भर्खरै :

सहकारी संस्थाको विगत र वर्तमान अवस्थाबारे सहकारीकर्मी भेला

सहकारी संस्थाको विगत र वर्तमान अवस्थाबारे सहकारीकर्मी भेला

भक्तपुर, २ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा सहकारी संस्थाको विगत र वर्तमान अवस्थाबारे सहकारी संस्थाका पदाधिकारीहरूको भेला कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने कोसिस गरिरहेको बताउँदै आर्थिक तथा वित्तीय संस्थाहरू भ्रष्टाचार र आर्थिक अनियमितताबाट टाढा रहन सकेमात्र देशको विकास हुने धारणा राख्नुभयो ।
भ्रष्टाचारीहरूलाई राज्य संयन्त्रबाटै संरक्षण भइरहेको बताउँदै उहाँले समस्याग्रस्त सहकारी संस्थाहरूमाथि नगरपालिकाले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइरहेको बारे प्रस्ट पार्नुभयो ।
भक्तपुर नपामा बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई सञ्चालन गर्न स्वीकृति नदिनुका कारणहरूबारे प्रस्ट पार्दै उहाँले समुदायमा आधारित सहकारी संस्थाहरूले सदस्यहरूको बचत रकम संरक्षण र हितमा काम गर्न प्रेरित गर्नुभयो ।
राजनीति व्यापारको लागि नभई सेवाको लागि गर्नुपर्ने बताउँदै उहाँले देशमा राजनीतिक अस्थिरताले देश विकराल अवस्थामा पुगेको बताउनुभयो ।
भक्तपुरमा आन्तरिक पर्यटन वृद्धि गर्ने उद्देश्यका साथ नपाले काम गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भक्तपुरलाई संसारकै एक उत्कृष्ट गन्तव्यस्थल बनाउने अभियानमा सबै नगरवासीहरूको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
सहकारी समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले बिनाधितो ऋण प्रवाह, आफ्नो मान्छेलाई मात्र ऋण दिने, नाफा लुकाउने र संस्थाका केही पदाधिकारीहरूले मात्र प्रयोग गर्ने, संस्थाको बचतको रकम आफूखुसी सञ्चालन गर्ने, व्यक्तिगत नाममा जग्गा खरिद गर्ने, समुदायको हितमा काम गर्नेजस्ता विषय सहकारी क्षेत्रमा देखिएका बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले समुदायमा आधारित सहकारी संस्थामा पनि सञ्चालकहरूको मनोमानी चलिरहेको बताउँदै एकजना व्यक्ति एकवटा संस्थामा बाहेक सदस्य बन्न नपाउने निर्देशन व्यवहारिक नभएको बताउनुभयो ।
कार्यक्रममा सहकारी समितिका सदस्य हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *