भर्खरै :

के अब भारतसँगको सीमा विवाद टुङ्गिएला ?

नेपाल–भारतको सम्बन्ध अझ घनिष्ठ र सुमधुर सम्बन्ध हुनुपर्नेमा शङ्का छैन । नेपाल–भारतको सम्बन्ध बिग्रिनु हुँदैन, पारस्परिक सहयोग र सम्बन्ध कायम भइरहनुपर्छ । तर, व्यवहारमा नेपाल र भारतको सम्बन्ध सुमधुर या घनिष्ठ भइरहेको देखिँदैन । भारतले पहिलेदेखि नै नेपाललाई थिचोमिचो गरिरहेको छ, नेपाली भूमि मिचिरहेको छ; नेपाललाई आफ्नो उठबसमा राख्ने काम गरिरहेको छ । भारतीय पक्षले सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध निर्माण गरिरहेको छ । नेपालको स्रोत र साधनमात्र होइन उद्योगधन्दा, कलकारखाना पनि भारतीय व्यापारी या कम्पनीहरूले आफ्नो हातमा लिँदै छन् । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले नेपाल–भारत सीमा विगतमा जस्तो असुरक्षित नभएको र इतिहास, भूगोल र प्रमाणका आधारमा भारतसँगको सीमा विवाद टुङ्ग्याउने विश्वास व्यक्त गरिन् । मन्त्री नियुक्त भएलगत्तै यसरी नै हरेक मन्त्रीले आ–आफ्नो मन्त्रालयमा काम थालनी गर्ने तात्तात्तो कुरा फुक्छन् या जनतामा विश्वास दिलाउने प्रयास गर्छन् । तर, मन्त्रीका यी तात्तात्तो स्वर समय बित्दै गएसँगै सेलाउँछ या मन्त्रीहरूले वास्ता गर्दैनन् । यस्तो आकर्षक कुरा एक दुई पटक होइन हरेक पल्ट सरकार बदल्दा या मन्त्रिमण्डल हेरफेर हुँदा जनताले भोग्दै आएका छन् ।
पूर्वराजदूत डा. दिनेश भट्टराईले छिमेकीको विकास पोखिएर आउँदैन, हामीले नै मेहनत गर्नुपर्छ; घर ठीक गर्नुपर्छ भनी टिप्पणी गरे । पूर्वउपरथी विनोज बस्न्यातले नेपालको आर्थिक अवस्थालाई सम्बोधन गर्न तत्काल, अल्पकालीन र दीर्घकालीन एवं राष्ट्रिय नीति, दूरदर्शी राष्ट्रिय विकास योजनासहितको रणनीतिक प्रयासले मात्रै नेपाललाई भूराजनीतिक अनिश्चितताबाट बचाउन सकिने विचार व्यक्त गरे । साउन १ गते प्रकााशित ‘नयाँ पत्रिका’ दैनिकले ‘नयाँ सरकारले कसरी अघि बढाउला नेपाल–भारत सम्बन्ध ?’ भन्ने शीर्षकको समाचार छाप्यो । नवनियुक्त प्रमलाई अन्य देशका प्रमहरूले बधाई दिनु स्वाभाविक हो । बधाईमा दुई देशबिचको मित्रताको गहिरो सम्बन्ध अझ बलियो हुने कुरा उल्लेख हुनु पनि स्वाभाविक हो । दुई देशको मित्रतालाई गहिरो सम्बन्ध अझ बलियो बनाउन ठुलो देशले सानो देशलाई हेप्ने, दबाबमा राख्ने, सीमा मिच्ने, नेपाली भूमिमा भारतीय सेना राख्ने, नेपाली भूमि डुबानमा पारेर बाँध तथा तटबन्ध बनाउने आदि काम रोक्नुपर्छ† रोक्नेतर्फ भारतले चासो राख्नुपर्छ ।
सत्तारुढ दलका नेता र मन्त्रीहरूको ध्यान विदेश र विदेशीको होइन नेपाल र नेपालीको चिन्ता लिने, विकास गर्नेतर्फ जानुपर्छ । हालको मन्त्रिमण्डलमा पञ्चायतकालीन राजनीतिदेखि नेका, मधेसी जनअधिकार फोरम, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध भएका नेता पनि सामेल छन् । प्रत्येक चुनावमा जस्तै दल बदल्दै पद र पैसाको निम्ति राजनीति गर्ने दलका नेता या मन्त्रीहरूले देश र देशबासीको भलो गर्लान् ? साउन १ गतेको ‘कान्तिपुर’ दैनिकमा ‘भण्डारी २० औँ पटक मन्त्री’ भएको समाचार छापियो । लोसपाका नेता शरतसिंह भण्डारीले संविधानसभाको निर्वाचनको बेला तराईका क्षेत्र टुक्रा गर्ने, राजधानीलाई नाकाबन्दी गर्नेजस्ता देशविरोधी र जनविरोधी अभिव्यक्ति दिएका थिए । देशविरोधी विचार व्यक्त गर्ने र जनता भड्काउने विचारका नेता र मन्त्रीहरूले के देशको भाग्य निर्माण गर्लान् ? दुई देशबिचको सम्बन्ध सुधार्लान् ?
भारत सरकारले नेपाललाई फसाउँदै छ या नेपाल सरकार भारतसामु फस्दै छ । भारत सरकारसामु नेपालका शासकहरू फसिरहेसम्म नेपालले न विकासको उचाइ बढाउन सक्छ न त आत्मनिर्भर बनाउन सक्छ । भारतीय शासकहरूले मित्रता र सम्बन्ध सुधारको कुरा गरेर नेपाललाई थिचोमिचो गरिरहेका छन् । विकास र आर्थिक सहयोगको लोभ देखाएर देशको स्रोत र साधन तथा कलकारखाना, विकास योजना भारतीय व्यापारी र कम्पनीहरूले हातमा लिइरहेका छन् । यसले नेपाल–भारतको सम्बन्ध कसरी सुमधुर हुन्छ ? नेपाल भारतसँगको सीमा विवाद कसरी टुङ्गो हुन्छ ? नेपाल र नेपालीलाई परेको मर्का भारतीय सरकारसामु निर्धक्क नभनेसम्म, भन्ने आँट नगरेसम्म भारतीय शासकहरूले नेपाल र नेपालीलाई हेर्ने दृष्टिमा बदल्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *