भर्खरै :

वागीश्वरीमा शिक्षिका शोभा प्रधानको दोस्रो स्मृतिसभा

वागीश्वरीमा शिक्षिका शोभा प्रधानको दोस्रो स्मृतिसभा

भक्तपुर, ८ असार । वागीश्वरी मा.वि. च्याह्मासिहको आयोजनामा ‘शिक्षिका शोभा प्रधानको दोस्रो स्मृति सभा’ नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा उहाँले बितेकी शोभा भाउजूबाट देश र समाजको सेवामा समर्पित भएर लागेको लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै भन्नुभयो, “व्यक्तिगत स्वार्थमा लाग्दा असफल भए निरासा हुन्छ भने सामूहिक स्वार्थमा लाग्दा असफल भए पनि जोश जाँगर बढ्छ† त्यसैले सामूहिक स्वार्थमा लाग्नुपर्छ ।”
शोभा भाउजूबाट यस्तै सामूहिक कार्य गर्न प्रेरणा पाउन सक्छौँ भन्दै उहाँले सङ्घको प्रकाशन ‘केटीहरू’ को विभिन्न जिल्लामा भएको अन्तरक्रियामा उहाँको भूमिका उल्लेखनीय थियो भन्नुभयो ।
क्यान्सर उपचारमा औषधि सर्वसुलभ नहुँदा स्थिति जटिल भएको चर्चा गर्दै उहाँले देश ओखतीमा आत्मनिर्भर नभएको र सरकार पनि जनताप्रति जिम्मेवार नभएको गुनासो गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले लामो समय क्यान्सर रोगसँग लड्नु परे पनि कहिल्यै हार नमानेको चर्चा गर्दै हरेक विद्यार्थीलाई उहाँले आमातुल्य माया गरेर पढाउनुभएको बताउनुभयो ।
सभामा शोभा प्रधानको स्मृतिमा एक मिनेट मौन धारण गर्नुका साथै उहाँको तस्बिरमा पुष्पागुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा वागीश्वरी बुलेटिनको ‘शोभा प्रधानको दोस्रो स्मृति वर्ष परिशिष्टाङ्क’ विमोचन गरिएको थियो ।
शोभा प्रधान स्मृतिसभा तयारी समितिका संयोजक शोभालक्ष्मी गोसाईको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी मा.वि.का प्रअ कृष्णप्रसाद कर्माचार्य, सुशीला कर्माचार्यसहित शिक्षकहरू रामलक्ष्मी अवाल, रेणुकामैयाँ प्रजापति, मुना तामाङ, रामलक्ष्मी कोजुलगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *