भर्खरै :

“आईईएमआईएसको नाममा विद्यालय र विद्यार्थीलाई सुविधाबाट वञ्चित गर्नु शिक्षा नियोजन हो”

के तपाईंले आफ्ना छोराछोरीलाई स्कूलमा भर्ना गरिसक्नु भयो ? कक्षा २ देखि १२ सम्मका कुनै विद्यार्थी कुनै स्कूलमा भर्ना भएको वा गरेको भए त्यो विद्यार्थीको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Intergreted Educational Management Information System – IEMIS) मा दर्ता भएको नम्बर पनि अनिवार्यरूपमा अद्यावधिक छ कि छैन ? कति विद्यार्थी वा अभिभावकलाई यसबारे जानकारी छ ? IEMIS नम्बर अद्यावधिक नभए त्यसको परिणाम के हुन्छ ? भन्ने कुरा धेरै प्रअ, शिक्षक, अभिभावक, विद्यार्थीलाई जानकारी नभएको देखिन्छ ।
एउटा विद्यालयबाट अर्को विद्यालयमा कोही विद्यार्थी भर्ना गर्दा विद्यार्थीको IEMIS नम्बर नभए भोलि विद्यालयले सरकारबाट पाउने प्रतिविद्यार्थी अनुदान, पाठ्यपुस्तक अनुदान, दिवा खाजा अनुदान (कक्षा ५ सम्म) लगायतका सुविधाबाट वञ्चित हुने देखिएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले २०८१ जेठ ६ गते जारी गरेको एक सूचनाअनुसार देशरभका सबै स्थानीय तह र सबै विद्यालयहरूले IEMIS यही असार १५ गतेभित्र अद्यावधिक गर्नुपर्नेछ । यदि अद्यावधिक नगरेमा विद्यालयले प्राप्त गर्ने अनुदान र विद्यार्थीले प्राप्त गर्ने सुविधामा फरक पर्ने भनी घुमाउरो तरिकाले चेतावनी दिइएको छ । त्यसरी कुनै विद्यालय वा विद्यार्थी अनुदान वा सुविधाबाट वञ्चित भएमा अद्यावधिक नगर्ने विद्यालयका प्रधानाध्यापक नै जिम्मेवार हुने भनी चेतावनी सूचनामा दिइएको छ ।
स्थानीय एक प्रधानाध्यापकसँग यसबारे जिज्ञासा राख्दा आफ्नो विद्यालयमा भर्ना हुनआएका दुर्गम जिल्लाका विद्यार्थीको IEMIS नम्बरको लागि उक्त विद्यार्थीको पूर्व विद्यालयका प्रअलाई सोधनी गर्दा दुर्गमको आफ्नो विद्यालयमा IEMIS को कोड नै प्राप्त नभएको जवाफ मिलेको बताइयो । ती स्थानीय प्रअले आफ्नो विद्यालयमा भारतीय विद्यार्थी पनि आधारभूत तहमा भर्ना हुन आएको हुँदा भारतमा IEMIS नम्बरको व्यवस्था नभएकोले त्यस्ता विद्यार्थीको IEMIS नम्बर कहाँबाट कसरी प्राप्त गर्ने अन्योल भएको बताए ।
IEMIS नम्बरबिना कुनै कक्षामा भर्ना भई पढ्दै गरेका कुनै विद्यार्थी भोलि एमबीबीएसलगायतका छात्रवृत्तिबाट समेत वञ्चित हुने स्थिति देखिएको छ ।
IEMIS का सबै विवरणहरू अनिवार्यरूपमा अद्यावधिक गर्न विद्यालयहरूलाई सूचित गरिएको उक्त सूचनामा IEMIS कोड प्राप्त नगरेका विद्यालयहरूले २०८१ जेठ समान्तभित्र स्थानीय तहमार्फत कोड प्राप्त गरी अद्यावधिक गर्न भनिएको छ । कक्षा ११–१२ मात्र सञ्चालन गरिरहेका विद्यालयहरूले पनि अनिवार्यरूपमा विवरण अद्यावधिक गर्न सूचनामा भनिएको छ ।
देशभरका विद्यार्थीहरूलाई IEMIS मा आबद्ध गर्नु राम्रो भए पनि त्यसबारे जति प्रचार प्रसार हुनुपर्ने हो त्यो भएको पाइँदैन । फेरि, विद्यार्थी भर्ना अभियान वैशाख महिनाभर गरियो । विद्यालयले जहाँबाट भए पनि ल्याएर विद्यार्थी भर्ना ग¥यो । अहिले जेठ ६ गते IEMIS अनिवार्य गर्नु भन्ने सूचना आयो । यदि IEMIS नै गर्नुथियो भने कमसेकम वैशाखभन्दा अघि फागुन चैततिर सूचना व्यापक प्रचार गर्नुपथ्र्यो । अहिले भर्ना भइसकेका विद्यार्थीहरूलाई पूर्व विद्यालयबाट IEMIS नम्बर ल्याउन निर्देशन दिए पनि सबै विद्यार्थीले IEMIS नम्बर ल्याउन सक्ने स्थिति देखिँदैन ।
IEMIS नम्बर अभावकै कारण विद्यालय र विद्यार्थीले प्राप्त गर्ने सेवा सुविधा वञ्चित भए त्यो नियोजित ढङ्गबाटै हुने शिक्षा नियोजनको कदम पुष्टि हुनेछ र जिम्मेवार विद्यालयका प्रअ नभई ढिलो सूचना सम्प्रेषण गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्र नै हुनुपर्नेछ ।
अझ स्वअध्ययनबाट कोही विद्यार्थी कक्षा ५ भर्ना योग्य भई कुनै विद्यालयमा भर्ना गर्नुपर्ने भयो भने त्यस्ता स्वअध्ययनबाट योग्य विद्यार्थीको IEMIS कहाँबाट प्राप्त गर्ने हो ? यस्ता धेरै जटिलताहरू यस प्रणालीले उब्जाएको देखिन्छ । यसलाई सम्बन्धित निकायले बेलैमा ध्यान नदिए विद्यालय शिक्षा थप जटिलतामा जेलिने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *