भर्खरै :

‘निर्देशन’ एकादेशको कथा नहोस्

सरकारले आश्वासन दिने र कल्पना बाँड्ने होइन काम गरेर देखाउने हो । सरकारले काम तय गरेको योजना र बजेटअनुसार गर्ने हो । बजेटबिना काल्पनिक योजना तय गरेर जनतालाई देख्ने गरी काम गर्न सकिँदैन । सुशासन कायमसहित फटाफट काम गरेर शत प्रतिशत विकास खर्च गर्न सम्बन्धित या सरोकारवाला निकायका व्यक्तिहरू क्रियाशील हुनुपर्छ या कार्यान्वयन पक्षमा लाग्नुपर्छ । सरोकारवाला कसैले पनि भ्रष्टाचार र अनियमितता गरेन भने या विकास गर्छु भनी लागेमा विकास कार्य समयमै सम्पन्न हुन्छ र कुनै चुहावत हुनेछैन । विकास कार्यमा चुहावट भएन भने भ्रष्टाचार हुन र गर्न पाउँदैन । भ्रष्टाचार र अनियमितता हुन नदिन या गर्न नदिन कर्मचारी, उच्चपदस्थ व्यक्तिदेखि नेतासम्म इमानदार हुनुपर्छ, कर्तव्यनिष्ठ हुनुपर्छ र जिम्मेवारीबोध हुनुपर्छ, दूरदर्शी हुनुपर्छ । एक समय, एकपटक एक दुईजना कर्मचारी, उच्चपदस्थ र मन्त्रीहरू इमानदार भएर भ्रष्टाचार नियन्त्रण हुँदैन; अनियमितता रोकिँदैन । तीन महिनाभित्र गर्न सकिने नतिजामुखी काम गरेर तीव्र विकासको लहर ल्याउने र कीर्तिमान राख्ने कामको योजना कर्मचारीहरूले पेस गर्ने कि सरकारले तय गर्ने ? भन्ने प्रश्न उठेको छ ।
सरकारले सुशासन र विधिको शासन ल्याउने हो भने भ्रष्टाचार र अनियमितता अन्त्य गर्नुपर्छ, अन्त्य गर्न पहल गर्नुपर्छ । हो, विकासको लक्ष्यलाई केन्द्रमा राखेर सन्तुलित विकास गर्नुपर्छ । देश र जनताको सेवा गर्न नै आफ्नो लक्ष्य सम्झेर काम गर्नुपर्छ । युवाहरू जसरी भए पनि विदेश पठाउने काम रोक्नुपर्छ । खाद्यान्नमा आत्मनिर्भर बनाउन भूमि उर्वर बनाउनुपर्छ । खेतीपातीको लागि सिँचाइको व्यवस्था गर्नुपर्छ । नयाँ नयाँ बीउबिजनको विकास गर्नुपर्छ । स्वदेशमै रासायनिक मल कारखाना खोल्नुपर्छ । कृषकहरूलाई बेलाबखत तालिमहरू दिनुपर्छ । गाउँ गाउँसम्म पुग्ने कृषि बाटो (सडक) बनाउनुपर्छ । स्वदेशमै रोजगारीको बन्दोबस्त गर्न आवश्यक आधारभूत आवश्यकता परिपूर्ति गर्न ठाउँ–ठाउँमा कलकारखाना खोल्नुपर्छ । गाउँ–गाउँमा खोनपानी, बिजुली, विद्यालय, स्वास्थ्य केन्द्र या अस्पताल पुग्नुपर्छ । यी सबै बन्दोबस्त नभइकन सरकारले जनताले देख्ने गरी कसरी काम गर्न सक्छ ? विकासको लहर कसरी ल्याउन सकिन्छ ?
नेपालमा बेथिति धेरै छ । बेथिति हटाउन अबदेखि सबै जना इमानदार हुनुपर्छ । अहिले जो जो बेइमान छन्, उनीहरूमाथि कारबाही हुनुपर्छ । के मन्त्री र सचिवहरूले भ्रष्ट, बेइमान, अपराधी या कलुषित व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गर्लान् ? जो इमानदार छैनन् ती कर्मचारी र मन्त्रीहरूले अपराधीमाथि कारबाहीको के माग गर्लान् ? कारबाहीको प्रक्रिया अघि बढाउलान् ? सत्तासीन दलका नेताहरू वरिपरि तिनै भ्रष्टाचारी, कालाबजारी, कमिसनखोरहरू घुमिरहेका हुन्छन्; उनीहरूकै मिलेमतोमा सत्तासीन दलका नेताहरू अनेक कैफियत गर्छन् या कैफियत काममा भुल्छन् । भ्रष्टाचार, अनियमितता, कालोधन्दा गर्ने, आपराधिक क्रियाकलाप गर्नेहरू अक्सर उच्चपदस्थ कर्मचारीहरू नै हुन्छन् । सत्तासीन दलका नेताहरूलाई फसाउने, घुमाउने काम सबै तिनै सचिवस्तरीय कर्मचारीहरूले गरिरहेका हुन्छन् । उनीहरू सत्तासीन दलका नेता र मन्त्रीहरूलाई कति दिनको पाहुना भनी हचुवा ढङ्गले हेर्छन् । त्यो स्थितिमा सचिव र मन्त्रीहरूले जनताले देख्ने गरी तीनमहिने विकास योजना के ल्याउलान् ?
यो मौसममा विकास कार्य सम्भव हुँदैन । जहाँतहीँ आउने पहिरो र वर्षासँगै हुने बाढीको यो समयमा विकास कार्य के सम्भव हुन्छ ? अनि यही मौसममा तीन महिनाभित्र देखिने गरी योजना ल्याउनुपर्ने ? विकासको काम फटाफट गर्न सचिव र मन्त्रीहरूलाई निर्देशन दिनु एक पाटो हो । तर, निर्देशन सचिव र मन्त्रीहरूले पालना गर्छन् कि गर्दैनन् ? निर्देशनअनुसार योजना बनाएको हुन्छ कि हुँदैन ? योजना कार्यान्वयन हुन्छ कि हुँदैन ? त्यसको पनि समीक्षा हुनु जरुरी छ । योजना कार्यान्वयन हुँदैन, कार्यान्वयन भएको छ कि छैन सोको अनुगमन हुँदैन भने प्रमको निर्देशन हावासरि हुन्छ ।
कति योजना पूरा गर्न टेन्डर गर्नुपर्ने हुन्छ । टेन्डर प्रक्रियामा जान महिनौँ समय बित्छ । सचिवहरू क्रियाशील छैनन् या भित्री मनदेखि कार्य गर्न रुचाउँदैनन् भने टेन्डर पनि समयमा खुल्दैन । अनि तीन महिनाभित्र विकासको पाइला कसरी अघि बढ्छ ? त्यस समयभित्र कुनै काम फत्ते हुँदैन भन्ने तात्तातो निर्देशनको के अर्थ रहन्छ र ? ‘वीरका १२ सय कर्मचारीले पाएनन् कोभिडमा खटिएको भत्ता’, ‘पाटन अस्पतालमा डाक्टर भेट्न चार घण्टा लाइन’, ‘उपत्यकाका ६६ स्थानमा ट्राफिक लाइट, तर ४८ ठाउँमा बल्दैन’, ‘राजस्व सङ्कलनमा सरकार असफल’, ‘भ्रष्टाचार कानुन, ६ वर्षदेखि संसद्मा, अल्झेको अल्झ्यै’, ‘सत्य निरुपण आयोगको सिफारिस समिति नै अलपत्र’ जस्ता समाचारका शीर्षकहरूले पनि नेपालको स्थिति कस्तो रहेछ भन्ने छर्लङ्ग हुन्छ । के अबको तीन महिनामा यस्तो कुनै समस्या हुँदैन ? जनताका समस्या, पीडा व्यथा सबै समाधान हुन्छ ? कतै प्रमको निर्देशन पनि एकादेशको कथा पो हुने हो कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *