भर्खरै :

साम्राज्यवादीहरूदेखि सावधान

नेपालमा मात्र होइन विश्वमै कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारप्रति जनताको प्रभाव बढ्दै छ । विश्वमा वामपन्थी र देशभक्त पार्टीप्रति जनताको विश्वास बढ्दै छ । जनतामा बढ्दै गएको कम्युनिस्ट पार्टी, कम्युनिस्ट सरकार र वामपन्थी सरकारको विरोधमा अहिले मात्र होइन उहिलेदेखि नै साम्राज्यवादी, विस्तारवादी, सामन्तवादी शासकहरूले अनेक षड्यन्त्र गरी कहिले हत्या गर्ने, कहिले देशबाट निकाला गर्ने, कहिले फाँसी दिने, कहिले आन्तरिक द्वन्द्व चर्काएर कम्युनिस्ट र वामपन्थी सरकारको खेदो खन्ने काम गरिरहेका छन् । आफ्नो योजना सफल पार्न उनीहरूले गुप्तचरहरू पाल्छन्; पैसाको खोलो बगाउँछन्, लोभलालच देखाउँछन्, धाक धम्की दिन्छन् । साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरू देशमा वामपन्थी दल जितेको र उनीहरूले राज्य चलाएको हेर्न चाहँदैनन्; बहुमतले जिते पनि निर्वाचनलाई स्वीकार्दैनन्; अझ आगलागी गर्छन्; आतङ्क मच्चाउँछन्, उग्र भएर हिंसात्मक घटना घटाउन पछि पर्दैनन् । त्यतिमात्र होइन उनीहरू झूट बोल्छन्, गलत कुरा फलाक्छन् । यसरी ती शासकहरू देशविरोधी, जनविरोधीमात्र होइन अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत काम गर्छन् ।
यसरी नै गुप्तचर लगाएर प्यालेस्टिनी प्रतिरोधी आन्दोलन हमासका राजनीतिक ब्युरोका प्रमुख इस्माइल हानियाको हत्या गरियो । हमासले आफ्नो नेताको कायरतापूर्ण हत्याको बदला लिने जनाएको छ । दक्षिण अमेरिकी देश भेनेजुयलामा हालै सम्पन्न भएको निर्वाचनमा बोलिभारियाली क्रान्तिको नेता निकोलस माडुरो निर्वाचित भएका थिए । साम्राज्यवादविरोधी नेता माडुरो राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएलगत्तै सोमबार देशमा दक्षिणपन्थीहरूले जुलुस प्रदर्शन गरी हिंसात्मक गतिविधि गरे । राष्ट्रपति माडुरोले हिंसात्मक गतिविधिको योजनाको पछाडि संरा अमेरिकी सरकारको हात रहेको बताए । विश्वभरका नेता तथा राष्ट्र प्रमुखबाट बधाई तथा शुभकामना सन्देश पठाइरहेको बेला साम्राज्यवादी शक्ति राष्ट्रको इसारामा देशमा उत्पात मच्चाउने खालका आतङ्कित काम गर्न दक्षिणपन्थीहरू लागे । यसरी वामपन्थी दल या कम्युनिस्टहरू जित्दा साम्राज्यवादी शक्तिहरू देशमा आतङ्क मच्चाउने काममा लागे । विगतमा इराकका राष्ट्रपति सद्दाम हुस्सेनलाई साम्राज्यवादी देशहरू मिलेर इराकमा आक्रमण गरेर अन्ततः फाँसी दिने षड्यन्त्र गरे । यी सबै घटनाहरू निन्दनीय छन् ।
नेपालको राणा काल र पञ्चायत कालमा पनि त्यस्तै दरबार र राज्यस्तरबाट अनेक षड्यन्त्रहरू भएका थिए । राणा शासकहरूले जहाँ जहाँ प्रजातान्त्रिक गतिविधि हुन्थ्यो त्यहाँ त्यहाँ गुप्तचरहरू खटाउँथे, रिपोर्ट लिन्थे र राजनीतिक गतिविधि रोक्न अनेक जाल बुन्थे । त्यसबेला गङ्गालाल श्रेष्ठको निवासस्थल प्याफल र गणेशमान सिंहको निवासस्थल यट्खा, इन्द्रचोक, असन, भोटाहिटी र यङ्गलमा गुप्तचरी हुन्थ्यो । नेताहरूको निवासस्थल, साहित्यकारहरूको भेटघाट हुने स्थल, राजनीतिक गतिविधि हुने, जुलुससभा हुने स्थल सर्वत्र गुप्तचरहरू लागिरहेका हुन्थे । नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ सङ्गठनको क्रममा २०१२/१४ सालतिर जुम्ला पुग्दा त्यहाँ पनि गुप्तचरहरू पुगेका थिए । गुप्तचरहरूले कहीँ कतै भएका राजनीतिक गतिविधिको रिपोर्ट सरकारका सम्बन्धित निकायमा पठाउँथे । त्यसैको आधारमा शासकहरू कसैलाई छल्ने, फसाउने, असफल पार्ने, फुटाउने, झगडा गराउने, टुक्राउने अनेक जाल बुन्थे । यस्ता अनेक षड्यन्त्रका जालहरूमध्ये भक्तपुरको ह्योजु काण्ड पनि एक हो ।
साम्राज्यवादी र साम्राज्यवादका पिछलग्गू देशहरूले पनि संसारको कुना काप्चामा गुप्तचरहरू खेलाइरहेका हुन्छन् । जहाँ जहाँ प्रजातन्त्र हुँदैन, जनताका हक अधिकार हुँदैन त्यहाँ त्यहाँ कम्युनिस्ट पार्टी खोलेको हुन्छ† कम्युनिस्ट पार्टीको गतिविधि बढेको हुन्छ । पहिले चीनमा जनताको अधिकार थिएन, विद्रोहसँगै जनक्रान्ति भयो† सोभियत सङ्घमा पनि त्यस्तै भएको थियो । क्युवा, प्रजग कोरिया, भेनेजुयला र बोलिभियामा पनि त्यस्तै भएको थियो । अहिले ती मुलुकले गरेको प्रगति र विकासमा साम्राज्यवादी शासकहरूले कहिले आर्थिक नाकाबन्दी गरेर, कहिले व्यापार युद्ध गरेर, कहिले आक्रमण गरेर, कहिले हस्तक्षेप र दबाब दिएर असफल पार्ने काम गरिरहेका छन् । यसकारण, संसारका न्यायप्रेमी, स्वाधीनताप्रेमी, देशभक्त तथा परिवर्तनकामी दल, दलका नेता, कार्यकर्ता र जनता सधैँ सचेत भइरहनुपर्छ । कुनै पनि बेला, कुनै पनि ठाउँमा यस्ता षड्यन्त्रहरूबाट जोगिन हरपल र हरक्षण चनाखो भइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *