जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
नेपालको संविधानअनुसार स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित भई कार्य गरेको दुई वर्ष पूरा भई तेस्रो वर्षमा कार्यरत छौँ । हामी दोस्रो कार्यकालको तेस्रो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छौँ । भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरवासीहरूको सधैँ साथ र सहयोग प्राप्त हुँदै छ । नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्नुहुने तमाम नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ को नारालाई सार्थक बनाउन, भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन र भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न हाम्रा अग्रजहरूले देख्नुभएको सपनालाई साकार पार्न हामी जनप्रतिनिधिहरू निरन्तर कार्यरत छौँ । नगरपालिकामा प्राप्त सीमित स्रोत र साधनहरूको अधिकत्तम सदुपयोग गरी नगरको शिक्षा, स्वास्थ्य उपचार, कला–संस्कृति र सम्पदा संरक्षण, सरसफाइ तथा विकास निर्माणका कार्यहरू गर्दै छौँ ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई आधार बनाएर कार्य गर्दै छौँ । आज भक्तपुर आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै छ । भक्तपुरको उन्नत्ति र विकासको निम्ति हामीले धेरै कार्यहरू गर्न बाँकी छ । संविधान र कानुनले दिएका अधिकारभित्र रही हामीले भक्तपुरवासीहरूको हितलाई केन्द्रमा राखेर कार्य गर्दै छौँ ।
नाचगानको राजधानी, जीवित सङ्ग्रहालय र सांस्कृतिक नगरको उपमा पाएको भक्तपुर नगरलाई थप उचाइमा पु¥याउन जनतासँग नियमित छलफल गरी हामी जिम्मेवारीपूर्वक काम गर्दै छौँ । नेपाल मजदुर किसान पार्टीले जारी गरेको स्थानीय निर्वाचन घोषणापत्र नै हाम्रो काम गर्ने आधार हो । निर्वाचनमा भक्तपुरवासी जनताले आफ्नो अमूल्य मतमार्फत हामीलाई दिनुभएको विश्वास नै हाम्रो काम गर्ने शक्ति वा आत्मबल हो । स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा दिने हाम्रो भावना हो । हामीले सोही भावनाअनुरूप काम गर्दै छौँ । निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन हामीले एक एक गरी पूरा गर्दै छौँ ।
नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकारमध्ये स्थानीय तह जनताको सबभन्दा नजिकको सरकार हो । स्थानीय तहप्रति जनताको पूर्ण विश्वास पनि रहँदै आएको पाइन्छ । जनताको आशा र अपेक्षाअनुसार काम गर्न स्थानीय तहलाई अधिकारसम्पन्न बनाइनु आवश्यक छ । स्थानीय तह शक्तिशाली भएमा मात्र जनताले छिटोछरितो सेवा प्राप्त गर्न सक्छन् । सङ्घीयताको मुख्य उद्देश्य नै अधिकार विकेन्द्रित गरी सिंहदरबारमा केन्द्रित अधिकारलाई स्थानीय तहसम्म पु¥याउनु हो । तर, सङ्घ र प्रदेश सरकारहरूको कार्यशैली भने फरक देखिँदै छ । संविधानको भावना र मर्मविपरीत स्थानीय तहलाई कानुन प्रदत्त अधिकारसमेत सङ्घ र प्रदेश सरकारहरूले एक एक गरी अपहरण गर्ने कोसिस गर्दै छन् । यो सङ्घ र प्रदेश सरकार सञ्चालन गर्नेहरूमा एकात्मक सोच हुनुको परिणाम हो ।
संविधानले मावि तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएकोमा जिल्ला शिक्षा समन्वय एकाइ खडा गरेर सङ्घले छुट्टै कार्य गर्नु र संसद्मा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय स्थापनाको प्रावधान राख्नु यसको उदाहरण हो । सङ्घ र प्रदेशले स्थानीय तहलाई आफ्नै एकाइजस्तो व्यवहार गर्नु, दुई चार लाखका स–साना योजनाहरू समेत सङ्घ र प्रदेशको बजेटमा समावेश गर्नु, समानीकरण अनुदान बढाउनुपर्नेमा सशर्त अनुदान बढाउँदै लानु सङ्घीयता र संविधानको मर्म र भावनाविपरीतका कार्यहरू हुन् ।
सङ्घ र प्रदेशले लामो समयसम्म संविधानमा रहेका साझा सूचीका अधिकारहरूबारे आवश्यक कानुनहरूको निर्माण नगर्नु, पुरानै ऐनहरू प्रचलनमा रहनुले पनि देशभरका स्थानीय तहहरूले समस्या भोग्दै छन् । स्थानीय तहले राम्रोसँग काम गर्ने हो भने त्यसलाई आवश्यक कर्मचारीको बन्दोबस्त गर्ने अधिकार हुनुपर्छ । अहिले स्थानीय तहहरूले प्रदेश लोकसेवाबाट पठाइएका कर्मचारीहरूको भरमा काम गर्न बाध्य छन् । यसले जनप्रतिनिधिहरूको भावनाअनुसार जनताको सेवा हुनसक्ने स्थिति छैन । आवश्यक परे संविधान संशोधन गरेरै भए पनि स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिन सङ्घ र प्रदेशसभाका माननीयहरूको ध्यानाकर्षण गर्न चाहन्छौँ ।
भक्तपुर नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरेर देशभरका जनताका छोराछोरीलाई सस्तो र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको लागि संसद्बाट विधेयक पारित गर्ने कार्यमा जोड दिँदै आएका छौँ । त्यसैगरी, जनताको स्वास्थ्य उपचार सहज उपलब्ध गर्न घरदैलो नर्सिङ सेवा, १०० शøयाको ख्वप अस्पताल सञ्चालन र वडा वडामा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरी सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ ।
नेपालको संविधानअनुसार भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचारसँगै सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण तथा विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरी व्यापक जनताको हितमा समाजवादउन्मुख कार्य गर्दै छ ।
आ.व. २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न स्थानीय बुद्धिजीवी, मजदुर, किसान, महिला, युवा–विद्यार्थी, शिक्षकहरूलगायतको वडा र नगरस्तरीय भेलाहरू सम्पन्न गर्यौँ । ती भेलाहरूबाट नगर विकासका लागि महत्वपूर्ण सुझावहरू प्राप्त गरेका छौँ । त्यसैगरी अनलाइन र अन्य माध्यमबाट प्राप्त सुझावहरू समेतलाई ध्यानमा राखेर आगामी वर्षमा प्राप्त हुने अनुमानित स्रोतसमेतलाई आधार बनाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छौँ :
क) शिक्षा :
१. सङ्घीय संसद्बाट ख्वप विश्वविद्यालय सञ्चालन विधेयक पारित गराउन निरन्तर पहल जारी राखिनेछ र विज्ञहरूको टोली बनाई ख्वप विश्वविद्यालय सञ्चालन तयारी समिति गठन गरिनेछ ।
२. भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ विषयहरू थप गरिँदै लगिनेछ । सीटीईभीटीबाट सम्बन्धन प्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा रेडियोलोजी, एचए, फार्मेसीलगायतका विषयहरूका कक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिनेछ ।
३. भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा २०८१ साल माघ महिनामा ‘भूकम्प इन्जिनियरिङ’ विषयमा राष्ट्रिय सम्मेलन र २०८२ सालमा ‘भूकम्प इन्जिनियरिङ तथा विपद्पश्चात्को पुनःनिर्माण’ शीर्षकमा चौथो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ । शिक्षक कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययन (विद्यावारिधि÷एमफिल) मा दिइआएको प्रोत्साहनलाई थप व्यवस्थित गर्दै निरन्तरता दिइनेछ । त्यस्तै, ख्वप कलेजमार्फत पनि अन्तर्राष्ट्रिय सम्मेलनको तयारी थालिनेछ ।
४. भक्तपुर नगरपालिकाभित्रका पर्यटन, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र संरक्षण, सहकारी, कृषि, खानेपानी, वातावरण, सरसफाइजस्ता विषयहरूको अध्ययन अनुसन्धान गर्नेहरूका लागि अनुसन्धान वृत्तिको व्यवस्था गरिनेछ ।
५. नगरवासी विद्यार्थीहरूलाई इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, राजनीतिशास्त्र, दर्शनशास्त्र, तर्कशास्त्रजस्ता विषयहरूमा स्नातकदेखि विद्यावारिधिसम्म पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएकोलाई निरन्तरता दिइनेछ र उच्च शिक्षाको लागि प्रदान गर्दै आएको शैक्षिक ऋणलाई पनि निरन्तरता दिइनेछ ।
६. अनुसन्धान र सूचना व्यवस्थापन केन्द्र स्थापना गरी उच्च शैक्षिक संस्था तथा अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी भक्तपुर नगरपालिकाभित्रका विभिन्न विषयहरूको बारेमा अध्ययन अनुसन्धानको व्यवस्था गरिनेछ ।
७. शिक्षालाई ज्ञान र सीपसँग जोड्न विभिन्न प्रकारका व्यवसायिक र सीपमूलक तालिमहरू सञ्चालन गरिनेछ ।
८. सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि समय समयमा शिक्षकहरूलाई पुनर्ताजगी तालिमहरू दिइनेछ । विद्यार्थीहरूमा नागरिक भावनाको विकास गर्न नैतिक र व्यवहारिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
९. नेपालभाषालाई स्थानीय पाठ्यक्रममार्फत विद्यालयहरूमा अध्ययन अध्यापनको व्यवस्था गर्न आवश्यक तयारी गरिनेछ । नेपालभाषा र लिपि तथा मूर्तिकला, चित्रकला, प्रस्तरकला, सङ्गीत, नृत्य कक्षाहरू क्रमशः सञ्चालन गर्दै लगिनेछ ।
१०. विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय जनजीवन, सम्पदा संरक्षण, खेलकुद गतिविधि, सङ्गीत साधनाजस्ता अतिरिक्त क्रियाकलापहरूमा सहभागी गर्ने व्यवस्था मिलाइनेछ । साथै समय समयमा हाजिरीजवाफ, निबन्ध, सांस्कृतिक, चित्रकला प्रतियोगिता आयोजना गरिनेछ ।
११. स्थानीय पाठ्यक्रमसँग सम्बन्धित सन्दर्भ सामग्रीहरूको प्रकाशनलाई निरन्तरता दिइनेछ । समयानुकूल स्थानीय पाठ्यक्रम परिमार्जन गरिनेछ र भक्तपुरका सांस्कृतिक तथा सामाजिक पहिचान झल्किने सांस्कृतिक सङ्ग्रहालय निर्माणको लागि आवश्यक तयारी गरिनेछ ।
१२. विद्यालयले हासिल गरेको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यालय घोषणा गरी प्रोत्साहनको व्यवस्था गरिनेछ । मावि तहको विद्यालयहरूमा क्रमशः गणित प्रयोगशालाको व्यवस्था गर्दै लगिनेछ ।
१३. ‘एक विद्यालय, एक सम्पदा सरसफाइ’ को नीतिलाई प्रभावकारी बनाइँदै लगिनेछ र विद्यालयहरूमा स्काउट टोली गठन, नियमित खेलकुद र सांस्कृतिक प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
१४. विद्यालयहरूको गुणस्तर वृद्धिको लागि विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिबाट भइरहेको कार्यलाई समयानुकूल सुधार गरी प्रभावकारी
बनाउँदै लगिनेछ । समितिको सिफारिसमा विद्यालयको भौतिक संरचना निर्माणको लागि पनि सहयोगको नीति लिइनेछ ।
१५. बाल विकास केन्द्र सञ्चालन गरिएका विद्यालयहरूलाई व्यवस्थित गर्न त्यस्ता विद्यालयहरूलाई सहयोगको नीति अवलम्बन गरिनेछ र विद्यालयहरूको अवस्था हेरी कक्षा सञ्चालन तथा शिशुस्याहार केन्द्रको रूपमा विकास गरिनेछ । अपाङ्गता भएका विद्यार्थीहरूलाई प्रोत्साहनको नीति लिइनेछ ।
१६. भक्तपुर नगर क्षेत्रमा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न सङ्घ संस्थामा इन्टर्नसीप, आंशिक रोजगारी र कार्यस्थलमा तालिम (अन द जब ट्रेनिङ) को व्यवस्था मिलाइनेछ ।
१७. नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालय र इ—लाइब्रेरीलाई अझ व्यवस्थित गर्न आवश्यक पुस्तक तथा सन्दर्भ स्रोतहरूको व्यवस्थाको साथै भौतिक सुधारहरू गर्दै लगिनेछ ।
१८. ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीको न्यूनत्तम पारिश्रमिकको व्यवस्था गरिनेछ ।

ख) स्वास्थ्य :
१९. भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई थप सुविधा सम्पन्न र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने जनताको अस्पतालको रूपमा विकास गरिनेछ । त्यसको लागि भौतिक पूर्वाधार निर्माण, आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणहरूको बन्दोबस्त गरिनेछ । यस अस्पतालमा सघन उपचार कक्ष (आईसीयू), सीटी स्क्यान र जनरल सर्जरीअन्तर्गत शल्यक्रियाहरूमा ल्याप्रोस्कोपिक सेवा नियमित सञ्चालनमा ल्याइनेछ । नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागु गरिनेछ । गरिब तथा असहायहरूलाई गर्दै आएको निःशुल्क उपचार सेवालाई निरन्तरता दिइनेछ ।
२०. नगरवासीहरूलाई छिटो छरितो स्वास्थ्य उपचार सेवा प्रदान गर्न नगरका विभिन्न स्थानहरूमा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र, जनस्वास्थ्य केन्द्रहरूमा समेत विशेषज्ञ सेवा विस्तार गर्दै लगिनेछ । वडा नं. ७ र १० मा निर्माणाधीन स्वास्थ्य केन्द्रहरूलाई सञ्चालनमा ल्याइनेछ ।
२१. सम्पूर्ण नगरवासीहरूलाई ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन निःशुल्क वितरणका साथै निःशुल्क रगत वितरण कार्यलाई निरन्तरता दिइनेछ । १३ वर्ष मुनिका बालिकाहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप वितरण गरिनेछ ।
२२. घरदैलो नर्सिङ सेवा र श्वासप्रश्वास पुनःस्थापना केन्द्रलाई थप प्रभावकारी बनाउँदै लगिनेछ । ख्वप तिलगङ्गा आँखा अस्पतालमा उपचार सेवा विस्तार गर्दै सुविधासम्पन्न आँखा अस्पतालको रूपमा विकास गरिनेछ ।
२३. स्तन तथा पाठेघर क्यान्सर, आँखा, दाँत, नाक, कान, घाँटी र अन्य विभिन्न रोगहरू सम्बन्धमा वडा वडामा नियमित स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ । नागरिक आरोग्य केन्द्रबाट भइरहेको सेवालाई जनमुखी बनाउँदै सेवालाई क्रमशः विस्तार गर्दै लगिनेछ ।
ग) सम्पदा र संस्कृति :
२४. देशको महत्वपूर्ण सम्पत्तिको रूपमा रहेको भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणको नीतिलाई निरन्तरता दिइनेछ । नगरका विभिन्न स्थानमा अवस्थित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका घाटहरूको सुधार र संरक्षणलाई व्यवस्थितरूपमा अगाडि बढाइनेछ ।
२५. निर्माणाधीन लक्ष्मी नरसिंह मन्दिर, हाडा छेँ, छुमा गणेशको द्यो छेँ, इन्द्रायणी द्योछेँ सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ । दरबार क्षेत्रस्थित थन्थु दरबार, इखालाछी मठ, लाय्कु पाहाँ छेँ मौलिक शैलीमा पुनःनिर्माण गरिनेछ ।
२६. भक्तपुरको मौलिकता बचाइराख्न परम्परागत घर निर्माण गर्ने घरधनीहरूलाई इँटा, काठ, झिङ्गटीको लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ ।
२७. कला–सङ्ग्रहालय रहेको न्ह्यकं झ्यः दरबार पुनःनिर्माण कार्य अगाडि बढ्न नसकिरहेको हुँदा नेपाल सरकार, संस्कृति मन्त्रालय, पुरातत्व विभागसँग समन्वय गरी निर्माणको आवश्यक बन्दोबस्त गरिनेछ । भक्तपुरको वसन्तपुर दरबार, ९९ चोक, जगन्नाथ क्षेत्र, तालादोम्फोलगायत सांस्कृतिक र पुरातात्विक महत्व बोकेका स्थलहरूको अध्ययन अनुसन्धानलाई निरन्तरता दिइनेछ ।
२८. कला संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयहरूमा सांस्कृतिक गुरुहरूको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति लिइनेछ ।
२९. वडा वडामा रहेका जीर्ण र लोपोन्मुख सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार गर्न वडास्तरमै सम्पदा संरक्षणका लागि छुट्टै बजेटको व्यवस्था गरिनेछ ।
३०. भूकम्पबाट क्षतिग्रस्त पुनःनिर्माण गर्न बाँकी घरहरू र नयाँ निर्माण हुने घरहरू माटो जोडाइमा बनाउन प्रोत्साहित गरिनेछ ।
३१. नगरभित्र रहेका पुरातात्विक महत्वका निजी घरहरू विविध कारण घरधनी स्वयम्ले समयमा नबनाउँदा सम्पदा नै लोप हुने अवस्था भएमा नगरपालिकाले लागत घरधनीबाट असुल उपर गरी लिने गरी प्रकृया पु¥याई निर्माण गर्ने नीति लिइनेछ ।
३२. भक्तपुरको परम्परागत जनजीवन झल्किने सङ्ग्रहालय निर्माण गरिनेछ ।
३३. परम्परागत बाजाहरूको प्रतियोगिता गरी उत्साहित गरिनेछ र सांस्कृतिक गुरुहरूको उचित सम्मान गरिनेछ । सांस्कृतिक क्षेत्रलाई क्रमशः व्यवसायीकरण गर्दै लगिनेछ ।
३४. सांस्कृतिक बाजागाजाको बोललाई क्रमशः लिपिबद्ध गर्दै संरक्षणको नीति लिइनेछ । साथै दाफा भजनको थ्या साफु पुनः प्रकाशन गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
३५. परम्परागत बाजागाजा एवम् नृत्य प्रशिक्षण दिन टोल समुदायलाई उत्साहित गरिनेछ । लोपोन्मुख खःप्याखंलाई पुनर्जीवन दिन आवश्यक व्यवस्था मिलाइनेछ ।
घ) कृषि :
३६. घर घरबाट निस्किने कुहिने फोहरबाट प्राङ्गारिक मल सी.एन.बी.एम. प्रविधिबाट निर्माण कार्य गर्दै आएकोमा थप व्यवस्थित गरी किसानहरूलाई वितरण गरिनेछ । फोहरलाई स्रोतमै छुट्याउन र स्रोतबाटै फोहर कम गर्न नगरवासीहरूलाई प्रोत्साहित गरिनेछ । भक्तपुर नगरपालिकाद्वारा उत्पादित कम्पोस्ट मल प्रयोग विधिबारे किसानहरूलाई आवश्यक तालिम दिई कम्पोस्ट मल प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।
३७. माटोको गुणस्तर कायम गर्न समय समयमा माटो परीक्षणको व्यवस्था मिलाइनेछ ।
३८. किसानहरूबाट उत्पादित कृषि उत्पादन व्यवस्थित बिक्री वितरणको लागि भनपा वडा नं ५ मा निर्माणाधिन तरकारी बजार सञ्चालनमा ल्याइनेछ । कृषि मेला तथा स्थानीय उत्पादन मेला सञ्चालन गरिनेछ ।
३९. किसानहरूबाट उत्पादित तरकारी, फलफूललगायत कृषि उपज सङ्कलन तथा भण्डारणका लागि निर्माणाधीन चिस्यान केन्द्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
४०. कृषकहरूको सुविधाका लागि कानुन बनाई कृषि ऋणको व्यवस्था गरिनेछ ।
४१. नगरपालिकाले सहुलियत दरमा किसानहरूलाई बीउबिजन वितरण र कृषि चुनको प्रयोगलाई प्राथमिकता दिइनेछ । वडा वडामा रहेका कृषक समूहहरूलाई सक्रिय बनाइनेछ । स्थानीय बीउहरूको संरक्षणलाई जोड दिइनेछ । कौसी खेतीलाई प्रवद्र्धन गरिनेछ ।
४२. कृषकहरूको सम्मान गर्ने र कृषि पेसाप्रति युवा पुस्तालाई आकर्षित गर्न स्थानीय पाठ्यक्रममा कृषि विषयलाई समावेश गरिनेछ ।
४३. कृषिसम्बन्धी अध्ययन र अनुसन्धान गर्न खाद्य गुणस्तर तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।
४४. किसान, मजदुर, डकर्मी, सिकर्मीहरूलगायतका पेसाकर्मीहरूको सूचीकरण गरी परिचयपत्र वितरण गरिनेछ ।
४५. पशुपन्छीहरूलाई रोगबाट बचाउन आवश्यक खोपको व्यवस्था गरिनेछ ।
४६. सडकमा जथाभावी छाडिएका दोपाया, चौपाया नियन्त्रणका लागि आवश्यक व्यवस्था गरिनेछ ।
ङ) पर्यटन :
४७. आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि समय समयमा सन्ध्याकालीन पदयात्रा कार्यक्रम गरिनेछ ।
४८. भक्तपुरको सांस्कृतिक सम्पदाहरू प्रवद्र्धन गर्न र आन्तरिक र बाह्य पर्यटन विकासको लागि उपयुक्त समयमा भक्तपुर महोत्सव आयोजना गरिनेछ ।
४९. भक्तपुर नगरका मूर्त अमूर्त सम्पदाहरूबारे आन्तरिक एवम् बाह्य पर्यटकलाई विस्तृत जानकारी दिन पर्यटकहरूलाई भ्रमण गराउने नयाँ तथा विस्तारित रुटको व्यवस्था गरिनेछ ।
५०. भक्तपुर नगरपालिकाद्वारा निर्मित स्वचालित शौचालय (ई—ट्वाइलेट) सञ्चालनमा ल्याइनेछ ।
५१. यहाँका कला, संस्कृति, सम्पदा आदिबारे प्रोमो, वेभसाइट, मोबाइल एप्स र डकुमेन्ट्रीको निर्माण गरी भक्तपुर नगरसम्बन्धी प्रचारप्रसार गरिनेछ ।
५२. पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूबिच समय समयमा कार्यशाला, गोष्ठीहरूको आयोजना गरिनेछ । होम स्टे र फेमिली स्टेका लागि आवश्यक तालिमहरूको व्यवस्था गरिनेछ ।
५३. पर्यटनसँग सम्बधित विषयहरूबारे अध्ययन अनुसन्धानलाई प्रोत्साहित गरिनेछ ।
५४. नगरको उपयुक्त स्थानमा सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गरिनेछ ।
५५. सम्पदा तथा नगरका सडकहरूमा आवश्यक बत्तीको व्यवस्था गरी रात्रीकालीन पर्यटन विकासको लागि प्रोत्साहित गरिनेछ । साथै सुरक्षा प्रबन्धका लागि आवश्यक स्थानहरूमा सीसी क्यामेरा जडान गरिनेछ ।
५६. आन्तरिक र बाह्य पर्यटकहरू बढ्दो क्रममा रहेकोले आवश्यकताअनुसार नगरका विभिन्न ठाउँमा बस पार्क र शौचालयहरू निर्माण गरिनेछ ।
५७. स्थानीय परम्परागत सीपलाई स्थानीय जनताको आय आर्जनको स्रोतको रूपमा विकास गरिनेछ ।
५८. आन्तरिक र बाह्य पर्यटकहरूलाई अमूर्त सम्पदाहरूको परिचय दिन र पर्यटकहरूको बसाइँ लम्ब्याउन समय समयमा सांस्कृतिक प्रदर्शनी गरिनेछ ।
५९. नगरका पोखरीहरूमा पनि आवश्यक बत्तीको व्यवस्था गरी ती ठाउँहरू पनि आन्तरिक र बाह्य पर्यटकहरू आकर्षित गरिनेछ ।
६०. स्थानीय उत्पादन प्रवद्र्धन तथा खरिद प्रक्रियाका लागि उत्साहित गर्ने नीति बनाइनेछ ।
६१. जनप्रतिनिधिहरूको अगुवाइमा सम्पदा क्षेत्र तथा खुला स्थानमा पाक्षिक सरसफाइ कार्यलाई निरन्तरता दिइनेछ ।
६२. बढ्दो प्लास्टिकजन्य प्रदूषण न्यूनीकरणका लागि नगरपालिका क्षेत्रभित्र प्लास्टिकको झोला निषेध गरिनेछ । साथै पुनःप्रयोग गर्न मिल्ने कपडाको झोलाहरूको प्रयोगलाई प्रोत्साहित गरिनेछ ।
६३. नगरको सौन्दर्यीकरणलाई जोड दिइनेछ । नयाँ तथा विस्तारित आवास क्षेत्रमा घरको नक्सा पास गर्दा घर अगाडि कम्तीमा एउटा रुख रोप्ने तथा पुरानो बस्तीमा घर अगाडि फूलसहितको गमला राख्न उत्साहित गरिनेछ ।
६४. नगरका विभिन्न पोखरी तथा सम्पदा परिसरमा आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण वृद्धि गर्न पर्यटकीय गतिविधिहरू वृद्धि गरिनेछ ।
च) वातावरण र सरसफाइ :
६५. नगरका विभिन्न ठाउँहरूमा हरियालीको विकास गरी पर्यावरणमा सुधार ल्याइनेछ ।
६६. नगरको सौन्दर्यमा बाधा पु¥याइरहेको विद्युत् प्राधिकरण, दूरसञ्चार तथा विभिन्न केबुल नेटवर्कका छरपस्ट तारहरूलाई भूमिगत गरी व्यवस्थित गर्न सरोकारवाला पक्षहरूसँग छलफल गरी अगाडि बढाइनेछ ।
६७. नगरको प्रमुख सम्पदा क्षेत्रहरूमा क्रमशः यातायात निषेध गर्दै लगिनेछ र भविष्यमा प्राचीन नगरभित्र सवारी निषेध गर्न आवश्यक योजनाहरू तर्जुमा गरिनेछ ।
६८. नयाँ घर नक्सा पास गर्दा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन पार्किङको व्यवस्था घरधनी आफैले निर्माण गर्न उत्साहित गरिनेछ ।
६९. पुनःप्रयोग गर्न मिल्ने वस्तुहरूलाई पुनःप्रयोगको व्यवस्था मिलाइनेछ ।
७०. हाल निर्माणाधीन हनुमानघाट र सल्लाघारीको फोहर प्रशोधन केन्द्र (उपचार पोखरीहरू) शीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन पहल गरिनेछ ।
७१. खोला किनारा र अन्य खाली स्थानहरूमा रुख बिरुवाहरू रोपेर हरियाली प्रवद्र्धन गरिनेछ ।
७२. आधुनिक प्रविधिमार्फत सरसफाइ कार्यलाई अगाडि बढाइनेछ ।
छ) खानेपानी :
७३. पानीका स्थानीय स्रोतहरू इनार, ढुङ्गेधारा, पोखरीलगायतलाई मौलिक विधिमार्फत पुनर्जीवन दिई संरक्षण गरिनेछ ।
७४. जनसङ्ख्या वृद्धिको कारण हिउँदको समयमा भक्तपुर नगरमा पानीको निकै अभाव हुने भएकाले नगरकोटको पानीको स्रोत संरक्षणका लागि सरोकारवालाहरूबिच छलफल गरी पानीको अधिकत्तम उपयोग गर्न आवश्यक व्यवस्था गरिनेछ ।
७५. मेलम्चीको पानी घरघरमा पु¥याउने उद्देश्यले वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने र नयाँ क्षेत्रहरूमा पनि क्रमशः पाइप लाइनको विस्तार गरिनेछ ।
७६. नगरवासी व्यक्ति र समुदायलाई आकासे पानी सङ्कलन कार्यमा प्रोत्साहित गरिनेछ ।
७७. भूमिगत पानी डीप बोरिङ गर्ने कार्यलाई नियन्त्रित र व्यवस्थित गरिनेछ । साथै जमिनमुनि पानी पुनर्भरण कार्यलाई प्रोत्साहित गरिनेछ ।
ज) खेलकुद :
७८. खेलकुदलाई नागरिक जीवनको एक अभिन्न अङ्गको रूपमा विकास गर्न युवा–विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय बनाइनेछ । हरेक वर्ष हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
७९. हाल भइरहेको विभिन्न खेलहरूको प्रशिक्षण कार्यलाई निरन्तरता दिँदै नयाँ खेलहरूको प्रशिक्षण प्रारम्भ गरिनेछ ।
८०. विद्यालयहरूमा खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालय स्तरदेखि नै व्यवस्थित खेलकुद तालिमको बन्दोबस्त गरिनेछ ।
८१. शारीरिक व्यायाम (छिकोङ) को प्रशिक्षणलाई विद्यालय स्तरसम्म विस्तार गर्दै लगिनेछ ।
८२. वर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८३. सहिद स्मृति खेल मैदान र महेश्वरी खेल मैदानलाई व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।
८४. वडा वडामा रहेका खेलकुद समितिलाई सक्रिय बनाइनेछ र अन्तरवडा खेलकुद प्रतियोगिताहरू आयोजना गर्नेलाई आवश्यक आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।
८५. टोल टोलमा राखिएका खुला व्यायामशालाहरूको स्तरोन्नति गरिनेछ र अन्य ठाउँहरूमा खुल्ला व्यायामशालाहरूको विस्तार गर्दै लगिनेछ ।
८६. नगरका उपयुक्त पोखरीहरूमा युवाहरूलाई पौडी प्रशिक्षणको लागि आवश्यक व्यवस्था गरिनेछ ।
८७. टोलटोलमा विभिन्न परम्परागत खेलकुद प्रतियोगिता गर्न उत्साहित गरिनेछ र विद्यालयहरूका खेलकुद प्रशिक्षकहरूलाई आवश्यक प्रशिक्षण दिइनेछ ।
झ) युवा र आत्मनिर्भरता :
८८. युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याज दरमा युवा उद्यमशीलता ऋण वितरणलाई निरन्तरता दिइनेछ ।
८९. युवाहरूलाई सीपमूलक तालिमहरू फ्रिज, मोबाइल, वासिङ मेसिन, पानी तान्ने पम्पलगायतको मर्मतको प्रशिक्षण दिइनेछ । हाल सञ्चालित डकर्मी, प्लम्बर, विद्युत्, सिलाइ, कुक, हेयर कटिङ, बुटिकलगायतका तालिमलाई निरन्तरता दिइनेछ ।
ञ) सहकारी :
९०. सहकारी संस्थाहरूलाई प्रविधिसँग जोड्दै लगिनेछ र त्यसको लागि आवश्यक तालिमहरूको व्यवस्था गरिनेछ ।
९१. सहकारीहरूमा रहेको पुँजीलाई पर्यटन र उत्पादनमुखी कार्यमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
९२. सहकारी संस्थाहरू एक्लै वा साझेदारीमा ज्येष्ठ नागरिकहरूको सेवाको लागि आदर निकेतनहरू सञ्चालनको लागि प्रोत्साहित गरिनेछ । त्यसको लागि छुटै कार्यविधि बनाइ लागु गरिनेछ ।
९३. भक्तपुर नगरभित्र सञ्चालित सहकारीहरूमध्ये तोकिएको मापदण्डको आधारमा उत्कृष्ट सहकारीलाई पुरस्कृत गरिनेछ ।
९४. परम्परागत संस्कृति संरक्षणमा योगदान गर्ने सहकारीहरूलाई उत्साहित गर्ने नीति लिइनेछ ।
९५. सहकारी संस्थामा सुधार ल्याउन अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
९६. ‘एक सहकारी एक क्षेत्र सरसफाइ’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
९७. सहकारी सदस्यहरूको सांस्कृतिक स्तर उठाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
९८. गरिबीको कारण उच्च शिक्षा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई न्यून ब्याज दरमा शैक्षिक ऋण प्रदान गर्न सहकारीलाई उत्साहित गरिनेछ ।
९९. दैनिक बचत सङ्कलनलाई नियन्त्रणको नीति लिइनेछ ।
विविध :
१००. भक्तपुर नपा वडा नं. ६ देकोचास्थित निर्माणाधीन अरनिको सभाभवन नगरको गौरवको योजना भएकोले त्यसको लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
१०१. नगरका ज्येष्ठ नागरिकहरूको सेवाको निम्ति भक्तपुर नपा वडा नं. ६ मा निर्मित आदर निकेतन दिवा सेवा सञ्चालन गरिनेछ† त्यसको लागि आवश्यक जनशक्ति र बजेट व्यवस्था गरिनेछ ।
१०२. भनपा वडा नं. ५ मा व्यवस्थित पार्किङ निर्माण गरी सञ्चालनमा ल्याइनेछ र नगरका विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिनेछ ।
१०३. जुजु धौ, ताइचिन च्युरा, हाकुपटासी, भादगाउँले टोपी, तोरीको तेल, काष्ठकला, धातुकला, हस्तकला, मकुन्डो निर्माणलगायत घरेलु उत्पादनलाई प्रोत्साहित गरिनेछ ।
१०४. देको मिवा इतापाके जग्गा एकीकरण योजनामा बाँकी भौतिक संरचना निर्माणलाई तीव्रता दिइनेछ र जग्गा धनी र मोहीहरूको जग्गा फिर्तालाई निरन्तरता दिइनेछ । गुठी जग्गा कमाउने किसानहरूको समस्या समाधानको लागि निरन्तर पहल जारी राखिनेछ र गुनासोकर्ताहरूको निवेदनअनुसार गुनासो व्यवस्थापन उपसमितिमार्फत उचित निर्णय गरिनेछ ।
१०५. सार्वजनिक, पर्ती र सरकारी जग्गा संरक्षण गरिनेछ तथा ती जग्गाहरूलाई सार्वजनिक हितमा प्रयोगमा ल्याइनेछ ।
१०६. हनुमन्त्ते खोलाको दायाँबायाँ करिडोर निर्माणलाई अगाडि बढाइनेछ ।
१०७. हनुमन्त्ते खोला र कासाङकुसुङ खोला सरसफाइमा ध्यान दिइनेछ र ती खोलाहरू सुधारको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
१०८. भक्तपुर नगरपालिका वडा नं. २ ब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेको हस्तकला उद्योगलाई व्यवस्थितरूपमा सञ्चालनमा ल्याइनेछ ।
१०९. भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरण गरी त्यसलाई घरेलु उत्पादनमा आधारित औद्योगिक ग्रामको रूपमा विकास गरिनेछ ।
११०. भक्तपुर नगरभित्रका व्यवसायीहरूलाई सहजताका लागि सम्बन्धित पक्षहरूसँग समन्वय गरी ढक तराजु नवीकरणको व्यवस्था नगरपालिकाभित्रै गर्ने व्यवस्था मिलाइनेछ ।
१११. नगरपालिकाले आन्तरिक आय वृद्धिलाई ध्यानमा राखेर करको क्षेत्र विस्तार गर्दै लगिनेछ ।
११२. विपद्को समयमा जनतालाई सुरक्षित गर्न विपद् प्रतिकार्य तथा विपद् व्यवस्थापन विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
११३. घरदैलोमै कर सङ्कलन टोली खटाई कर सङ्कलन गर्ने व्यवस्था मिलाइनेछ ।
११४. करदाताहरूलाई कर बुझाउन सहजताका लागि क्यु आर कोडमार्फत अनलाइन राजस्व सङ्कलनको व्यवस्था गरिनेछ ।
११५. जी.पी.एस. प्रणालीसहित आधुनिक ठेगाना प्रणाली लागु गरिनेछ ।
११६. नगरमा आन्तरिक र बाह्य पर्यटकहरूको वृद्धिलाई ध्यानमा राखेर नगरका महत्वपूर्ण ठाउँहरूमा क्रमशः निःशुल्क वाइफाइको व्यवस्था गरिनेछ ।
११७. साहित्य र सांस्कृतिक प्रतिष्ठान निर्माणको तयारी गरिनेछ ।
११८. भक्तपुरका सम्पदा, वास्तुकलाको दृष्टिले भवन, टोल, पोखरी र विभिन्न विषयको जानकारी दिने सूची पुस्तक तयार गरिनेछ ।
११९. भक्तपुरमा सञ्चालित विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालहरूमा नगरवासी जनताको स्वास्थ्य उपचारमा पाइनेछुटलाई कार्यान्वयन गराउन पहल गरिनेछ ।
१२०. विद्यालय क्षेत्र, त्यस वरपर सार्वजनिक क्षेत्रमा धुुम्रपान र मद्यपान निषेध गर्ने नीति लिइनेछ ।
१२१. नगरपालिकाको ख्वप टेलिभिजन सञ्चालन गरिनेछ ।
१२२. अनलाइनमार्फत नक्सापास प्रक्रिया सुरु गरिनेछ ।
१२३. उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखी बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
१२४. नागरिकहरू आवागमनलाई अवरोध हुने गरी व्यवसाय सञ्चालन गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरिनेछ ।
१२५. युवाहरूलाई लागुऔषधको दुव्र्यसनबाट टाढा राख्न नियन्त्रण र निषेधको नीति लिइनेछ ।
१२६. अपाङ्गता भएकाहरूको लागि आवश्यकताअनुसार फिजियोथेरापी सेवा सञ्चालन गरिनेछ ।
(भक्तपुर नगरपालिकाको सो¥हौँ नगरसभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार प्रस्तुत गर्नुभएको मन्तव्य –सं.)
Leave a Reply