भर्खरै :

नगरपालिकाव्यापी माविस्तरीय पुस्तक समीक्षा प्रतियोगिता

नगरपालिकाव्यापी माविस्तरीय पुस्तक समीक्षा प्रतियोगिता

भक्तपुर, ९ असार । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ को आयोजनामा भएको मध्यपुर थिमि नगरपालिकाव्यापी माध्यमिक विद्यालयस्तरीय पुस्तक समीक्षा प्रतियोगिताका विजयी विद्यार्थीहरू पुरस्कृत भएका छन् । नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले आइतबार उनीहरूलाई एक समारोहबिच पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेको आयोजनामा भएको प्रतियोगितामा माउन्ट सिनाइ इङ्गलिश बोर्डिङ स्कूल मध्यपुर थिमिका जीनिशा गोर्खाली प्रथम हुनुभयो । प्रतियोगितामा हिमचुली एकेडेमी मध्यपुर थिमिका दिवस लामिछाने द्वितीय, आदर्श मावि लायकुका सन्दिप राई तृतीय र एसओएसका दृष्टान्त चौहान चौथो तथा सान्त्वना हुनुभयो ।
प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका क्षेत्रका २३ वटा स्कूलका ४० जना विद्यार्थीहरूले सहभागिता जनाएको आयोजक मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले बताउनुभयो । कार्यक्रममा प्रतियोगी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘मार्गनिर्देशनबारे भाइबहिनीहरूलाई चिठी’ नामक पुस्तकको समीक्षा लेख्न लगाइएको थियो ।
विद्यार्थीमा पठन संस्कृति तथा सिर्जनात्मक लेखन विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको कार्यक्रम व्यवस्थापक प्रेम के. निडरले बताउनुभयो । प्रतियोगिताका निर्णायकहरूमा अनुराधा थापामगर, केके मानन्धर र कृष्ण किसी रहनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष थापा श्रेष्ठले प्रमुख अतिथिलगायत विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद पत्र तथा मायाको चिनो वितरण गर्नुभएको थियो ।
कार्यक्रमका लागि सहयोग गर्ने एनटीभी भक्तपुरका प्रतिनिधि अंजिर विक, रेडियो जनसञ्चारका सुरेशप्रसाद सैंजू, मध्यपुर डायरीका विज्ञान श्रेष्ठ, लोकबोली डटकम अनलाइनका निशा कुस्मालगायतलाई धन्यवाद पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा आयोजक वडाका वडा सदस्य सुरेन्द्र श्रेष्ठ, पुस्तकका प्रकाशक संस्थाका अध्यक्ष दिनेश खड्गी, निर्णायकहरूमध्येबाट केके मानन्धरलगायतले प्रतियोगिताका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *