जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै सरकारले समाजवादको आधार तयार गरिरहेको उद्घोष गरे । ‘साहसिक योद्धा जगबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तकको शुक्रबार काठमाडौँमा लोकार्पण गर्दै प्रम दाहालले समाजवादको यात्रा तयार गर्नुपर्नेमा जोड दिए । सरकारले समाजवादको आधार के तयार गरिरहेको छ र सरकारको समाजवादको यात्रा कहाँ पुग्यो भन्ने प्रश्न राजनीतिक विश्लेषक र समालोचकहरूले उठाउनु स्वाभाविक हो । पुँजीवादी व्यवस्थाको यो सरकारले समाजवादको आधार तयार गरिरहेको छ भन्ने कुरा जनताले केको आधारमा विश्वास गर्ने ? पुँजीवादी सरकारले समाजवाद आधार तयार नगर्ने स्पष्ट हुँदाहुँदै अविश्वसनीय कुरा फुकेर प्रम दाहाल जनतामाझ किन झूटको खेती गर्दै छन्; किन भ्रम फैलाउँदै छन् ?
यसअघि पनि प्रम दाहाल यो सङ्घीय लोकतान्त्रिक सरकारले समाजवाद स्थापना गर्न सक्ने कुरा खोकेर हाँसोको पात्र बनेका थिए । देशमा गणतन्त्र स्थापना भएपछि पटकपटक सरकारको नेतृत्व गर्ने दलका नेताहरू आफूलाई कम्युनिस्ट भनिने एमाले र माओवादीका नेताहरू नै हुन् । तर, यहाँ समाजवादको आधार त के गन्ध पनि तयार भएको छैन । समाजवादको आधार तयार गर्न लागेको हो भने सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्छ; व्यक्तित्व विकासमा समान अवसर दिनुपर्छ; श्रमजीवी या बहुमत जनताको हितमा ऐन कानुन बनाउनुपर्छ; विदेशमा सम्पत्ति राख्न नहुने बन्दोबस्त गर्नुपर्छ; सम्पत्तिको सीमा तोक्नुपर्छ; सरकार देश र समाजप्रति समर्पित हुनुपर्छ ।
सरकारी उद्योग तथा कलकारखाना र संस्थानहरू सरकारले निजीकरण गर्नुहुँदैन । प्रगतिशील कर लागु गरिनुपर्छ । समाजवादउन्मुख राज्यको अवधारणाअनुसार सरकारले नीति तथा कार्यक्रम तयार गर्नुपर्छ । ज्येष्ठ नागरिकहरूको जीवन सुनिश्चित गर्न आदर निकेतन खोल्नुपर्छ; गाँस, बास र कपासको बन्दोबस्त हुनुपर्छ । शिशु स्याहार केन्द्र र शिशुशालाहरू खोल्नुपर्छ । सरकारले यस्ता कुनै काम गरिरहेको छैन भने देशमा कसरी समाजवादको आधार तयार हुन्छ ? समाजवादको आधार तयार गर्ने प्रचण्डको सरकारले यसअघि कम्युनिस्टविरोधी नेकासँग मिलेर देश हाँकेको थियो । अहिलेको सरकारमा पनि कम्युनिस्टको सिद्धान्त र विचारको कुनै चिन्ता र चासो नलिने दलहरू सामेल छन् । त्यस्ता दलका नेताहरूले समाजवादको निम्ति के आधार तयार गर्लान् ?
प्रम दाहाल आफैले मन्त्रीहरूको कार्यशैलीप्रति पटकपटक असन्तुष्टि जनाएका छन् । कार्यशैली चित्त नबुझेर मन्त्रिमण्डल हेरफेर गर्ने बखान उनले पटकपटक गरेका थिए । प्रमको कार्यशैलीप्रति मन्त्रीहरू पनि सन्तुष्ट छैनन् । यसरी शङ्का र अविश्वासको घेरामा बसेर सरकारको नेतृत्व गरिरहेको वर्तमान सरकारले समाजवादको आधार तयार गरिरहेको छ भनेर जनतालाई किन झुक्याउने ? के यो पनि माओवादी अध्यक्ष दाहालको क्रमभङ्ग हो ! कि सबैको घेरा या दबाबमा परेको कारण प्रम दाहालको यो छटपटी हो ? बोली र वचन ठेगान नभएका प्रम दाहालको यो जनतामाझ गुम्दै गएको विश्वासलाई मत्थर पार्ने चाल हो ?
प्रम दाहाल बोली र वचन ठेगान नभएका नेतामा पर्छन् । उनी कहिले कम्युनिस्ट एकता हतारेर गर्न नहुने विचार व्यक्त गर्छन् भने कहिले कम्युनिस्ट एकता आजको आवश्यकता भनी बोल्छन् । माओवादी अध्यक्ष दाहाल कहिले कोसँग मिल्छन् र कहिले कोसँग मिल्छन् या छोड्छन् थाहा हुँदैन । बोली वचन ठेगान नभएको नेता भन्लान् भनेर उनी त्यस्तो कदमलाई ‘क्रमभङ्ग’ भएको बताउँछन् । यस अर्थमा उनी अडान नभएका नेता हुन् । सिद्धान्त र विचार तिलाञ्जली दिएर फाइदा उठाउने अवसरवादी नेता दाहाल सरकारको नेतृत्व गर्न पाएपछि दङ्ग पर्छन् । उनी कहिले एमाले सँगसँगै बस्नै नसक्ने कुरा फुक्छन् त कहिले काङ्ग्रेससँग मिलेर जान नसक्ने फुक्छन् । तर, ती नै दलका नेताहरूसँग उनी साँठगाँठ गर्छन् । यसरी सिद्धान्त र विचारमा अडेर राजनीति नगर्ने प्रम दाहालले पुँजीवादी सरकारमा बसेर कस्तो समाजवादको आधार तयार गरिरहेको हो, बुझिनसक्नु छ ।
Leave a Reply