भर्खरै :

शासकहरू कमाउ खाने धन्दामा केन्द्रित

शत्रुसामु नझुकी लडेर बचाएको नेपाललाई शासक दलका नेता, मन्त्री र सांसदहरूले कमाउ खाने भाँडो बनाए । उनीहरू देश जोगाउन र बनाउन होइन आफू, आफ्ना आसेपासे र दल बनाउन राजनीतिमा लागे । राजनीतिलाई कमाउने पेसा ठानेर उनीहरू लागे । उनीहरू सत्तालिप्सामा टाँसे† सत्ताको खेलमा झुमे । साँच्चै सत्तारुढ दलका नेताहरू इमानपूर्वक देश र जनताको सेवामा जुटेनन् । सरकारमा पुगेका सबैजसो दलका नेताहरूको यस्तै अभिलाषा देखियो । सत्ता, शक्ति र पैसाको निम्ति राजनीति गरेका शासकहरूले अनेक मिठा मिठा सपना बाँडे पनि खासमा केही गर्न सकेनन् । गणतन्त्रपछि बनेका शासकहरूले बहुमत जनताको निम्ति कुनै पनि मौलिक काम गरेका छैनन् । बाटाघाटा, पुलपुलेसा र भवन त जो कुनै सरकारले पनि गर्नसक्ने हो या गर्छ । देशमा जे जति परिवर्तन भएको छ त्यो सबै सङ्घर्ष या आन्दोलनले नै भएको हो । तर, अहिलेका शासकहरू जनताले सबै अधिकार पाएका छन्, अब कुनै उपलब्धि पाउन सङ्घर्ष गर्न नपर्ने बताउँछन् ।
पुराना ‘कम्युनिस्ट’ नेता ऋषि कट्टेलले हालै एक सञ्चारमाध्यममा देशमा लोकतन्त्रको नाउँमा लुटतन्त्र चलिरहेको आरोप लगाए । विकास र योजनाको नाउँमा पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने र त्यही सम्पत्ति चुनावमा बाँडेर जित्ने दाउ शासकहरूको रहेको उनको भनाइ हो । बेलाबखत सञ्चारमाध्यममा आएको समाचारले उक्त कुरा पुस्टि हुन्छ । असार ५ गते प्रकाशित ‘नागरिक’ दैनिकमा ‘संस्कृत विश्वविद्यालय : १३२६ बिगाहामा दलहरूको रजाइँ’ शीर्षकको समाचार छापियो । उक्त समाचारमा नेपाल संस्कृत विश्वविद्यालयको एक हजार तीन सय २६ बिगाहा सुकुमवासीका नाममा हुकुमवासीले कब्जा गरेको उल्लेख छ । उक्त जग्गा कब्जा गर्ने काममा माओवादी, एमाले र नेपाली काङ्ग्रेस निकटका मानिसहरू रहेको उल्लेख गरिएको छ । त्यसमध्ये अहिले १० बिगाहामात्र विश्वविद्यालयले उपयोग गरिरहेको जनाइएको छ । सत्तासीन दलका नेताहरूले आफ्नो प्रभाव जमाउन या भोट बैङ्क सुरक्षित गर्न नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा गिद्दे नजर लगाएको आरोप छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयको जग्गामा पनि अन्य व्यक्तिहरूले जग्गा कब्जा गरेर आम्दानीको स्रोत बढाइरहेका खबर छापिएको थियो । त्यस्तै, ललिता निवासको जग्गामा पनि शासक दलका नेताहरूले आँखा गाडेका थिए या जग्गा आ–आफ्नो नाउँमा राखे । काठमाडौँको थवहीस्थित छायादेवी भवन पनि सरकारकै पर्ती जग्गा र पोखरीमा बनाइएको थियो । यसरी नै अन्य पोखरी र पर्ती जग्गा व्यक्तिले कब्जा गरिसकेको खबर छापामा आएको थियो । शासक दलका नेताहरूले आफू सरकारमा भएको बेला राजनीतिक दलको कार्यालय खोल्न पर्ती जग्गा दिएका थिए । विगतमा तिनै शासक दलका नेताहरूले निर्वाचनमा प्राप्त गरेको मतको आधारमा राज्यकोषबाट पैसा लिने प्रस्ताव राखेका थिए । अन्य राजनीतिक दल र जनदबाबको कारण त्यो रोकिएको थियो । यसरी सरकारी जग्गा व्यक्तिले कब्जा गर्ने गरेका दृष्टान्तहरू कति छन् कति !
गठबन्धनमा सहभागी दलका नेताहरूले बैठकमा देश जोगाउने, बनाउनेबारे बातचित गर्दैनन्; भ्रष्टाचार अन्त्य गर्नेतर्फ बैठक केन्द्रित हुँदैन । उनीहरूको बैठक सत्ता टिकाउने र सत्ता टिकाउन मन्त्री बाँडफाँट गर्नेमा केन्द्रित हुन्छ । ती शासकहरू सरकारको नेतृत्व गर्न कहिले नेकासँग त कहिले एमालेसँग गठबन्धन गर्छन् । यसलाई राजनीतिक विश्लेषकहरू अनैतिक गठबन्धनको सरकार भन्छन् । अतः देश र जनताको निम्ति राजनीति गर्ने दलका नेताहरूले बेइमानीको राजनीति गर्दैनन्; देशघाती र जनविरोधी सन्धि सम्झौतामा हस्ताक्षर गर्दैनन् । राजनीतिक विश्लेषकहरूका अनुसार आपराधिक क्रियाकलापहरू छोप्न, अपराधीहरूलाई पक्राउ गर्न नदिन सत्तारुढ दलका नेताहरू कारबाहीको प्रक्रिया अघि बढाउँदैनन् । त्यसकारण, तिनीहरू सत्ताको निम्ति मरिहत्ते गर्छन् । सत्तासीन नेताहरूको मनपरी, गैरजिम्मेवारीले गर्दा देश ज्यादती गर्ने, अनियमित गर्ने, भ्रष्टाचार गर्ने, आपराधिक कार्य गर्नेहरूको बनेको छ । त्यसैले कोही नेताहरू सात पटकसम्म प्रधानमन्त्री हुने ज्योतिषको भनाइ अघि सार्छन् भन्ने कोही आफ्ना विपक्षी दलका नेतालाई ढालेर प्रम बन्ने लालसा देखाउँछन् । यसरी देशका शासकहरू सत्तामुखी र भागबन्डाको राजनीतिमा मुछेको कारण देश बर्बादीको खाडलमा जाकेको हो; देशले दुर्गति भोग्नुपरेको हो । यसमा शासकहरू नै दोषी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *