भर्खरै :

युवाहरू विदेशीका दास होइनन्

संसारमा समाजवाद या कम्युनिस्टहरूको लोकप्रियता बढ्दै छ । साम्राज्यवादको विरोधमा संसारका कम्युनिस्ट र देशभक्त जनतामात्र होइनन् युवाहरू पनि सङ्घर्षरत छन् । संरा अमेरिकाको सहयोग र इसारामा इजरायलले प्यालेस्टिनमाथि गरिरहेको नरसंहारकारी बर्बर आक्रमणको विरोधमा संसारका दर्जनौँ शान्तिकामी र देशभक्त युवाले प्रदर्शन गरे । यो आतङ्ककारी र साम्राज्यवादविरोधी स्वरको न्यायप्रेमी जनताले समर्थन गर्नुपर्छ । देशका आफूलाई ठुला भनिने कम्युनिस्ट पार्टीले प्यालेस्टिनमाथि भइरहेको बर्बर आक्रमणको विरोध नगरे पनि नेमकिपा र नेमकिपाका जनवर्गीय सङ्गठन नेक्रायुसङ्घलगायतले विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेर जनतालाई सचेत पार्ने काम गरे । देशको राजनीतिलाई सही मार्गमा लैजान युवाहरूले कुनै पनि शासक दलहरूको खोटो विचार र नीतिको विरोध गर्नुपर्छ । सरकारको खोटो नीतिको विरोधमा देशव्यापी प्रचार अभियान आवश्यक छ । युवा सङ्घले एमसीसी सम्झौता र नागरिकता विधेयकको विरोधमा पनि देशव्यापी जागरण अभियान चलाएको थियो ।
भारतीय विस्तारवाद र सरकारको आत्मसमर्पणवादी नीतिको विरोधमा युवाहरूले आन्दोलन छेडेनन् भने भारतले नेपाली भूमि मिच्ने या अतिक्रमण गर्ने काम रोक्नेछैन । त्यसकारण, नेपाल क्रान्तिकारी युवा सङ्घ स्वस्थ, सुसंस्कृत, अनुशासित र देशभक्त, स्वाभिमानी युवा तयार गर्दै देश जोगाउने अभियानमा जुटेको छ । भारतीय विस्तारवादले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत देशका विभिन्न स्थानमा सीमा अतिक्रमण गरेको छ । नेक्रायुसङ्घ मिचिएको नेपाली भूमि फिर्ता गराउन नेपाली जनतासँग सङ्घर्षको मोर्चामा रहेर लडिरहेको छ । युवा सङ्घ देशघाती नागरिकता ऐन खारेज गर्न र गराउन सङ्घर्षमा लाग्यो । नेपालको अर्थतन्त्र कब्जा गर्ने भारतीय एकाधिकार पुँजीको सङ्घले आन्दोलन र विरोध ग¥यो । यसरी देश र जनताको पक्षमा आन्दोलनरत नेक्रायुसङ्घले राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालबारे विचार बोकेको बुलेटिन ‘द युथ’ प्रकाशन गर्नु राम्रै हो ।
समाजमा आमूल परिवर्तनको निम्ति सक्रिय, ऊर्जाशील युवाहरूको खाँचो छ । उनीहरू मजदुर र किसानहरूसित एकाकार हुनुपर्छ । परिवर्तनको निम्ति जनतासँग भिज्ने युवाहरू नै क्रान्तिकारी हुन्छन् । देशमा थिचोमिचो, अतिक्रमण भए पनि आफ्नो दलको सरकार नटिक्ला भनेर कुनै विरोध नगर्ने युवाहरू कसरी देशभक्त हुन्छन् ? देश र जनताप्रति कसरी जिम्मेवार हुन्छन् ? नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भइरहेको बेला नउठ्ने युवाहरू के विदेशको दास बन्नमात्र लायक भएका हुन् ? नेपाली युवाहरू नेपालको रक्षाको निम्ति लड्ने हो । अतः नेपाललाई भाडाको सिपाही बनाउने कलङ्क मेटाउन ‘गोर्खा भर्ती’ खारेज गर्नुपर्छ; खारेज गराउन युवाहरू जुरमुरिएर उठ्नुपर्छ । देशका युवाहरू विदेशीका दास होइनन् । देशको निम्ति लड्ने क्षमता भएका ऊर्जावान युवाहरू अघि बढेनन्; जनतालाई सुसूचित पार्नेतर्फ लागेनन्; अन्धविश्वास, कुरीति र विकृतिविरूद्ध जागेनन् भने देशको मुहार कसरी फेरिएको हुन्छ ? जनतामा कसरी देशभक्तिको भावना हुन्छ ? जनतालाई जागरूक बनाउन, परिवर्तनको अनुभूति दिन युवाहरू जाग्नुपर्छ । सही दलको झन्डामुनि रहेर समाजवादी प्रचार अभियानमा सरिक हुनुपर्छ; काँधमा काँध जोडेर समाजवाद स्थापनाको निम्ति सक्रिय हुनुपर्छ । सङ्घको ‘द युथ’ बुलेटिन यस्तै ऊर्जा दिने वैचारिक पत्रिका हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *