भर्खरै :

सर्वोच्चले ग¥यो पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

सर्वोच्चले ग¥यो पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ, १३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रूपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद हुने फैसला पनि गरेको थियो ।
न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले सजायमा केही फेरबदल गर्दै ६९ लाख १५ हजार रूपैयाँ जरिवाना र ९ महिना कैद सजाय सुनाएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेषको फैसलाविरुद्ध जोशीले फागुन २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए ।
२०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि काङ्ग्रेसका प्रभावशाली नेता रहेका जोशीले गृहसहितका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसरी पदमा रहँदा उनले अवैधानिक रूपमा अकुत आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको थियो ।
जोशीको ०४८ देखि ०५९ सालसम्म सार्वजनिक पदमा रहँदा गरेको आय आर्जन र खर्चबीचको तादम्यता नमिलेको भन्दै विशेष अदालतका तत्कालीन अध्यक्ष कार्की र न्यायाधीशहरू मिश्र र चालिसेको इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *