भर्खरै :

शासकहरू जनताप्रति उत्तरदायी भएनन्

नेपाली जनताले प्रजातन्त्रवादी, गणतन्त्रवादी, जनवादी, क्रान्तिकारी, सङ्घीयतावादी दलहरूको शासन हेरिसके; ठुला ठुला भनिने दलहरूको शासनको अनुभव गरे । देशमा बहुदल र गणतन्त्र प्राप्तिपछि बनेका शासक या सत्तासीन दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नभई दलगत र व्यक्तिगत स्वार्थमा झुम्मिए; भागबन्डामा मुछिए; सारमा सत्तामुखी राजनीतिमा केन्द्रित भए । त्यसकारण, देश बनेन, देशमा विकास भएन; जनताको जीवनस्तर बढेन; देश आत्मनिर्भर भएन । शासकहरूले जनताको विश्वास जित्न सकेनन्; सत्तासीन दलका नेताहरू एकले अर्कोलाई शङ्काले हेर्थे या विश्वास गर्दैनथे । यही कारण राजनीतिक स्थिरता भएन; पद्धतिको आधारमा शासन सञ्चालन भएन । शासकहरू साँच्चै राजनेता बनेनन् । जनता पनि लोभलालचमा फसे; स–साना स्वार्थमा लागे । जनताले साँच्चै देश र जनताको सेवा गर्ने सांसद, जनप्रतिनिधि निर्वाचित गरेनन्; जति निर्वाचित गरे थोरै भए । जनताले देशलाई दूरगामी असर पु¥याउने, नेपाल र नेपालीको भन्दा विदेशी स्वार्थ पूरा गर्ने गलत व्यक्तिहरूलाई बढी जिताए । परिणामतः देश सज्जन, स्वच्छ छवि भएका नेताहरूको हातमा परेन ।
दाग लागेका, अस्थिर मनका, अडान नभएका, अवसरवादी नेताहरूको हातमा देशको नेतृत्व रहिरह्यो । देश विकास गर्न अघि सर्नुपर्ने शासकहरू देशको आयस्रोत स्वाहा पार्ने, विकासको बजेट झ्वाम पार्ने काममा फसे । यो देशको दुर्भाग्य हो । स्वार्थलोलुप झुण्डहरूको हातमा सरकार पुगेपछि के गति हुन्छ ? शासकहरूको मनोमानी भएपछि, शासकहरूमा जवाफदेहिता नभएपछि ठुलठुलो स्वार्थबाट झरेर स–सानो स्वार्थमा भुलेपछि देश कसरी बन्छ ? जनता कसरी सुखी हुन्छन् ? सरकार विकासको नाउँमा ऋण लिन्छ; लिएको ऋण प्रत्युत्पादक योजनामा खर्च गर्छ । अर्थमन्त्री देशको ऋण बिस्तारै तिर्ने कुरा फुक्छ । तर, वर्षमा कसको ऋण कति ति¥यो ? कुनै लेखाजोखा हुँदैन ।
नयाँ पुराना भनिने सत्तारुढ दलका नेताहरू देश निर्माणमा इमानदारीपूर्वक लागेको देखिँदैन । नयाँ दलका नयाँ नेताहरूमा जोश जाँगर देखिनु एउटा पाटो हो । तर, उनीहरूमा देशलाई कुन स्थितिमा लैजाने भन्ने भिजन या दृष्टिकोण देखिँदैन । शासकहरूमा सङ्कुचित मानसिकता छ । कतिपय नेताहरूमा अझै एक मधेस एक प्रदेश हुनुपर्ने मानसिकता छ । शासकहरूले त उल्टो गणतन्त्र र लोकतन्त्रको बदनाम गर्दै छन् । लोकतन्त्र र गणतन्त्रको बदनाम शासकहरूकै कारण भइरहेको छ । शासक दलका नेताहरूको अस्थिरताले गर्दा तिनीहरू कहिले कुन दलसँग मिल्छन्, कहिले कुन दलसँग छुट्छन् ? निश्चित छैन । शासकहरू दूरदर्शी नहुँदा, जिम्मेवारी नहुँदा पदको ख्याल नगर्दा, जसरी भए पनि कमाउने, रमाउने र ऐय्यासी जीवन बिताउने खोक्रो राजनीति गर्दाको परिणाम देश अनेक जञ्जालमा फसेको हो; देशमा आर्थिक सङ्कटको समस्या देखिएको हो; शासकहरू पूरा कार्यकाल सम्हाल्न असफल भएका हुन् ।
शासक दलहरूको मुलुकलाई आर्थिक विकास र उन्नतिको उचाइमा पु¥याउन नसकेको यथार्थ हो । सिद्धान्त र विचारको वास्ता नगरी सत्तामुखी र भागबन्डाको राजनीति गरिरहेको अर्को यथार्थ हो । सरकारले भ्रष्टाचारीहरूमाथि खासै कारबाही गरेन; भ्रष्टाचार गर्न नदिने अभियान सञ्चालन गरेन । दलभित्र दलको सैद्धान्तिक आलोचनाभन्दा व्यक्तिगत आक्षेप लगाइयो । दलभित्रै पदको निम्ति तँछाडमछाड भयो । नेका, एमाले र जसपामा मात्र होइन एकीकृत समाजवादीमा पनि त्यो झझल्को देखियो । शासकहरू जनताप्रति उत्तरदायी भएनन् । उनीहरू राज्यस्रोत र राज्य संयन्त्र हातमा लिएर चुनाव प्रचार गर्थे; गलत रवैया अपनाएर सम्पत्ति थुपार्ने काम गर्थे । उनीहरू सम्पत्ति र पद नै सबथोक ठानेर इज्जत, प्रतिष्ठाको ख्याल गर्दैनथे; राजनीति नै पद पाउन र सम्पत्ति कमाउनको निम्ति ठान्थे । राजनीतिलाई आय आर्जन गर्ने पेसा ठान्थे । यसरी राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेर शासन गर्ने शासकहरूको के यो गैरजिम्मेवारी होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *