भर्खरै :

समाजवादी आन्दोलनबारे विचारमन्थन

भक्तपुर, १५ पुस । नेपाल प्राध्यापक समाजले शनिबार ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ बारे प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।  रुसी क्रान्तिका नेता स्तालिन र चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङको जन्म दिवस र क्युवाली स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रवचनमा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विश्वमा नयाँ युद्धको खतरा रहेको बताउनुभयो ।
अध्यक्ष रोहितले संयुक्त राष्ट्र सङ्घले कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकोमा विरोध गर्दै तेल ढुवानीसमेत गर्न प्रतिबन्ध लगाउनुको अर्थ युद्धको हाँक हो भन्नुभयो ।
इजरायलको राजधानी जेरुसेलम बनाउन भिटो प्रयोग गर्ने ट्रम्पको कारण भिडन्त अझ चर्किने भन्दै अध्यक्ष रोहितले भारतले हिन्द महासागरसमेत आफ्नो बनाउने षड्यन्त्र गरिरहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘पाकिस्तानमा चीनले बन्दरगाह बनाएको छ । अफगानिस्तान र पाकिस्तानमा चीनले सडक बनाएको छ । यसबाट भारत दक्षिण एसियामा एक्लिंदै गएको पुष्टि हुन्छ ।’  स्तालिन र माओको व्यक्तित्वबारे आफ्नो धारणा राख्दै अध्यक्ष रोहितले कुनै पनि व्यक्तिको व्यक्तित्व अध्ययन र वातावरणले बनाउने बताउनुभयो । उहाँले एउटा गरिब र पिछडिएको क्षेत्रको मानिस कसरी सबभन्दा ठूलो रणनीतिज्ञ बन्छन् भन्नेबारे बोल्दै नेताहरू परिस्थितिको उपजसमेत हुने धारणा राख्नुभयो ।
उहाँले थप्नुभयो, ‘माओ दुर्गम गाउँका केटा थिए, अध्ययनशील थिए, इतिहास र साहित्यको गम्भीर अध्ययन गर्नुभयो । संसारकै रणनीतिज्ञहरू माओसामु टिकेनन् ।’ फिडेललाई क्रान्तिबाहेक केही थाहा थिएन, अध्यक्ष रोहितको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले एमाले एक संशोधनवादी पार्टी भएको भन्दै एमाले नेपाली काङ्ग्रेसकै बाटोमा हिंडेको बिचार राख्नुभयो । उहाँले आन्दोलन छोडेर प्रतिगामी सरकारमा जाने एमाले कसरी क्रान्तिकारी हुनसक्छ भन्दै महाकाली सन्धिको पक्षमा रहेको कुनै पनि सन्धि देशघाती हुने तर्क गर्नुभयो । सचिव सुवालले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधान संशोधन गर्ने पार्टी जनपक्षीय नहुने विचार राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष एवम् प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले माओको क्रान्तिको जगमा टेकेको चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा व्यक्त गर्नुभयो ।
नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, सदस्यहरू चक्रबहादुर चाकतु र सुजन माकले समाजवादी क्रान्तिको महत्वबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *