यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(चे ग्वेभारा पेशाले डाक्टर भए पनि उनी एकजना क्रान्तिकारी थिए । उनले ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा जनताको शासन ल्याउन क्रान्तिमा लागेका थिए । उनको जन्म अर्जेन्टिनामा भएको थियो । उनलाई बोलिभियामा अमेरिकी साम्राज्यवादको सेनाले हत्या गरेको थियो । – सं.)
फेब्रुअरी १५, १९६६
प्यारी छोरी हेल्डिता,
तिम्रो सम्झनामा आज म केही कुरा लेख्दै छु । तर, लामो अन्तरालपछि मात्र यो चिट्ठी तिम्रो हातमा पर्नेछ । तिम्रो जन्मदिनको सन्दर्भमा तिमीलाई न्यानो सम्झना अनि माया छ, यो जन्मदिनले तिमीलाई अझ सुखी बनाउनेछ । छोरी, अब तिमी सानी बच्ची रहिनौ । त्यसैले अब मैले यो चिट्ठीमा आदर्श उपदेशका बखानहरू लेख्न उचित छैन ।
तिमीभन्दा म धेरै टाढा र भिन्न परिवेशमा छु र अझ धेरै समय हामीले यो बिछोड भोग्नुपर्नेछ । हाम्रा शत्रुहरू (साम्राज्यवादी तथा प्रतिक्रियावादीहरू – अनु.) विरुद्धको कठिन सङ्घर्षमा हामी सबै कामहरू आफ्नै सामथ्र्यले गरिरहेका छौँ । यो सङ्घर्षमा मेरो योगदान पूर्ण त होइन यद्यपि केही भने अवश्य छ । अनि, मलाई आशा छ – तिमी आफ्नो बाबाप्रति गौरव गर्नेछ्यौ जसरी तिम्रो बाबा तिमीप्रति गौरव गर्छ ।
हामीले अङ्गीकार गरेको सङ्घर्षका धेरै शृङ्खलाहरू अझ बाँकी नै छन् । तिमीले पनि ठुली भएपछि यो सङ्घर्षमा योगदान गर्नुपर्नेछ । तिम्रो उमेरमा यो तयारी भन्नु आफ्नो अध्ययनप्रति गम्भीर बन्नु हो । तिमी न्यायोचित विचारको पक्षमा सदा प्रतिबद्ध भएर उभिन सक्नुपर्छ । आफूलाई कहिल्यै पनि धेरै माथि राखेर सोच्नु गल्ती हो, यो त समयसँगै आउने कुरो हो । अहिले भने तिम्री आमाको कुरा शिरोपर गर्नु राम्रो हुनेछ ।
आफ्नो विद्यालयकै उत्कृष्ट विद्यार्थी बन्न तिमीले कडा परिश्रम गर्नुपर्छ, सबै पक्षमा उत्कृष्टताको लागि । तिमीले मैले भन्न खोजेको कुरा बुझेकी हुनुपर्छ – अध्ययन र क्रान्तिकारी आचरण । अर्को शब्दमा श्रमप्रति गम्भीर अवधारणा, मातृभूमिप्रति अगाध माया, क्रान्तिकारी आस्था र कामरेडेली भावना अनि अरू धेरै कुराहरू । म तिम्रो उमेरको हुँदा परिवेश आजको जस्तो थिएन । म त्यस्तो भिन्न समाजमा हुर्केको थिएँ जहाँ मानिसहरू एक–अर्काका शत्रु हुन्थे । समयले धेरै काँचुली फेरिसकेको छ र फेरिएको समयमा हुर्कनु तिमीहरूको ‘भाग्य’ को कुरो नै हो । तिमीले यसमा गर्व गर्न सिक्नुपर्छ ।
आफ्ना भाइबहिनीहरूलाई राम्रो स्याहार गर्न कहिल्यै नभुल्नू ! उनीहरूलाई पनि आफ्नो पढाइप्रति गम्भीर र असल व्यवहारमा अभ्यस्त बनाउनु आवश्यक छ । विशेषतः तिमीले अल्डिताप्रति ध्यान दिने गर्नू जसले तिमीलाई ठुली दिदीको रूपमा विशेष आदर गर्छे ।
लौ त, छोरी ! जन्मदिनको फेरि एकपल्ट शुभकामना ! तिम्री आमा र जीनाप्रति न्यानो माया सुनाइदिनू र हाम्रो लामो बिछोडका प्रत्येक पलको न्यानो आलिङ्गन स्वीकार्नू !
तिम्रो बाबा
Leave a Reply