि चिहानसम्म सरकारको जिम्मा हुन्छ । उत्पादनका साधन र सेवा सामाजिकीकरण हुन्छ । साम्यवादमा शारीरिक र बौद्धिक श्रममा भेद हुँदैन, गाउँ र सहरको भेद हुँदैन । मानिसलाई योग्यताअनुसार काम र आवश्यकताअनुसार पूर्ति हुन्छ । दबाउनुपर्ने वर्ग नहुँदा राज्यविहीन हुन्छ । यो समाजमा विज्ञान, प्रविधि, साहित्य कलाको पर्याप्त विकास हुन्छ ।”, उहाँले भन्नुभयो ।
माक्र्सको जीवनकालमा विश्वविद्यालयमा पठाउने अवसर मिलेको भए संसारमा अहिले भइरहेको असमानता, हिंसा, युद्ध धेरै घट्ने अनुमान गर्न सकिने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को भारत प्रवासमा बस्न नपरेको भए नेपालको कम्युनिस्ट आन्दोलन धेरै अगाडि बढ्ने अपेक्षा गर्नु अन्यथा नहोला ।
एउटा क्रान्तिकारी नेताको अनुपस्थितिमा मजदुर र कम्युनिस्ट आन्दोलनमा संशोधनवादीहरू प्रवेश गर्न सजिलो हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *