साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, ३१ असार । “भक्तपुरमात्र नभएर मानव सभ्यताको विकासमा साइकलको विशेष योगदान रहेको र साइकल संस्कृतिको विषयमा घर, परिवार, विद्यालय र समाजको विभिन्न तहमा छलफल र बहस हुनुपर्छ । साइकलले मानिसलाई सधैँ फूर्तिलो र कर्मशील बनाउन र सकृय समाज निर्माण गर्न मद्दत गर्दछ ।” उक्त विचार साइकल कनेक्ट भक्तपुरद्वारा आइतबार बाल विकास स्कूल हलमा आयोजित ‘साइकल संस्कृतिबारे अन्तरक्रिया’ कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको हो ।
भक्तपुर नपा वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सवारी साधनको ध्वनि धुवाँ र कम्पनबाट यहाँको सांस्कृतिक सम्पदामा क्षति पु¥याइरहेकोले साइकल संस्कृतिको प्रवर्धन यसको उचित विकल्प हुनसक्नेतर्फ आँैल्याउनुभयो ।
सहजकर्ता आर्किटेक्ट रोजिता शर्माले प्यानल डिस्कसन सञ्चालन गर्नुभएको थियो ।
उक्त प्यानल डिस्कसनमा दिगो प्रविधि मैत्री उद्यमी तथा नेपाल इको प्यानलका कार्यकारी निर्देशक कृष्णभक्त दुवालले साइकल संस्कृतिलाई दिगो बनाउन साइकललाई उद्यमशीलतासँग जोड्न सक्नुपर्ने र अहिले विभिन्न डिजिटल व्यवसाय तथा स्वास्थ क्रियाकलापको रूपमा साइकलले पुनः आफ्नो स्थान बनाउन सफल हुनु सकारात्मक सङ्केत रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा वातावरणविद् कमलराज गोसाईले साइकल संस्कृतिको विकास गर्न साइकललाई दैनिक जीवनसँग जोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
ख्वप कलेजका प्राध्यापक कमिनिका न्याइच्याईले साइकलमैत्री सुरक्षित सडक नबनेसम्म विद्यार्थीहरूलाई अभिभावकले ढुक्क भई साइकलमा विद्यालय पठाउन नसक्ने विचार राख्नुभयो ।
प्यानलिस्ट हाड तथा नशा रोग विषेशज्ञ डा. निरब कायस्थले साइकल चलाउँदा शारीरिक स्फूर्तिसँगै मानसिक तनाब पनि कम हुने तर अहिलेकै सहरी संरचनामा धेरै टाढासम्म नियमित साइकल चलाउनु साइकल चालकको सुरक्षाको हिसाबले चुनौतीपूर्ण रहेको बताउनुभयो ।
सांस्कृतिक पर्यटनको केन्द्र भक्तपुरमा बढिरहेको साइकलिङ गतिविधिले भक्तपुरमा साहसिक अथवा मनोरञ्जनात्मक साइकलिङले पर्यटन क्षेत्रमा थप टेवा पु¥याउन सक्ने विचार भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले व्यक्त गर्नुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेम खर्बुजाले मासिक लाखौँ आम्दानी हुने पुख्र्याैली पेसा र घरेलु उद्योगमा नयाँ पुस्तालाई आकर्षण गर्न युवाहरूको नेतृत्व रहेको साइकल कनेक्ट भक्तपुरले ‘गो लोकल मेला’ आयोजना गरी भक्तपुरका स्थानीय प्रविधि, स्थानीय उत्पादन तथा स्थानीय परिकारको प्रवर्धन गर्नु यसको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले विगत ४ वर्षदेखि निरन्तर गतिविधिहरू गर्दै भक्तपुरमा साइकलप्रति आकर्षण सृजना गर्न सफल भएकोले साइकल संस्कृतिलाई थप विस्तार गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा विकेश थुसाले साइकल कनेक्ट भक्तपुरको परिचय तथा सुनिल ख्याजुले कोरा भक्तपुर २०२४ बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा सुसन चक्रधर र जीवन वातांकक्षीले पनि बोल्नुभएको थियो ।
Leave a Reply