भर्खरै :

प्रम ओलीलाई गरेको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट

प्रम ओलीलाई गरेको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ३१ असार (सेतोपाटी) । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उपधारा (७६) २ अनुसार नयाँ सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
राष्ट्रपतिले गरेको सरकार गठनको आह्वान, त्यसअनुसार जारी पत्र र सपथ रोक्न माग गर्दै अधिवक्ता दीपक अधिकारी, खगेन्द्र चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दिएका हुन् ।
उक्त रिट दर्ता भएको र साउन ६ गतेलाई पेशी तोकिएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
रिट निवेदकहरूले धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन पाएर यसअघि प्रधानमन्त्रीमा नियुक्त पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि उपधारा ३ अनुसारको प्रधानमन्त्री नियुक्त हुनुपर्ने जिकिर गरेका छन् ।
उपधारा ३ मा संसदको सबैभन्दा ठुलो दलको नेतालाई राष्ट्रपतिले नियुक्ति गर्नुपर्ने उल्लेख छ ।
रिटमा भनिएको छ, “उपधारा (२) का अनुसार बनेको बहुमतको सरकारले विश्वासको मत पाउन सकेन भने उपधारा ३ अनुसार ठुलो दलका नेता प्रधानमन्त्री हुने हो । अब राष्ट्रपतिले ७६(३) बमोजिम सरकार गठन गर्न संसद्मा सबैभन्दा बढी सांसद सङ्ख्या भएको, दललाई मात्र सरकार गठनको लागि आह्वान गर्नुपर्नेमा संवैधानिक व्यवस्थाविपरीत उपधारा (२) अनुसारको सरकार गठनको आह्वान गर्ने गर्नुभएको निर्णय सोको माधारमा जारी पत्र, नियुक्ति र सपथसमेत यससँग सम्बन्धित सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी संविधानको धारा ७६ (३) बमोजिम सरकार गठनको लागि आह्वान गर्नू गराउनू भनी विपक्षीका नाममा परमादेशको आदेश जारी गरी पाउँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *