भर्खरै :

संसद्मा प्रश्न उठ्यो : भ्रष्टाचारीलाई किन मन्त्री बनाइयो ?

संसद्मा प्रश्न उठ्यो : भ्रष्टाचारीलाई किन मन्त्री बनाइयो ?

काठमाडौँ, १५ साउन । प्रतिनिधिसभाको साउन १३, १४ र १५ गतेको बैठकमा सांसदहरूले देश र जनतासँग सम्बन्धित समसामयिक विषयमा केपी ओली सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेका सांसद राजेन्द्र बजगाईँले गोरखाका पहिरो पीडित उद्धार गर्न सरकारी र सैनिक हेलिकप्टर मौसम प्रतिकूल भनी नगएको तर निजी हेलिकप्टर सेवाबाट उद्धार गरिएको उल्लेख गर्नुभयो ।
रास्वपा सांसद हरि ढकालले भ्रष्टाचारमा छानबिन गर्नुपर्नेहरूलाई सङ्घीय सरकारमा मन्त्री र गुण्डा नाइकेहरूलाई प्रदेश सरकारमा मन्त्री बनाइएकोमा कटाक्ष गर्नुभयो ।
राप्रपाका सांसद राजेन्द्र लिङडेनले साउन ९ गते भएको सौर्य वायु सेवाको हवाईजहाज काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाको छानबिन गर्न गठित कार्यदल स्वार्थसँग बाझिएको र त्रुटीपूर्ण भएको उल्लेख गर्नुभयो ।
नेका सांसद पूर्णबहादुर तामाङले आफू एक ठेकेदार भएको र नेपालका २२ वटा विमानस्थल आफूले निर्माण गरेको उल्लेख गर्दै महिनामा १० दिनमात्र चल्ने सौर्य विमान सेवा र श्री वायु सेवालाई समयमै रोक्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।
नेका सांसद विश्वप्रकाश शर्माले नेका–एमालेको सातबुँदे सत्ता समीकरण फरक सिद्धान्तसहित भएको उल्लेख गर्दै आगामी चुनावमा नेका एक्लै लड्ने बताउनुभयो ।
उहाँले तत्कालीन गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नताबारे संसदीय छानबिन समिति गठन गराउन नेकाले पहल गरेको बताउनुभयो ।
“नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी स्टेटको फाइल तत्कालीन गृहमन्त्री लामिछानेले खोलेको होइन, फाइल खोल्दा सरकारलाई हटाएको तत्कालीन गृहमन्त्री लामिछानेको भनाइ सत्य होइन,” सांसद शर्माले स्पष्ट पार्नुभयो ।
नेका–एमाले सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको कमजोरी भए संसद् र सडकमा विरोध गर्ने चर्चा गर्दै सांसद शर्माले आग्रह र पूर्वाग्रहमुक्त भएर भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा (एस) का सांसद मेटमणी चौधरीले प्रधानमन्त्री ओलीको निर्देशनमा अरबौँ रूपैयाँ विद्युत् महसुल भुक्तानी नगर्ने उद्योगीहरूको बत्ती पुनः जडान हुने तर ओलीकै निर्वाचन जिल्ला झापाका गरिब जनताको बिजुली बत्ती किन काटियो भनी प्रश्न उठाउनुभयो ।
माओवादी सांसद दुर्गा राईले नक्कली भुटानी शरणार्थीको छानबिनमा संलग्न प्रहरी अधिकारी डीआइजी मनोज केसीलाई नेका एमालेको सरकारबाट सरूवा गरिएकोमा विरोध गर्नुभयो ।
एमालेका सांसद रघुजी पन्तले अमेरिकाको पाँचौँ राष्ट्रपति जेम्स मुनरोको ल्याटिन अमेरिकी देशहरूलाई अमेरिकाको करेसाबारी ठान्ने नीतिलाई पछ्याएर दक्षिण एसियामा भारतको प्रभाव हुने रास्वपाका सांसद स्वर्णिम वाग्लेको भनाइको खण्डन गर्नुभयो ।
रास्वपाका रवि लामिछानेले सहकारी, स्काउट, बाँसबारी, टीकापुरको भ्रष्टाचारीमाथिको कारबाही रोक्न नहुनेतर्फ सरकारलाई सचेत गराउनुभयो । मुनरो डक्ट्रिन बेठीक भएको सरकारलाई होली वाइन डक्ट्रिन कसरी बेठीक लागेन ? उहाँले प्रश्न गर्नुभयो ।
नेकाका सांसद जीवन परियारले नेपालमा विद्यालय र कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीको क्षेत्र निर्धारण हुनुपर्ने औँल्याउँदै संविधानको धारा ८२ र ८३ अनुसार मन्त्रिमण्डल नभएको गुनासो गर्नुभयो ।
नेकपा एसका अमरबहादुर थापाले रुस–युक्रेनको सेनामा भर्ती हुन गएका दैलेखका दुईजना युवाको मृत्यु भएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकाका राजेन्द्रप्रसाद केसीले उपसभामुखको हस्ताक्षरबाट असम्बन्धित व्यक्तिको नाम उल्लेखसहित अमेरिकी भिसाको लागि पठाइएको पत्र मानव तस्करजस्तै भएको बारे सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
माओवादीका माधव सापकोटाले विद्युत् महसुल बक्यौता भएका उद्योगीसँग संसद्को सार्वजनिक समितिको सभापतिले भेटेकोमा आपत्ति जनाउनुभयो ।
एमालेका गोकुल बास्कोटाले संसद्को सार्वजनिक लेखा समितिका सभापतिलाई निवेदन दिएको हुँदा विद्युत् महसुल बक्यौता भएका उद्योगीसँग भेटघाट गरेको हुनसक्ने उल्लेख गर्नुभयो ।
नेकाका सांसद ईश्वरी न्यौपानेले सांसद प्रेम सुवालबाहेक बाँकी सबै सत्ताका भोगी भएको उल्लेख गर्दै एकले अर्कोलाई औँला ठड्याएर मुक्त हुन नसक्ने बताउनुभयो ।
उहाँले रास्वपाका सभापति लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा नेपाली नागरिक नभएको हुँदा त्यसबेला गृहमन्त्री भएर गरिएको काम कसरी वैध होला भनी प्रश्न गर्दै मन्त्री र सांसद खुस्केपछि मात्र लामिछाने लाइन बसेर पुनः नेपाली नागरिकता लिन गएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *