भर्खरै :

लोकेश्वर साकोसको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर, २७ साउन । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८०/०८१ को वार्षिक समिक्षा तथा आ.व. २०८१/८२ को बजेट कार्यक्रम रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि खर्बुजाले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको बारेमा चर्चा गर्दै जातजाति र धर्मको नाममा विभेद गरी अगाडि बढेसम्म राष्ट्रमा हिंसा, युद्ध, विध्वंस र विपत्ति मात्र निम्तिने भएकोले वर्गीय सङ्घर्षबाट अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले बङ्गलादेशको पछिल्लो विकसित घटनाक्रमको मुख्य विषयवस्तुलाई इङ्गित गर्दै हाम्रो देशको पछिल्लो राजनीतिक गतिविधिले त्यस्तो घटना घट्न सक्ने भएकोले समयमै सजक हुनुपर्ने आँैल्याउनुभयो ।
उहाँले विद्युत् महसुल बक्यौतामा देखापरेको राजनीतिक संरक्षण तथा स्वार्थले देशलाई घात भइरहेकोमा चिन्ता व्यक्त गर्दै ख्वप विश्वविद्यालयको विधेयक फिर्ता लिने ठुला दलको घृणित कार्य भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले समुदायमा आधारित सहकारी संस्थाले सामूहिक हित हुने किसिमका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरा राख्नुभयो ।
नगरपालिकाबाट सञ्चालित देको–मिवा इतापाके जग्गा एकीकरण आयोजना अन्तिम चरणमा पुगेको उल्लेख गर्दै नपाले जनसमुदायलाई अति आवश्यक तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति राजन जतिले सहकारी संस्था समुदायमा आधारित रहेरमात्र सञ्चालन गर्नुपर्ने कुरा राख्दै अहिले समस्यामा परेको सहकारी संस्थाहरू अधिकांश समुदायमा आधारित नभएका सहकारी रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा प्रतिवेदन, सचिव राजु छुकांले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धरलगायतले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *