जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
समय एकनास बग्दो हो त शोभा प्रधान (बिजुक्छेँ) कक्षा कोठामा विद्यार्थीलाई मायाले ज्ञानका अनेकन कुरा सिकाउँदै हुनुहुने थियो । अथवा, घरमा आएका पाहुनालाई हँसिलो स्वागतसहित चिया पस्कँदै हुनुहुने थियो । अथवा, सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय महिलाहरूको बैठकमा सहभागी हुनुहुने थियो । अथवा, बैठक कक्षमा पत्रिका वा पुस्तक गहिरिएर पढ्दै गर्नुहुने थियो । अथवा, राजनीतिक सभा सम्मेलनमा व्यस्त श्रीमान्को खानपिन र सहजताको निम्ति केही न केही गरिरहनुहुने थियो । अथवा, तोते बोली बोल्न थालेकी नातिनीलाई माम खुवाउन फकाउँदै हुनुहुने थियो । तर, सबै उस्तै गतिमा नबहनु नै समयको चरित्र हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित शोभा प्रधानको २०७९ असार ८ गते बुधबार अपराह्न ३ः४५ मा ललितपुर, हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भयो । उहाँको असामयिक निधनले परिवारजनलाई मात्र शोकमा डुबाएन, हामी सबै असङ्ख्य जनतालाई आँसुमा डुबायो । धेरैले अथक महिला कार्यकर्ता, असल शिक्षिका, मृदुभाषी र सहयोगी व्यक्ति गुमाएको अनुभव गरे ।
नाता सम्बन्धले नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवनसङ्गिनी शोभा प्रधान जीवनका झन्डै चार दशक नेमकिपाका विभिन्न जनवर्गीय सङ्गठनमा आबद्ध रही पार्टी गतिविधिमा सक्रिय रहनुभयो । पार्टी गतिविधि र सक्रिय राजनीतिको व्यस्तताले निजी जीवनमा कमैमात्र समय दिन भ्याउनुहुने नेमकिपाका अध्यक्ष कामरेड नारायणमान बिजुक्छेँको घर परिवार, सामाजिक जिम्मेवारी र आर्थिक बन्दोबस्त सम्हालेर उहाँले अध्यक्ष बिजुक्छेँलाई देश र जनताको सेवामा समर्पित भएर लाग्न अथक मद्दत गर्नुभयो ।
शोभा प्रधानको जन्म २०१७ साल पुस १४ गते बुधबारको दिन रामेछाप जिल्लाको ठोसेमा भएको थियो । पिता श्यामलाल प्रधान र माता नारायणदेवी प्रधानका पाँच छोरी र एक छोरामध्ये सबभन्दा जेठी शोभा प्रधानको बाल्यकाल रामेछापमै व्यतीत भयो । पिता श्यामलाल प्रधान पेसाले शिक्षक हुनुभएकोले उहाँको परिवारका सबै सन्तानको शिक्षादीक्षा राम्रो भयो । शोभा प्रधान २०३५ साल भदौ २० गते आफूले शिक्षारम्भ गरेको शारदा प्रावि रामेछाप, ठोसेमै प्राथमिक शिक्षक पदमा अस्थायी नियुक्ति पाई शिक्षण पेसामा प्रवेश गर्नुभयो । २०३६ साल पुस ४ गते प्राथमिक शिक्षक पदमा स्थायी हुनुभयो ।
शोभा प्रधानसँग विवाह हुनुभन्दा धेरै अगाडि नै कामरेड नारायणमान बिजुक्छेँ राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले नेपालमा ५ वर्ष भूमिगत र भारतमा दस वर्ष प्रवास जीवन बिताइसक्नुभएको थियो । एक दशकभन्दा लामो समय भारतमा प्रवास जीवन बिताउनुभएका कामरेड बिजुक्छेँ नेपालमा २०३६ सालमा फर्किनुभयो । वि.सं. २०३९ मा शोभा प्रधानसँग उहाँको भेट भयो । त्यही भेट २०४० मङ्सिर ११ गते वैवाहिक सम्बन्धमा परिणत भयो । क्रान्तिकारी राजनीतिक गतिविधिमा लाग्नुभएका अध्यक्ष बिजुक्छेँको जीवन सङ्घर्षपूर्ण हुने थाहा भएर पनि उहाँको व्यक्तित्वबाट प्रभावित शोभाले व्यापक जनताको हित हुने उहाँको राजनीतिक यात्राको सहयात्री बन्ने लक्ष्यसहित वैवाहिक सम्बन्धमा गाँसिने निर्णय गर्नुभयो । राजनीति गुलाफको ओछ्यान होइन, काँडैकाँडाले भरिएको बाटो हो भन्ने थाहा भएर पनि बिजुक्छेँकी जीवनसाथी बन्ने शोभा प्रधानको निर्णय देश र जनताको सेवामा आफ्नो तर्फबाट पनि केही योगदान गर्ने उद्देश्यबाट अभिप्रेरित थियो ।
कामरेड नारायणमान बिजुक्छेँ र शोभा प्रधानबिच वैवाहिक सम्बन्ध गाँसिएको केही वर्षमै तत्कालीन पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान सङ्गठनलाई समुल नष्ट गर्ने बदनियतसहित २०४५ साल भदौ ९ गते भक्तपुर काण्ड रच्यो । नेमकिपाका अध्यक्ष बिजुक्छेँलगायत सयौँ नेता कार्यकर्ता पक्राउमा परे । सयौँ नेता कार्यकर्ता भूमिगत हुन बाध्य भए । पञ्चायती व्यवस्था आफैले पूर्वराष्ट्रिय पञ्चायत सदस्यको हत्या गरी कुनियतवश नेमकिपाका नेता कार्यकर्तामाथि दोष थोपरेर पञ्चायती व्यवस्थाभित्र पसेर पञ्चायतकै जरा काट्ने राजनीति गरिरहेको नेमकिपालाई समाप्त गर्न खोज्यो । अध्यक्ष बिजुक्छेँ पक्राउ पर्दा शोभाको काखमा चार वर्षको छोरा सुवेग र कोखमा छोरा सुवान थिए । पक्राउ परेको चार महिनापछि छोरा सुवानको जन्म भयो ।
त्यसबखत शोभा प्रधानले नेमकिपाका सम्पूर्ण कार्यकर्ता चिनिसक्नुभएको थिएन । भूमिगत सङ्गठन संरचनाका कारण त्यो सम्भव पनि थिएन । त्यतिबेला श्रीमान् झूटो आरोपमा पक्राउ र देवरहरू पनि सबै भूमिगत हुनुपरेको थियो । ज्येष्ठ सासूआमा र अबोध छोरासहित गर्भवती शोभा प्रधानले भोग्नुपरेको त्यतिबेलाको परिस्थिति त्यसै पनि कठिन थियो । त्यसमाथि त्यतिबेलाका प्रतिक्रियावादीहरूले शोभा प्रधानलगायत नेमकिपाका नेता, कार्यकर्ता र समर्थकका जहान परिवारलाई दिएको मानसिक यातना देखिने घाउभन्दा बढी पीडादायी थियो । दिनरात कुनै पनि बेला हुने खानतलासी, बाटोमा हिँड्दा ज्यानमाराकी श्रीमतीजस्ता कटुवचन उहाँको निम्ति सह्य हुने कुरै थिएन । भक्तपुर काण्डको प्रतिकूल समयको स्मरण गर्दै उहाँले लेख्नुभएको छ, “म बाटोमा हिँडिरहेकी हुन्थे । तीनचार जनाको समूह कराइरहेको सुनियो, ऊ हत्याराकी स्वास्नी ¤ ती शब्दहरूले म मर्दै बाँच्थेँ । मेरो जीवनका अतिशय पीडादायी लाञ्छनाका ती संवाद कहिल्यै बिर्सन्नँ । किनभने, हत्यारा त पञ्चायती सरकार थियो ।”
वास्तवमा शोभा प्रधानलाई त्यतिबेलासम्म राजनीतिका धेरै कुरा थाहा थिएन । औपचारिकरूपमा उहाँ कुनै सङ्गठनमा आबद्ध पनि भइसक्नुभएको थिएन । उहाँको भूमिका विशेषतः ममतामयी आमा, कर्तव्यपरायण बुहारी, जिम्मेवार श्रीमती र असल शिक्षिकामा सीमित थियो । तर, कुटिल राजनीतिको कारण उहाँको जीवनमा अनपेक्षितरूपमा ठुलो सङ्कट आइलाग्यो । प्रतिक्रियावादीहरूका हजार थरी बात, दमनकारी राज्यको चौबीसै घण्टा सन्त्रास, एक्लोपनाबिच पनि उहाँले हिम्मत नहारी अध्यक्ष बिजुक्छेँलगायत निर्दोष नेता कार्यकर्तामाथि लागेको झूटो मुद्दाको विरोधमा कानुनी तथा राजनीतिक सङ्घर्ष गर्ने सङ्कल्प गर्नुभयो । नेमकिपाका निर्दोष नेता कार्यकर्तालाई पञ्चायती व्यवस्थाले दिएको सजायको विरोधमा उभिएका वकिल, पत्रकार र राजनीतिक नेताहरूको साथमा शोभा प्रधानसहित पीडित महिलाहरूले पञ्चायती व्यवस्थालाई हाँक दिए । शोभाको निम्ति त्यतिबेलाको सङ्घर्ष परिवारलाई न्याय दिने सङ्घर्षमात्र बनेन, बरू राजनीतिक र कानुनी चेतना पाउने राम्रो विद्यालय सिद्ध भयो । पत्रकार, वकिल र राजनीतिक कार्यकर्ताहरूको सङ्गत र साथ उहाँको निम्ति समयान्तरमा राजनीतिक गतिविधिमा सक्रिय हुने र आफूजस्तै राजनीतिक नेता कार्यकर्ताका जहान परिवारको निम्ति प्रोत्साहन बन्ने हौसला बन्यो ।
विवाह भएको केही वर्षमै शोभाले सामना गर्नुपरेको प्रतिकूल परिस्थितिबाट निराशा नआओस् भनेर नख्खु जेलबाट अध्यक्ष नारायणमान बिजुक्छेँले शोभाको नाममा नियमित पत्र लेख्नुभयो । ती पत्रहरूको सङ्कलन नै २०६९ भदौमा ‘जेलका चिट्ठीहरू’ नाममा पुस्तकाकारमा प्रकाशित भयो ।
शोभा प्रधान २०४० साल फागुन १९ गते रामेछाप, ठोसेको शारदा प्राविबाट वागीश्वरी मावि भक्तपुरमा सरुवा हुनुभयो । मृदुभाषी, धैर्यवान् एवम् साहसी असल शिक्षिका प्रधानले निम्न माध्यमिक तहसम्म नेपाली विषय अध्यापन गर्नुहुन्थ्यो ।
पेसाप्रति प्रतिबद्ध एक समर्पित शिक्षिका शोभा प्रधानको सक्रियतामा वागीश्वरी माविले शैक्षिक क्षेत्रमा प्रगति गरेको कुरा स्मरणयोग्य छ । उहाँ धेरै विद्यार्थी र सहपाठीका प्रिय शिक्षिका पनि हुनुहुन्थ्यो ।
२०४७ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँसहित नेता कार्यकर्ता रिहा हुनुभयो । रिहाइपछि उहाँ राजनीतिक गतिविधिमा थप सक्रिय हुनुभयो । २०४७ सालपछि भने शोभा आफै पनि नेमकिपाका जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घ र नेपाल क्रान्तिकारी शिक्षक सङ्घमा आबद्ध भई विभिन्न जिम्मेवारीमा सक्रिय हुनुभयो ।
शिक्षिका शोभा प्रधान २०५४ सालदेखि २०६५ सालसम्म नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिको सदस्य र २०६५ साल माघ (१४–१५) को प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य हुनुभयो । २०७० चैत २४–२५ गते सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा अध्यक्ष मण्डलको सदस्य भई सम्मेलन सफल पार्न उहाँले योगदान पु¥याउनुभयो । उहाँ पुनः केन्द्रीय सदस्यमा सर्वसम्मतले चयन हुनुभयो । २०७५ कार्तिक १७–१९ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले उहाँलाई पुनः केन्द्रीय सदस्यमा सर्वसम्मतले चयन ग¥यो ।
शिक्षकहरूको हकहितको लागि भएका गतिविधिहरूमा सक्रिय हुनुभएका शिक्षिका शोभा प्रधान शिक्षक आन्दोलनको समयमा २०६० साल पुसमा काठमाडौँको भोटाहिटीमा पक्राउ पर्नुभयो । सशस्त्र प्रहरीको हलचोकमा राखिएका शिक्षकहरूलाई उत्साहित गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँले ‘शिक्षक’ र ‘शिक्षिका’ बुलेटिन प्रकाशन गर्ने काममा महत्वपूर्ण भूमिका खेल्नुका साथै ‘केटीहरू’ बुलेटिन प्रकाशनमा पनि जिम्मेवारी पूरा गर्नुभयो ।
प्रकाशित बुलेटिनहरूको अन्तरक्रिया, छलफल र बैठकहरूमा सहभागी भई आयोजकको भूमिकासमेत निर्वाह गर्नुभएका शिक्षिका शोभा प्रधानले अस्थायी शिक्षक, विद्यालय कर्मचारी, राहत शिक्षक आदिको पक्षमा भएका आन्दोलनमा सङ्गठनले दिएको जिम्मेवारी पूरा गर्नुभयो । उहाँको अनिवार्य अवकास २०७७ साल पुस १३ गते भएको थियो । उहाँले २०७७ फागुन १२ गते भएको बिदाइ कार्यक्रममा रु. २ लाख प्रदान गरी शिक्षक कर्मचारी स्वास्थ्योपचार कोष निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
राजनीतिकरूपमा सचेत र सक्रिय हुन नपाउँदै २०४५ सालको काण्डमा भोग्नुपरेको समस्याबाट पाठ सिकेर शोभा प्रधान नेपाल क्रान्तिकारी महिला सङ्घमा आबद्ध हुनुभयो र कामदार महिलालाई राजनीतिकरूपमा सचेत र सङ्गठित बनाउने अभियानमा जुट्नुभयो । २०५३ सालबाट पुनः प्रकाशन हुन थालेको ‘केटीहरू’ नामको महिला बुलेटिन प्रकाशनको उहाँ सल्लाहकार हुनुहुन्थ्यो । ‘केटीहरू’ बुलेटिनमा उहाँले महिला अधिकार, महिला स्वास्थ्य, सम्पत्ति आदि विभिन्न विषयमा नियमित कलम चलाउनुभयो । २०६३ सालको चैतमा भएको नेपाल क्रान्तिकारी महिला सङ्घको प्रथम राष्ट्रिय सम्मेलनपछिको पहिलो बैठकमा शोभा प्रधानलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिइयो ।
२०५६ सालमा उहाँ स्तन क्यान्सरले बिरामी पर्नुभयो । शल्यक्रियालगायत विभिन्न उपचार विधिबाट त्यतिबेला सो रोगबाट मुक्त हुनुभयो । आफूजस्तै देशका धेरै महिलाले क्यान्सरलगायत प्राणघातक रोगबाट पिरोलिएको बोध गरी उहाँ नेपाल क्रान्तिकारी महिला सङ्घले आयोजना गरेका महिला स्वास्थ्य शिविरहरूमा सक्रिय हुनुभयो । सो क्रममा आयोजित स्वास्थ्य शिविरमा झण्डै ७/८ हजार महिलाको पाठेघरको परीक्षण गरिएको थियो । नेक्रामसङ्घले देशका विभिन्न जिल्ला र सहरमा आयोजना गरेका विविध विषयका अन्तरक्रिया कार्यक्रममा उहाँ वक्ताको रूपमा सहभागी बन्नुका साथै देशभरका महिलाको अवस्था र समस्याबारे अध्ययन पनि गर्नुभयो । २०४५ साल भदौ ९ को भक्तपुर काण्डको भत्र्सना गर्न हरेक वर्ष आयोजना गरिने कार्यक्रममा उहाँ वक्ताको रूपमा सहभागी बनी देश र जनताको पक्षमा सक्रिय हुनु भई राजनीतिक पार्टीहरूविरुद्ध फेरिफेरि पनि भक्तपुर काण्ड हुनसक्ने भनी सजग बनाउनुभयो । प्रतिकूल स्वास्थ्यबिच पनि महिलाहरूका गतिविधिमा सहभागी बन्न उहाँलाई केहीले छेकेन ।
२०५३ सालमा तत्कालीन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारको गृहमन्त्री वामदेव गौतमले ल्याएको आतङ्कवाद नियन्त्रण (कालो) विधेयकको विरोधमा नेमकिपाले गरेको सङ्घर्षमा उहाँ पक्राउ पर्नुभयो । त्यस्तै, शिक्षकको हकहितको निम्ति भएका सङ्घर्षमा पटक–पटक पक्राउ पर्नुभयो ।
उहाँका सहकर्मी महिला कार्यकर्ता उहाँको धैर्य, हँसिलो मुहार, मिजासिलो व्यवहार स्मरण गर्छन् । परिवारका सबै साना–ठुला उमेरका सदस्य उहाँलाई स्नेही अभिभावकको रूपमा स्मरण गर्छन् । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँका विभिन्न क्षेत्रका प्रबुद्ध मित्रहरू उहाँलाई व्यवहार कुशल व्यक्तिको रूपमा स्मरण गर्नुहुन्छ भने पार्टी कार्यकर्ताहरू अनुहार नियालेर नै भोकाएको, थाकेको ठम्याउन सक्ने पार्टी कार्यकर्तालाई माया गर्ने कामरेडको रूपमा स्मरण गर्छन् ।
आफू क्यान्सरको बिरामी भए पनि उहाँले क्यान्सरसम्बन्धी विभिन्न संस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी बनेर, पत्रपत्रिकामा लेख लेखेर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन सहयोग गर्नुभयो ।
देश र जनताको सेवामा राजनीति गरेका कार्यकर्ताको जीवनमा प्रतिकूलता स्वाभाविक सिलसिला हुने गर्छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिलाई आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा पूरा गर्ने, सत्ता प्राप्तिको बाटो, सुख सुविधाको मार्गको रूपमा कहिल्यै पनि लिनु भएन । उहाँले सधैँ देश र संसारका श्रमिक जनतालाई केन्द्रमा राखी समाजवाद र साम्यवादी व्यवस्था स्थापनाको कठिन बाटोलाई नै जीवनको लक्ष्य मान्नुभयो र त्यसमा अथक एवम् सम्झौताहीन ढङ्गमा लाग्नुभयो । उहाँ सिद्धान्तनिष्ठ र नैतिकवान् राजनीतिज्ञको उदाहरण हुनुहुन्छ । उहाँको यो निष्ठाको राजनीतिको असल बाटोमा अथक र अविचलितरूपमा साथ दिनुभयो शोभा प्रधानले । अध्यक्ष बिजुक्छेँको स्वास्थ्य, समयमा खानपिन, कार्यक्रमको व्यवस्थापन उहाँको सधैँको प्राथमिकताको विषय बन्यो । बिजुक्छेँ निवासमा लगातार आइरहने पाहुना, नेता कार्यकर्ता र सर्वसाधारणको सत्कार एवम् स्वागतमा उहाँले कहिल्यै थकानको अनुभव गर्नुभएन । उहाँले उही हँसिलो मुहारका साथ स्वागत गरिरहनुभयो ।
तर, २०५६ सालमा स्तन क्यान्सरलाई पराजित गरी जीवनमा नयाँ सङ्घर्ष थाल्नुभएकी शोभालाई २०७४ सालमा पाठेघरको क्यान्सर भयो । क्यान्सरजस्तो प्राणघातक रोग लाग्दा पनि उहाँ कत्ति पनि विचलित हुनुभएन । उहाँको आत्मविश्वास देखेर उपचारमा लागेका स्वास्थ्यकर्मी र चिकित्सक नै चकित भएका थिए । क्यान्सरले आफ्नो शरीर शिथिल बन्दै गए पनि उहाँले अध्यक्ष बिजुक्छेँका नियमित गतिविधिमा सकभर कुनै बाधा अड्चन नआओस् भन्ने मनसाय राख्नुहुन्थ्यो । पार्टी गतिविधिमा विगतमा जस्तो सक्रिय हुन नसके पनि पार्टी कार्यकर्ता र महिलाहरूलाई हौसला दिने काम गरिरहनुभयो । निधनको केही दिनअघि मात्र पनि उहाँलाई भेट्न अस्पताल पुगेका शुभचिन्तकहरू उहाँको उच्च मनोबल र हँसिलो मुहार देखेर खुसी भएर फर्के । यो पटक पनि क्यान्सरलाई परास्त गरेर घर फर्कने विश्वास धेरैले लिए ।
तर, आधुनिक चिकित्साशास्त्रको सीमाभन्दा पर पुगेर क्यान्सरले हमला गरेपछि उहाँको केही लागेन । २०७९ असार ८ गते उहाँको निधनपछि नेपालको क्रान्तिकारी महिला आन्दोलनले एक जना समर्पित कार्यकर्ता, ज्ञानको ज्योति बाँडेर समाजलाई उज्यालो बनाउने सपना देख्नुभएका उदाहरणीय शिक्षिका र परिवारको अभिभावक गुमाएको छ । नेपाल मजदुर किसान पार्टीले गहिरो क्षति व्यहोरेको छ । शोकलाई शक्तिमा बदलेर सङ्घर्षलाई चालु राख्नु पार्टीका सम्पूर्ण कार्यकर्ता, सदस्य, समर्थक तथा शुभचिन्तकहरूको जिम्मेवारी हो । त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
कामरेड शोभा प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँको योगदान र सहृदयी व्यक्तित्वलाई भावी पुस्ताले सधैँ स्मरण गरिरहनेछ ।
स्रोत : स्मृतिमा कामरेड शोभा
Leave a Reply