भर्खरै :

२०२५ साउन २ को ऐतिहासिक सङ्घर्षबारे सङ्क्षिप्त चर्चा

२०२५ साउन २ को ऐतिहासिक सङ्घर्षबारे सङ्क्षिप्त चर्चा

वि.सं. २०२१ सालको भूमिसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार भक्तपुरमा २०२३ सालमा नवदुर्गा बहुमुखी सहकारी संस्था खोलिएको थियो । पञ्चायती सरकारले यसको अस्थायी सञ्चालक समितिको अध्यक्षमा मङ्गलेचा भन्ने कृष्णभक्त चगुठीलाई बनायो । सहकारी संस्थाले प्रतिरोपनी जग्गाधनी र मोहीसँग क्रमशः ३ माना र ६ माना तथा मोही नलागेको जग्गाधनीसँग ९ माना अनिवार्य बचत उठायो । संस्थाले सो सङ्कलित रकम कृषि विकासको लागि उपलब्ध गराउने र ५ वर्षपछि एकमुष्ठ साँवा ब्याजसहित फिर्ता गर्ने घोषणा ग¥यो ।
त्यस सहकारी संस्थाका अधिकांश पदाधिकारीहरूको विगत जीवन जनविरोधी थियो । किसान भएर किसानहरूको शोषण गर्ने उनीहरूको जनविरोधी चरित्र थियो । ती पदाधिकारीका काम कारबाही सहकारी ऐन–नियमसँग मेल खाँदैनथ्यो ।
संस्थाका पदाधिकारीहरूले आफ्नो चरित्रअनुसार काम गर्नु स्वाभाविक थियो । संस्था गठन भएको थोरै समयमै अनेक अनैतिक कामहरू गरेर आफ्नो स्वार्थ पूरा गरेको कुरा थाहा भयो । तिनीहरूले निम्न अनैतिक काम गरेका थिए –
१) संस्थाले उठाएको बचत धान महँगोमा बेचेर सस्तोमा बेचेको हिसाब राख्ने ।
२) जम्मा भएको रकमले किसानहरूको लागि आवश्यक पर्ने रासायनिक मल, कीटनाशक औषधि, बीउ, पानी तान्ने पम्प (कल), धान चुट्ने कल (थ्रेसर) र अन्य कृषि उत्पादनका साधन खरिद गर्नुपर्ने नगरी हेटौँडा, चितवनबाट काठ, तोरी, मकै आदि ल्याएर संस्थाको रकमले व्यक्तिगत नाफा कमाउने ।
३) संस्थामा आफ्नो मान्छेलाई नियुक्ति गर्ने र आफ्नो नातेदारलाई हजारौँ रूपैयाँ ऋण दिने ।
४) अस्थायी सञ्चालक समितिको बैठकमा जलपानमा अनावश्यक खर्च देखाउने आदि ।
किसानहरूमाझ यी कुरा व्यापक चर्चा भए । आफ्नो रगत–पसिनामा यसरी अनैतिकरूपले रजाइँ गर्दा किसानहरूलाई असह्य भयो ।
सहकारी नियम, विनियमअनुसार सहकारी संस्था स्वीकृत भएको ६ महिनामा प्रारम्भिक सभा, प्रत्येक महिनामा साधारणसभा र दुई वर्षको एकपटक सञ्चालक समितिको चुनाव गर्नुपर्ने थियो । त्यस सम्बन्धमा बचतकर्ताहरूले सम्बन्धित विभागमा थुप्रै गुनासाहरू पेस गरे तर कुनै कारबाही भएन ।
२०२५ साल साउन २ गते प्रारम्भिक साधारणसभा गर्ने निर्णय भयो । निर्वाचनबारे अरूलाई थाहै नदिने र मतदान गर्न नदिने उद्देश्य राखी असार १५ गतेबाट सदस्य बन्न रोक लगाइयो । कसैले नदेख्ने ठाउँमा सूचना टाँसी नियम पु¥याउने र भित्रभित्रै आफूहरू पुनः निर्वाचित हुने षड्यन्त्र गरे ।
प्रारम्भिक सभा हुने ६÷७ दिनमात्र बाँकी थियो । सहकारी संस्थाको रेखदेख गर्ने सहकारी विभागका कर्मचारीले साउन २ मा नवदुर्गा सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीहरूको निर्वाचन हुँदै छ भन्ने जानकारी दिए । सहकारी संस्थाका पदाधिकारीहरूको षड्यन्त्रपूर्ण कार्यबारे सबैतिर प्रचार भयो । भोलिपल्ट बिहान सयौँ बचतकर्ताहरू सदस्य बन्न तेखाचोस्थित सहकारी संस्था अगाडि भेला भए । संस्थाका मेनेजर रामप्रसाद चाँदले बचतकर्ताहरूलाई सदस्य बनाउन मानेनन् । झन्डै ४÷५ घण्टा वादविवाद भयो ।
सहकारी विभागको जिल्ला शाखा सिद्धपोखरी, दूधपाटीमा थियो । नगरका बचतकर्ताहरूले संस्थाका पदाधिकारीहरू चुन्ने र चुनिने अधिकार पाउन सहकारी संस्थामा सदस्यताको माग राखे । सहकारी विभागका शाखा प्रमुखले मेनेजर रामप्रसाद चाँदको नाममा २१ सालको भूमि ऐनअनुसार नगरका बचतकर्ताहरूलाई असार महिनाभर सदस्यता वितरण गर्न भन्ने आदेशपत्र लेखे । पुनः सदस्य बन्नेहरूको घुइँचो लाग्यो । धेरै सदस्य बने ।
२०२५ साउन २ को दिन थियो । लाय्कुको ५५ झ्याले दरबारअगाडि भूपतीन्द्र मल्लको सालिक पछाडि कृष्ण मन्दिरको पश्चिम मोहडामा नवदुर्गा बहुमुखी सहकारी संस्थाको प्रारम्भिक सभाबाट सञ्चालक समितिका पदाधिकारीहरू छान्ने तयारी भइरहेको थियो ।
बिहानको ७ बजे उम्मेदवारी दिने समय थियो । नगर र गाउँबाट हजारौँको सङ्ख्यामा साधारण किसानहरू भेला भए । मञ्चमा जिल्ला सभापति मदनकृष्ण हाडा, बिकुलाल भैल र सहकारी विभागका रजिस्ट्रार थिए । एकजना माइक फुक्दै थिए ।
सहकारी ऐनअनुसार सबै बचतकर्ताहरू स्वतः सदस्य हुन्थे । अतः उनीहरूलाई मत दिने अधिकार पनि थियो । तर, सभाको सुरुमै कृष्णभक्त चगुठीले सबै बचतकर्ताले मत दिन नपाउने नियम सुनाए । तब किसान जनताले प्रश्न गरे, कानुनले दिएको अधिकार तिमीले किन नदिने ? भनिन्छ, अपराधीहरू एउटा अपराध गर्न अर्को अपराध गर्छन् । कृष्णभक्त चगुठी र उनका सहयोगीहरूले गरेको भ्रष्टाचार जनताबिच उदाङ्गिने डरले तिनीहरू भित्रभित्रै षड्यन्त्र गर्दै थिए । तिनीहरूले आफ्नो कुरा मान्ने व्यक्तिहरूलाई रातारात सदस्य बनाएको कुरा भेद खुल्यो । षड्यन्त्रको भेद खुलेपछि किसान कार्यकर्ताहरूले सबै बचतकर्ताले मत दिन पाउनुपर्छ अथवा आजको चुनाव स्थगित गर्नुपर्छ भन्ने माग राखे ।
तर, कृष्णभक्त चगुठीले अत्तो थाप्दै चुनाव स्थगित नहुने र सबै बचतकर्ताले मत पनि दिन नपाउने धम्की दिए ।
त्यस कुराले उपस्थित जनसमूह आक्रोशित भए । आफ्नो भ्रष्टाचार लुकाउन कसैले नदेख्ने ठाउँमा सूचना टाँसी आफ्नो नजिकका बचतकर्ताको मात्र रसिद संस्थामा पेस गराई, धाँधली गरी चुनाव जित्न खोजेको प्रस्ट थियो । त्यस अनिश्चयको स्थितिमा चुनाव स्थगित हुनैपर्छ भन्ने माग जायज थियो ।
तिनीहरूको कालो कर्तुत उदाङ्गिँदै थियो । जनसमूहको विरोधका कारण तिनीहरूले चुनाव स्थगित गरेको घोषणा गरे । सोझासीधा किसानहरू चुनाव नहुने भएपछि आ–आफ्नो घर फर्के तर प्रतिक्रियावादीहरूको मञ्चको पछाडि (दरबार स्क्वायरकै ठुलो घण्टानिरको कृष्ण मन्दिर पछाडि) अर्कै षड्यन्त्र भइरहेको थियो । तिनीहरूले सोझासीधा किसानहरूलाई चुनाव स्थगित भयो भन्दै पाँच ठाउँबाट माइन्युट बुक ( निर्णयकापी) मा सही गराए । निर्णयकापीमा आजको साधारणसभाबाट नयाँ कार्यकारिणी समिति गठन गर्न चुनावमा भाग लिएको व्यहोरा लेखिएको थियो ।
किसान कार्यकर्ताले यसको सुइँको पाउनासाथ सबै जनतालाई सचेत पारे । तुरुन्त बिकुलाल भैल समातिए । तिनलाई भूपतीन्द्र मल्लको सालिक दायाँतिर ठुलो घण्टामुनि लगेर सबैले देखिने ठाउँमा उभ्याए । ठुलो हो–हल्ला भयो । तालीको गडगडाहत भयो ।
अग्लो ठाउँमा उभ्याइसकेपछि बिकुलाल भैलसँग कसको आदेशमा यो काम गरेको हो भनी केरकार भयो । तिनले विष्णुप्रसाद नेपालीको आदेशमा भएको भन्ने बयान दिए । संस्थाका तत्कालीन सल्लाहकार विष्णुप्रसाद नेपालीको खोजी भयो । पुरानो डीएसपी कार्यालय अगाडिको शिव मन्दिरको पेटीमा बसेको विष्णुप्रसाद नेपालीलाई देख्नासाथ त्यही ठाउँमा उभ्याए । कर्मचारी विष्णुदास भैललाई निर्णयकापीसहित जनताको बिचमा उभ्याए । कृष्णभक्त चगुठी, मेनेजर रामप्रसाद चाँद सभास्थलबाट भागिसकेका थिए । जनतासामु माफी मगाउने काम हुँदै थियो । कृष्ण मन्दिरसँगैको मञ्चमा रहेको आमन्त्रित पाहुनाहरू तत्कालीन सीडीओ, जिल्ला सभापति, भूमिसुधार अधिकारी, सहकारी विभागका रजिस्ट्रार आदि मञ्च छोडेर गए । जनसभा सुरु भयो । भ्रष्टहरूको कालो कर्तुत जनतासामु उदाङ्गियो । पक्राउ परेका भ्रष्टहरूलाई उचित सजाय दिनुपर्ने आवाज उठ्यो । अब उप्रान्त जनतालाई धोखा दिनेछैन भनेर कबुल गरेपछि तिनीहरू छोडिए । तिनीहरूको षड्यन्त्रको दसी प्रमाणसहित आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा पेस गरे । त्यसै सभामा संस्थाको हिसाब जाँच गर्न गणेशभक्त बाटीको संयोजकत्वमा १७ सदस्यीय एक समिति गठन भएपछि सभा स्वतः बिसर्जन भयो । जनता आ–आफ्नो घर फर्के ।
रातको करीब २ बजेको थियो । भनपा वडा नं. ५ भोलाछेँका एक किसान कार्यकर्ताको घरमा ती भ्रष्टाचारीहरूले हमला गरे । तिनीहरूले ढोका फोड्ने प्रयास गरिरहँदा वरपरका किसान जनताले तिनीहरूको प्रतिकार गरे । ती हमला गर्नेहरू विष्णुप्रसाद नेपाली, रामप्रसाद चाँद, सूर्यप्रताप राणालगायतका चिनिएका व्यक्तिहरू नै थिए ।
यो खबर तत्काल किसान कार्यकर्ताहरूले टोलटोल र घर–घरमा पु¥याए । ठाउँ ठाउँका कार्यकर्ताहरू त्यस ठाउँमा पुगे र खोजतलास गरे । रात छिपिसकेकोले आक्रोशित किसान कार्यकर्ताहरू सम्झाइबुझाइपछि फर्के ।
भोलिपल्ट सूर्यप्रताप राणाको घरमा तिनीहरूको बैठक भइरहेको सुइँको पाएपछि किसानहरूले घेरा दिए । अन्य सहभागीहरू भाग्न सफल भए तर घरधनी सूर्यप्रताप राणा भने जनताको घेरामा परे । उपस्थित जनताको बिचमा अब उप्रान्त अर्काको घर र ढोका फोड्न जान्न भनी माफी मागेकाले तिनी उम्किन पाए । यसरी भ्रष्टाचारीहरूलाई जन कारबाही गरेको कुरा देशव्यापी समाचार बन्यो । भ्रष्टहरूको निम्ति त्यो अशुभ बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *