भर्खरै :

अमूर्त सम्पदा जोगाइराख्नु सबैको अभिभारा

अमूर्त सम्पदा जोगाइराख्नु सबैको अभिभारा

भक्तपुर, २६ साउन । गाईजात्रा पर्व–२०८१ को अवसरमा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ, गोल्मढी ७ वडा समितिको सक्रियतामा फाकंदली र गाइँचा प्याखं सफल पार्न आवश्यक सरसल्लाह गर्न शनिबार टोलवासीहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा ७ नं. वडाका वडाध्यक्ष उकेश कवांले गाईजात्रामा प्रदर्शन हुने परम्परागत प्याखंलगायतका विभिन्न अमूर्त सम्पदा जोगाउन नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले युगौँदेखि पुस्तान्तरण हुँदै आएको अमूर्त सम्पदालाई निरन्तर जोगाइराख्ने अभिभारा हाम्रो काँधमा रहेकोले यसलाई जोगाउन सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले जनताको दुःख पीडा पोख्ने शोषक सामन्तहरूको अन्याय–अत्याचारबारे जनतामाझ उदाङ्ग्याउने एक सशक्त माध्यम गाईजात्रा भएकाले जनपक्षीय तरिकाबाट उपयोग गर्नुपर्ने विचार राख्नुभयो ।
साहित्यकार तथा संस्कृतिकर्मी नाति कवांले रेडियो, टेलिभिजनजस्ता सञ्चारका माध्यमबाट सूचना प्राप्त गर्ने क्षमता नभएका जनताको बिचमा देश विदेशका घटनाहरूको विषयमा सञ्चार प्रवाह गर्ने बलियो माध्यमको रूपमा नाटक, ख्याल, गीत, नृत्यहरू भक्तपुरका साथै बनेपा, काठमाडौँसम्म प्रदर्शन गर्न गएको अनुभव बताउनुभयो ।
पञ्चायतविरुद्ध नाटक देखाउनु अत्यन्त चुनौतीपूर्ण कार्य रहेको विचार व्यक्त गर्दै उहाँले पञ्चायत पतनोन्मुख छ भन्ने भावको ‘दुवानेतांगु पखः’ शीर्षकको नाटक ठाउँ ठाउँमा प्रदर्शन गरेको अनुभव सुनाउनुभयो ।
नेपाल मजदुर किसान पार्टी, गोमारी वडा नं. ७ समितिका अध्यक्ष बलराम गोसाईले विगत लामो समयदेखि गोमारीबाट गाइँचा प्याखं प्रदर्शन गर्दै आएकोमा यस वर्ष फाकंदली प्याखं र गाइँचा प्याखं पनि प्रदर्शनीमा लाने तयारी गरेको बताउनुभयो ।
यस्ता प्रदर्शनले समाजलाई सभ्य, सु–संस्कृत बनाउने कार्यमा थप योगदान पु¥याउने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा आर्थिक संयोजक भुवन गोसाई, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ, गोमारी समितिका अध्यक्ष लक्ष्मण तचामोले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *