जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
काठमाडौँ, १ भदौ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भारतीय एकाधिकार पुँजीले २००७ सालमा राजा, राणा र काङ्ग्रेसलाई दिल्ली बोलाएर ‘प्रजातन्त्र’ दिएर पठाएको धोका साबित भएको स्पष्ट पार्दै भन्नुभयो, “तत्कालीन राजा महेन्द्रले २०१७ सालमा भारतीय एकाधिकार पुँजीकै जानकारीमा बहुदलीय व्यवस्था अन्त्य गरी पञ्चायती निरङ्कुशता थोप्ने प्रतिक्रान्ति गरेका थिए । २०४६ सालको जनआन्दोलनमा सहयोग गरेबापत भारतीय एकाधिकार पुँजीले नेपालको नदीनालालाई भारतको साझा र टनकपुर समझदारी हुँदै महाकाली सन्धिसम्ममा नेपालको जलस्रोत कब्जा ग¥यो । २०५२ सालदेखि २०६२ सालसम्म माओवादी लडाकुलाई तालिम र हतियार उपलब्ध गराई भारतीय एकाधिकार पुँजीले नेपालको राजनीतिमा प्रभाव जमायो । तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले यो यथार्थ गएको साउन २९ गतेको प्रतिनिधिसभाको बैठकमा तिथिमितिसमेत उल्लेख गर्नुभयो ।”
“नेपाली काङ्ग्रेसको नेतृत्वमा २०२८ सालमा विराटनगरबाट काठमाडौँ उड्ने नेपाल वायु सेवा निगमको हवाईजहाज अपहरण गरी ३० लाख भारतीय मुद्रा कब्जा काण्डमा पनि भारतीय गुप्तचर संस्था ‘रअ’ को सहयोग रहेको नेकाका नेता एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुलासा गरेका थिए । यो विषय दुर्गा सुवेदीको ‘विमान अपहरण’ मा यथार्थ उल्लेख छ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “एमालेले टनकपुर समझदारीलाई देशघाती भनी विरोध गरेको थियो । २०५१ सालको चुनावपछि एमाले अल्पमत सरकारको नेतृत्वमा पुग्यो । तत्पश्चात् गठन भएको नेकाको शेरबहादुर देउवाको सरकारलाई टनकपुरसहित एकीकृत महाकाली सन्धि पारित गर्न साथ दियो । यसरी एमाले देशघातमा संलग्न भयो ।”
नेका, एमाले र माओवादीले नेपालको शान्ति प्रक्रिया विश्वको नमुना र नेपालको मौलिकता दाबी गरे पनि शोषण भएको व्यवस्थामा शान्ति कायम नहुने स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, ‘माओवादी ‘जनयुद्ध’ मा मारिएका पीडितहरूको तर्फबाट सत्तापक्ष र द्वन्द्वरत पक्ष माओवादी नेताहरूविरूद्ध लागेको आरोपबाट मुक्त हुन शान्ति प्रक्रिया टुङ्ग्याउने तयारी भएको पुरानो विषय हो ।”
“समाजमा परिवर्तन ल्याउन सर्वसाधारण जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाउनु जरूरी छ । हतार मानेर हुँदैन । नेपाली जनताको भरमा भएको परिवर्तनमात्र दिगो हुनेछ । सन् १९१७ को अक्टोबरमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति भयो । यो क्रान्तिले रूसलाई १५ वर्षमा विश्वको तेस्रो अर्थतन्त्र बनायो । नेपालमा २००७ सालको परिवर्तन भएको ७३ वर्ष भयो । तर, अर्थतन्त्र झन्झन्् परनिर्भर भइरहेको छ । यसको दोषी सरकारमा गएका पार्टीहरू नै हुन्”, उहाँले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले कम्युनिस्टहरू अन्धविश्वासको पछि लाग्नु जनतालाई धोका दिनुसरह हुने बताउनुभयो ।
उहाँले समाजवादी व्यवस्थाबारे जनतालाई सचेत पार्नु जरूरी रहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका सातौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक एवं केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाको सातौँ जिल्ला सम्मेलन समाजवादी प्रचार आन्दोलनको रूपमा हुने बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाको राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोण स्पष्ट पार्दै पार्टीले लिएको लक्ष्यलाई सफलतामा पु¥याउन पार्टी कार्यकर्ताहरू जिम्मेवार भएर सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विश्वक डंगोल, श्यामकुमार महर्जन, इन्द्रकुमारी बज्राचार्य, मीना डंगोल, वन्दना श्रेष्ठ, बिन्द्रा महर्जन, शोभालाल श्रेष्ठ, गुणदास महर्जन, हरिशरण श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
Leave a Reply